राजदूत नियुक्ति समावेशी बनाउँदै लैजान सरकार प्रतिवद्ध छ : परराष्ट्रमन्त्री
काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले राजदूत नियुक्तिमा पनि संविधानको मर्म र भावनाअनुसार समावेशी सिद्धान्तलाई आत्मासाथ गर्दै लैजान नेपाल सरकार पूर्ण रुपमा प्रतिवद्ध रहेको बताएका छन् ।
बुधबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको संसदीय सुनुवाई समितिको बैठकमा बोल्दै उनले सो प्रतिवद्धता व्यक्त गरेका हुन् । मन्त्री साउदले नेपाल सरकार सबै प्रकारका नियुक्तिहरुलाई संवैधानिक व्यवस्था अनुसार समावेशी बनाउन प्रतिवद्ध रहेको उल्लेख गर्दै राजदुत नियुक्तिमा पनि सोही बमोजिम काम गर्न सरकार पूर्ण रुपमा प्रतिवद्ध रहेको बताए । उनले नेपालको संविधानले राज्यका सबै क्षेत्रहरुलाई समावेशी बनाउने सिद्धान्त अंगीकार गरेपछि नेपाल परराष्ट्र सेवा समावेशिताको नमूनाको रुपमा रहेको दाबी समेत गरे । मन्त्री साउदले हाल मन्त्रालयमा रहेको १७ सहसचिवहरुमध्ये ६ जना समावेशी सिद्धान्तको आधारमा छनौट भई कार्यरत रहेको पनि समितिलाई जानकारी गराए । त्यसैगरी ५० उपसचिवहरु मध्ये ३१ जना समावेशी कोटाबाट आएको उनको भनाइ थियो ।
मन्त्री साउदले हाल २६ देशमा कार्यरत राजदुतमध्ये समावेशी सिद्धान्तकै आधारमा महिला ३, जनजाति ४, मधेसी १, अपांगता भएका व्यक्ति १ रहनुभएको विवरण पनि समिति समक्ष पेस गरे ।