थुनामुक्त गर्न माग गर्दै टोपबहादुर र बालकृष्ण पुगे उच्च अदालत

काठमाडौँ । आफूहरुलाई थुना मुक्त गर्न माग गर्दै टोपबहादुर रायमाझी र बालकृष्ण खाँणसहितका अभियुक्तहरुले उच्च अदालत पाटनमा रिट निवेदन दायर गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूहरुलाई थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध उनीहरुले उच्च अदालतमा पाटनमा रिट दिएका हुन् ।

तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा, यो प्रकरणका विचौलिया केशव दुलालसहित थुनामा रहेका अभियुक्तहरु उच्च अदालत पुगेका हुन् ।

उच्च अदालत पाटनका अनुसार थुनामा पुगेका प्रतिवादीहरुले जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध केही दिनअघि नै रिट निवेदन दायर गरेका हुन् ।

उनीहरुले दायर गरेको रिटको सुनुवाईका लागि एक सातापछि पेसी तोकिने अलालतले जनाएको छ ।

नक्कली भुटानी प्रकरणमा पक्राउ परेका १८ जनामध्ये १६ जनालाई जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले १ असारमा थुनामा पठाउने आदेश दिएका थिए ।

सुरुमा पक्राउ परेकी ललितपुरकी लक्ष्मी महर्जन ५ लाख र होटल व्यवसायी टंक गुरुङ १० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए । बाँकी १६ जनालाई केन्द्रीय कारागार सुन्धारामा चलान गरिएको छ ।

त्यसपछि यही प्रकरणमा पक्राउ परेका अभियुक्त केशव तुलाधर असार ३१ गते १५ लाख रुपैयाँ धरौटीमा छुटेका थिए।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै गरिएको ठगी प्रकरणमा गत १० जेठमा जिल्ला सरकारी वकिल कार्यालयले भीआईपीहरुसहित ३० जना प्रतिवादीविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो । यो प्रकरणमा मुद्दा दायर गरेकामध्ये ११ जना अझै फरार छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *