विश्वकपमा जर्मनी पहिलो पटक समूह चरणबाटै बाहिरियो
उपाधि दावेदार तथा दुई पल्टको च्याम्पियन जर्मनी फिफा महिला विश्वकप फुटबलको समूह चरणबाटै बाहिरिएको छ ।
समूह चरणको अन्तिम खेलमा दक्षिण कोरियासँग बराबरीमा रोकिएपछि जर्मनी समूह चरणबाटै बाहिरिएको हो । यसअघि कोलम्वियासँग पनि पराजित भएको थियो।
दुई पल्टको च्याम्पियन जर्मनी विश्वकपको इतिहासमा पहिलोपटक समूह चरणबाटै बाहिरिएको हो। यसअघिको आठै संस्करणमा जर्मनीको महिला टिमले नकआउट चरणको यात्रा तय गरेको थियो ।
दक्षिण कोरियासँग सुरुमै पछि परेको जर्मनीले १ गोल फर्काए पनि जित निकाल्न सकेन।
छैटौं मिनेटमा सो ह्युन चोले गोल गर्दै दक्षिण कोरियालाई अग्रता दिलाइन् ।
४२औं मिनेटमा एलेसान्द्रा पोपले एसभेन्जा हुथको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याइन् ।
यस बराबरीसँगै जर्मनी समूह ‘एच’ मा तीन खेलबाट ४ अंक जोडेर तेस्रो स्थानमा रह्यो । जर्मनीलाई रोकेको दक्षिण कोरिया पनि समूहचरणबाटै बाहिरिएको छ। उसमले मात्रै १ अंक बटुल्यो ।
यो समूहबाट कोलम्विया समूह विजेता र मोरोक्को उपविजेता बनेर प्रि–क्वाटरफाइनलमा प्रवेश गरे ।