मकालु रिभ्यु

छिमेकी चिनाउने फिल्म

यो टम ह्याङ्सको उत्कृष्ट फिल्ममध्ये एक हैन । 

तर, यसमा केही यस्ता कुरा छन्, जुन आजको समाजलाई भन्नैपर्ने थियो । यहाँ केही यस्ता विम्व छन्, जुन टम ह्याङ्सजत्तिको कलाकार भएको फिल्मले बोल्नै पर्ने थियो । 

यसको कथा पनि नौलो भने हैन तर त्यसमा देखिने गरी केही तत्त्व हाल्नै पर्ने थियो । 

टम ह्याङ्सले निभाएको चरित्रको नाम ओटो हो । उसलाई आफ्नो विगतले सताइरहन्छ । श्रीमतीको मृत्युपछि ऊ पूर्णतः एक्लिएको छ । उसलाई एक्लोपनले खाइरहन्छ । 

ऊ मर्न चाहन्छ ।

तर उसको मर्ने बाटो सजिलो छैन । ऊ प्रयास गर्छ तर सफल हुँदैन । उसले मर्ने तयारी गरिसकेकै बेला उसको घर अगाडि नै नयाँ छिमेकी आइपुग्छन् । 

नचाहँदा नचाहँदै ऊ तीसँग ठोक्किइरहन्छ । ती उनलाई कुनै न कुनै तरिकाले बचाइरहन्छन् । 

यो फिल्म हेर्दै गर्दा मर्न हिँडेको मान्छेको कथामार्फत जीवनको कथा हेर्ने अब्बास कियारोस्तामीको ‘टेस्ट अफ चेरी’ कसो कसो याद भइरहन्छ । त्यो कियारोस्तामीको मास्टरपिस भइहाल्यो । 

यो फिल्म टम ह्याङ्सको मास्टरपिस हैन ।

मर्न हिँडेको मान्छेमार्फत जीवनको कथा मज्जाले भन्ने कति धेरै ठाउँ भएर पनि यो फिल्म धेरै ठाउँमा सतही मात्र भएको छ । चरित्रहरूको निर्माण धेरैपल्ट प्राविधिक मात्र लाग्छ । लेखकले पात्रको स्वाभाविकताबाट भन्दा बढी सचेत भएर धेरै पात्र चयन गरेको जस्तो लाग्छ । 

ओटोको एक्लोपन पूर्ण रूपमा महसुस हुँदैन । अनि सँगै उसले मर्नलाई गर्ने एकपछिको अर्को असफल प्रयासको असर पनि उसमा कम परेको देखिन्छ । 

नयाँ आएका छिमेकीकै चरित्र पनि कमजोर छ । उनीहरूका दुइजना केटाकेटी थिए । तीसँग ओटोले भेटेको दृश्यहरूले पनि खासै धेरै छुँदैनन् । 

सानो विषयमार्फत कति गहिरोगरी कथा भन्न सकिन्छ भन्ने कुरा टम ह्याङ्सकै अर्को फिल्म ‘द टर्मिनल’ ले देखाइदिएको थियो । यो फिल्ममा उनका अरू फिल्ममा जस्तै भएका कति धेरै जादुमयी पलहरू मिस हुन्छन् । 

तर पनि यहाँ यस्ता केही तह छन् जसले हामीले बिताइरहेको समयलाई झकझक्याउन सक्छन् । 

पहिलो, पुँजीवादी व्यवस्थाले मान्छेलाई मेसिन जस्तो ठान्ने तह । 

ओटो चरित्र कुनै कम्पनीमा काम गर्थ्यो । उसलाई इलेक्ट्रोकिन्स सामानको बारेमा धेरै रुचि थियो । समग्रमा कुन चिज कसरी काम गर्छ भन्ने कुरामा चासो राख्थ्यो । 

तर कम्पनी मर्जरमा गयो । ऊ त्यसमा अटेन । चेपियो । उसको साटोमा कम्पनीले ऊभन्दा जुनियरलाई सुपरभाइजर बनाइदियो । उसलाई सिधै भनेन तर ‘हामीलाई तेरो वास्ता छैन हट् भन्यो ।’

उसलाई त्यो कम्पनी कसरी चल्छ नै थाहा भएन । 

कम्पनीबाट अपर्झट जागिर गएको कुरा अहिलेको विश्वको साझा कुरा भएको छ । अहिलेको प्राविधिक विश्वमा मान्छेभन्दा धेरै ध्यान अरू कुरामा जान थालेको छ । विशेषत: प्राइभेट कम्पनीले मान्छेलाई मान्छेजस्तो नमान्ने गरेको छ । 

