श्रमजीवी पत्रकारको श्रम अधिकार सुनिश्चित गर्न माग गर्दै सूचना विभागमा धर्ना
काठमाडौँ । श्रमजीवी पत्रकारको श्रम अधिकार सुनिश्चितताको माग गर्दै सूचना तथा प्रसारण विभागमा धर्ना दिइएको छ ।
शुक्रवार नेपाल पत्रकार महासङ्घका प्रतिनिधिसहित श्रमजीवी पत्रकारहरूले श्रम अधिकारको सुनिश्चितताको माग गर्दै विभागका महानिर्देशकलाई ज्ञापन पत्र समेत बुझाएका हुन् । महासङ्घको तर्फबाट बुझाइएको ज्ञापन पत्र ग्रहण गर्दै सूचना तथा प्रसारण विभागका महानिर्देशक शङ्कर नेपालले विभागमा आएका उजुरीहरूलाई कार्यविधिले तोकेअनुसार फर्छ्यौट गर्दै आएको बताए । उनले प्रेस रजिस्टारको भूमिका तोकिए जति निर्वाह गरेको पनि दाबी गरे । उनले श्रमजीवी पत्रकारको हक हितको बारेमा छलफल अघि बढाउनुपर्ने आवश्यकता रहेको बताए ।
उनले भने ‘हामीकहाँ आएको जति पनि उजुरी छन्, यसलाई कार्यविधि तोकेअनुसार समयमा नै फर्छ्यौट गर्ने गरेका छौँ । हामीलाई दिएको अधिकार वार्ता, मध्यस्थता र मेलमिलाप दिएको छ । प्रेस रजिस्टारको भूमिका तोकिए जति निर्वाह गरेका छौँ । श्रमजीवी पत्रकारको हक हितको बारेमा छलफल व्यापक बनाउनु पर्छ ।’
धर्ना कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले सहजै गरिएका आग्रह राज्यका निकायले नसुन्ने प्रवृत्ति देखिएकाले सडकमा आन्दोलन गर्नुपरेको बताए । उनले पत्रकारिता क्षेत्र श्रम शोषण गर्ने क्षेत्र हो की भन्ने भाष्य सिर्जना गरिएको भन्दै पत्रकारिता क्षेत्रको गुणस्तरीयता, व्यावसायिक विकासमा जोड दिनुपर्ने बताउनु भयो । उहाँले श्रमजीवी पत्रकारिता ऐनले परिकल्पना गरेको जस्तो भूमिका विभागबाट हुन नसकेको बताए ।
उनले भने ‘सहजै गरिएका आग्रह राज्यका निकायले नसुन्ने प्रवृत्ति छ, त्यसैले हामीले सडकबाट नै सामूहिक रूपमा दबाब दिएर हाम्रो आवाज सरोकारवालासम्म पुर्याउन आएका हौँ । पत्रकारिता क्षेत्र श्रम शोषण गर्ने क्षेत्र हो की जसरी भाष्य स्थापना गरिँदै छ, यो दुःखद छ । नयाँ पुस्तालार्ई आकर्षित गर्न यसरी सम्भव छैन । पत्रकारिता क्षेत्रको गुणस्तरीयता, व्यावसायिक विकासको कुरा छ, श्रम शोषणको क्षेत्र हो भन्ने भाष्य स्थापना गर्दै गर्दा श्रमको मुद्दा पेचिलो बनाएर लैजाने र श्रममा पत्रकारिताको सम्मान हुने गरी लैजाने प्रयत्न गरिरहेका छौँ । यो कार्यालयले जुन भूमिका निर्वाह गर्दै गर्दा श्रमजीवी पत्रकारिता ऐनले परिकल्पना गरेको जस्तो भूमिका निर्वाह हुन सकिरहेको छैन । स्वतन्त्र र छुट्टै प्रेस रजिस्टारको व्यवस्था हुनुपर्छ । श्रमजीवी पत्रकारले तलब पाउन अदालत जानुपर्ने अवस्था अन्त्य हुनुपर्छ ।’
प्रदर्शनकारीहरुले प्रेस रजिस्टारले समेत श्रमजीवी पत्रकारको हकहितमा काम नगरेको बताए । उनीहरूले पत्रकारको श्रम अधिकारको सम्मान गर, अविलम्ब प्रेस रजिस्टार नियुक्त गर लगायतका प्लेकार्ड र नारा लगाइ प्रदर्शन गरेका हुन् ।
तस्बिरहरु