माओवादीलाई पार्टी जस्तो बनाउन सुदृढीकरण थालौँ : अध्यक्ष प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक प्रज्ञा भवन कमलादीमा सुरु भएको छ। बुधबार दिउँसोबाट सुरु भएको बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो छोटो भनाइ राखेका छन् । उनले माओवादी अझै पनि पार्टी जस्तो हुन नसकेको गुनासो गर्दै माओवादीमा सुदृढीकरणका लागि अभियान थाल्नुपर्ने बताए ।
उनले साँचो अर्थमा यो बैठकबाट कम्युनिष्ट पार्टीको निर्माणका लागि व्यापक सुदृढीकरण थाल्नुपर्ने समेत बताएका छन् ।
आफू नेतृत्वको सरकारले सुशासन र भ्रष्टाचारविरोधी अभियान चलाएपछि जनतामा आशा र भरोसा पैदा भएको उनले बताए ।
देशको राजनीतिमा देखिएको पछिल्लो अवस्था र माओवादीभित्रकै बेथिति सुधारेर एक्सन वरियन्टेड भएर जाने पनि उनले बताएका छन् ।
बैठकमा रचनात्मक हिसाबले छलफल गरी पार्टी निर्माणको थलोका रुपमा उपयोग गर्न उनले पार्टीका केन्द्रीय सदस्यहरुलाई आग्रह गरे ।
‘कम्युनिस्ट पार्टी पुनर्निमाण थाल्नुछ,’ उनले भने ‘जिम्मेवार र अनुशासित ढंगले आफ्ना विचार राखौँ।’