त्यसमा पनि आर्टिफिसियल इन्टिलिजेन्सको पहुँच बढ्दै जाँदा मानवीय गुणको मूल्य अझै घट्दै जाने आकलन नौलो छैन । यो फिल्मको चरित्रले त्यो कुरा सम्झाउँदै पुँजीवादी व्यवस्थालाई व्यङ्ग गर्छ । एउटा दृश्यमा त्यो कुरा अझै स्पष्ट छ । ओटोले अफिस छाड्ने बेलामा एक महिला भन्छिन्, ‘हामी तिम्रो सेड्युअल अर्थात् ठिक ठिक समयमा काम गर्ने दैनिकी सम्झिने छौँ ।’

मतलब उसको त्यत्रो जीवन कम्पनीको लागि केवल एक सेड्युअल मात्र थियो । 

ऊ घर आउँछ । 

फोन बज्छ । 

फोन उठाउँछ । 

फोनमा बोल्ने मान्छे ऊ चिन्दैन । को हो सोध्छ । अनि थाहा पाउँछ त्यो कुनै आर्टिफिसियल साउन्ड थियो । त्यो स्वास्थ्य बिमाको बारेमा कुरा गर्न फोन गरेको रोबोट थियो । 

उसको वरपर प्रविधिले घेरा लगाइसकेको छ । तर त्यति हुँदा पनि ऊ एक्लो छ । 

उसलाई के भएको छ भन्नेबारे कसैले उसलाई सोध्दैन । वा नसोध्दा नसोध्दा ऊ यति एक्लो भइसकेको छ कि ऊ कसैले सोध्दा पनि रिसाउँछ । उसको छिमेकमा कसैसँग राम्रो छैन । 

ऊ आफूले आफूलाई एक्लो बनाएको छ । ऊ कि त मृत श्रीमतीको समाधिस्थलमा गएर आफूलाई खोल्छ । कि त आफैँसँग बोल्छ । 

उसको त्यो अवस्था संवादहीनता हो । जुन अहिलेको विश्वमा झन् झन् बढ्दै गएको छ । विशेषत: शहरी क्षेत्रमा मान्छे नजिकै छन् तर एक्ला छन् । पल्लो घरमा त के पल्लो कोठामा के चलिरहेको छ कसैलाई थाहा हुँदैन । सबै जना आफ्नो दैनिकीमा एक्ला छन् । 

उसको नजिकै आएका छिमेकी उसको त्यो एक्लोपनमा कसो कसो घुसिरहन्छन् । कहिले खानेकुरा भएर । फिल्मले त्यसमार्फत भन्छ, ‘आफ्नो मनपर्ने स्वाद खोज । त्यो स्वाद मनपराउने मान्छे खोज ।’

ती परिवारमार्फत फिल्मले अहिलेको व्यस्त समयमा छिमेकी हुनुको महत्वलाई बुझाएको छ । उ त्यस्तरी एक्लिएको थियो किनकि उसले सबैसँग पर्खाल लगाउँदै गएको थियो । वा अनेक परिस्थितिले उनीहरूको बिचमा पर्खाल बनाएको थियो । 

उनीहरू आएपछि त्यो पर्खाल भत्किन्छ । 

उसले आफ्नो विगतलाई वर्तमानको हात बाँध्न दिएको थियो । उनीहरू बिस्तारै त्यो हात फुकाइदिन्छन् । 

अर्का एक छिमेकी साथी छन् जोसँग ऊ रिसाएको थियो । कारण केही थियो तर रिसाएको थियो । ऊ तीनलाई माफी गरिदिन सक्दैन । त्यो कुरा उसलाई बोझ भइसकेको हुन्छ तर पनि थाहा पाउँदैन । 

फिल्मले भन्छ ‘माफी दिन नसकेको कुरा जति बोझ अर्को कुरा हुँदैन ।’

ऊ बस्ने लोकेसन पनि बिम्बात्मक छ । 

त्यो प्राइभेट स्पेस हो । दुइतिर घरहरू छन् । बाटोमा गेट छ । त्यो बाटो कटेर कतै जाँदैन । ठ्याक्कै ओटोको जीवन जस्तो । उसले आफ्नो जीवनमा पनि सबैको लागि गेट बनाएको छ । त्यसलाई ऊ आफू मात्र खोल्छ । जसरी उसको घर अगाडि मान्छेले गाडी राखेकोमा ऊ रिसाउँछ, त्यसरी नै आफ्नो नजिक मान्छे आएकोमा पनि रिसाउँछ । 

उसलाई त्यो प्राइभेट क्षेत्र भएकाले त्यहाँ कोही नआओस् जस्तो लाग्छ । भित्रका धेरै कुरा पनि आफूले सोचेको जस्तो होस् जस्तो छ लाग्छ । हामीलाई दूरी ल्याउने कुरा नै यही हो । सबैले आफूले सोचे जस्तो सोचुन् भन्ने सोच्ने । तर त्यो कहिल्यै पनि पूरा हुँदैन । कसैलाई परबाट यस्सै त्यसरी सोच्न सकिन्न । त्यसको लागि नजिक जानुपर्छ । त्यो मान्छेको फरक फरक कुराहरू बुझ्नुपर्छ । 

सामाजिक बानीहरू बुझ्नुपर्छ । 

फिल्मले नयाँ प्रविधि र सामाजिक सञ्जालको कारणले व्यक्ति व्यक्तिको बिचमा बढ्दै गरेको दूरीलाई पनि देखाउँछ । एउटा दृश्यमा रेलको लिकमा झरेको मान्छेलाई बचाउन ओटो जान्छ । उसको वरपर भएका मान्छेहरू त्यो मान्छेलाई तान्नुको साटो उसले बचाएको फोटो मात्र खिच्न थाल्छन् । 

‘कसैले हात देओ,’ ऊ चिच्याउँछ । 

त्यो दृश्य हेर्दा केही समय पहिला पोखरामा विमान दुर्घटना भएको समय याद आउँछ । मान्छेहरू कुनै सहायता दिनुको साटो फोटो खिच्न तम्सिएका थिए । कतिपय स्थानमा झगडा हुँदा पनि छुट्याउन जानुको साटो मान्छेहरू भिडियो खिचिरहेका हुन्छन् । 

तर त्यही क्रममा उसको भिडियो देखेर एक जना पत्रकार पछि उसलाई भेट्न आउँछिन् । 

तर फिल्मले त्यो कुरालाई पूरै आलोचना पनि गर्दैन । 

उसले मान्छे बचाएको घटनामा सबै जना मद्दत गर्न जानुपर्ने पनि थिएन । त्यसो गर्दा अर्को दुर्घटना हुने सम्भावना हुनसक्थ्यो । तर त्यसको मुख्य ध्यान भने पहिला मान्छेलाई बचाउन नै हुनुपर्छ । भिडियो खिचेर त्यो कुरा प्रचार भयो । भिडियो खिचिदिएको भएर कुनै विषय मुद्दा बन्यो । त्यो पनि हामीलाई चाहिएको हो । तर त्यसमा मुख्य ध्येय मान्छे हुनुपर्छ । भिडियोमा भएको मान्छे । 

त्यसपछि मात्र त्यो कन्टेन्ट हुनुपर्छ । 

ओटोलाई पहिला उनीहरूले भिडियो खिचेको मनपरेको थिएन । तर पछि अर्को मुद्दा उठाउनको लागि भने ऊ त्यही पत्रकारलाई बोलाउँछ । 

ओटो सबै कुरा आफू नै गर्न चाहन्छ । आफ्नो जीवनमा कसैको पनि सहायता सहन्न । तर त्यो स्वच्छ मानवीय जीवनको लागि उपयुक्त कुरा हैन भन्ने फिल्मले बताएको छ । 

एउटा दृश्यमा ऊसँग उसको विगत नसुनाएको भनेर छिमेकी महिला रिसाउँछिन् । उनी रिसाउँदै भन्छिन् ‘तिमी सबै कुरा आफैँले गर्न खोज्छौ । त्यो सम्भव हुँदैन ।’

फिल्मले भन्न खोजेको मुख्य कुरा यहीँ छ । 

सबै कुरा आफैँले गरेर सम्भव हुँदैन । 

बोल्नलाई पनि कोही मान्छे चाहिन्छ । 

भेट्नलाई पनि कोही मान्छे चाहिन्छ । 

खेल्नलाई पनि कोही साथी चाहिन्छ । 

कोही साथी । 

कोही । 

आफ्नो एक्लोपनालाई तिमी साथी खोज । कोही साथी हुन खोजिरहेको हुन सक्छ उसलाई सुन । 

विगतले तिमीलाई बनाउँछ तर तिमी वर्तमानलाई बनाऊ । 

अहिलेको वर्तमानलाई भोलि पश्चात्ताप गर्नुपर्ने विगत नबनाऊ । 

तिमी आफ्नो अगाडि पर्खाल नलगाऊ ।

तिमी मृत्युलाई जीवनको समाधान नबनाऊ । 

ट्रेलर हेर्ने लिंक

*शीर्षक परिवर्तन गरिएको ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *