‘कुनैबेला फिल्म हल छिर्न संघर्ष थियो, अहिले उनको फिल्म हलमा लाग्दैछ’
भोजपुरमा जस्ताले छाएका साना-साना घरमध्येको एउटा घर पुष्कर कार्कीको थियो । उनी परिवारका जेठा छोरा थिए ।
घाँस दाउरा, खेतीपाती र कुटो कोदालो गरेर आफ्नो जीवन निर्वाह गरिरहेकाहरू ब्रिटिस आर्मी भएकाहरूको प्रगति सुन्थे । तीनको घर ठुलो हुन्थ्यो । गाउँका धेरै परिवार आफ्नो छोरालाई ब्रिटिस आर्मी बनाउने सपना देख्ने गर्थे ।
तर पुष्करका बुबाले त्यो चाहेनन् । उनी सरकारी कर्मचारी थिए । छोरालाई पढाउन चाहन्थे ।
पुष्कर पुष्कर गाउँकै विद्योदय माध्यमिक विद्यालयमा पढे ।
उनी कक्षा ३ पढ्दाको कुरा । विद्यालय जाँदै गर्दा बाटो खन्ने मानिसहरूले टुँडिखेलमा मूर्ति भेटिएको कुरा उनले केही साथीहरूबाट सुने । मूर्ति हेर्न जान मन लाग्यो । कसरी जाने ?
उनी बिच बाटोमा बसेर शिक्षिका बिरामी भएर अस्पतालमा लगेको भन्दै हल्ला गरेर सबैलाई घर फर्काइदिए अनि मूर्ति हेर्न गए ।
यसरी झुट बोल्न उनी सिपालु थिए । अभिनय गरेर गाउँमा धेरैलाई झुक्याउँथे । तापनि मानिसहरू पत्याउँथे ।
विद्यालयमा पनि शिक्षा, स्वास्थ्य र सरसफाइ जस्ता विविध विषयमा उनी अभिनय गर्थे ।
अभिनयमा रुचि भएपछि फिल्म हेर्न त जानु परिहाल्यो । उनी विभिन्न बहाना पारेर साथीहरूसँग फिल्म हेर्न जान्थे । टिकट काट्ने पैसा हुँदैन थियो । हलनजिकको बारीको कान्लामा बसेर पात्रहरूको आवाज सुनेरै कथा बुझ्ने प्रयास गर्थे । मध्यान्तर भएपछि ट्वाइलेट जान निस्केका दाइ उमेरका मानिसहरूलाई भित्र लगिदिन अनुनय गर्थे । अनि छिर्थे ।
सिट खाली हुँदैनथ्यो । उभिएरै हेर्थे ।
अनि घर पुगेर गाली खान्थे ।
यसैगरी उनले धेरै फिल्म हेरे ।
गाउँभरमा धेरै टिभी थिएनन् । गाउँका सबै मानिसहरू सनिबार बिहान उनको घरमा टिभी हेर्न आउँथे । नेपाल टेलिभिजनमा रामायण लगाउन भन्थे ।
त्यसरी टि.भी भित्र मानिसहरू देख्दा त्यहाँ कसरी पसे होलान् जस्तो उनलाई लाग्थ्यो । फिल्म र अभिनयको बारेमा सामान्य ज्ञान पनि थिएन । तापनि रामायणका पात्रहरू झैँ अभिनय गर्ने मोह जाग्थ्यो ।
एक दिन विद्यालय जाँदै गर्दा उनमा अर्को मोह पनि पलायो ।
बाटोमा उनले साइकल देखे । उनलाई पनि त्यसरी नै साइकल चढ्ने मन थियो । घरमा त कसले किन्दिने ?
उनी विद्यालयमा सिकाए जस्तै गरी मलेसिया गएका मामालाई चिठ्ठी लेख्थे ।
प्यारो मामा, धेरै धेरै सम्झना ……
उनी ती चिठी हुलाकमा हाल्थे । तर जवाफ आउँदैन थियो । हुलाकेले चिठ्ठी मामालाई दिएन कि भन्ने उनलाई शङ्का लाग्थ्यो । लामो समयसम्म पनि जवाफ नआएपछि चिठ्ठी लेख्न छाडे ।
तर पनि मामा आएर साइकल किनिदिएको दिन भने पर्खिरहे ।
समय उस्तै रहेन ।
माओवादी द्वन्द्वकाल लाग्यो । उनी ६ कक्षामा पढ्दैथिए ।
माओवादीले थुप्रै मानिसहरू मारेको सुनिन थाल्यो । बिस्तारै उनको छेउ पनि आयो । ठाउँ ठाउँ बम पड्काए । उनले अध्ययन गरेको स्कुल पनि भत्काइयो ।
गाउँमा भएका युवा, किशोरलाई पनि लिएर जान थाले । उनका बुबा सरकारी कर्मचारी भएकाले उनलाई पनि बेलाबेलामा धम्की दिइरहे । उनीहरू छोरालाई लैजान्छु भनिरहन्थे ।
बुबा डराए । पटक पटक धम्की आउन थालेपछि बुबाले उनलाई इटहरी लग्ने भए । इटहरीमा उनको हजुरबुबा र हजुरआमा बस्थे ।
बुबाले रातको २ बजे उनलाई उठाए । आमाले तयार पारेको मकै-भट्मासको पोको र केही कोसा केरा बोकेर उनीहरू घरबाट हिँडे । केही पर पुगेपछि घरबाट आएको बत्तीको उज्यालो हराउँदै गयो । उनीहरू चकमन्न अन्धकारमा बिलाउँदै गए ।
करिब दुई दिन हिँडेपछि उनीहरू पख्रिबास पुगे । भएका खानेकुरा पनि सक्किसकेको थियो ।
पाख्रिबासबाट इटहरी जाने गाडी चढे । इटहरी पुगेर उनीहरूले बल्ल खाना खाए ।
इटहरीमा उनले नयाँ कुरा देखे ।
पहिलोपटक सडकमा गाडी र अन्य सवारी साधन गुडेको देखे । दुई तले घर देख्दा घर माथि घर हुने रहेछ जस्तो लाग्यो ।
पहिलोपल्ट मो. मो. पनि खाए ।
उनलाई त्यतै छोडेर बुबा फर्किए ।
उनको अध्ययन त्यहाँ नै सुरु भयो । त्यहाँ उनको धेरै मङ्गोलियन साथीहरू बने ।
साथीहरू प्राय: सबैजना ब्रिटिस आर्मीमा भर्ती हुन चाहन्थे । साथीसंगत अनि गाउँमा ब्रिटिस आर्मीको घर देखेको । उनले पनि आर्मी बन्ने सोच बनाए ।
प्लस टु सिद्ध्याएपछि सबैले ब्रिटिस आर्मीको लागि आवेदन दिए । लिखित परीक्षा र स्वास्थ्य जाँच भयो । उनीहरू छनोट हुने कुरामा विश्वस्त थिए ।
विभिन्न चरणहरू पारगर्दै अन्तिम चरणमा पुगेका पनि थिए ।
उनका सबै साथीहरू छनोट भए तर उनी छनोट भएनन् ।
उनी घर फर्किए ।
दशैँको बेला थियो । काठमाडौँबाट थुप्रै मानिसहरू गाउँ फर्किएका थिए । सँगै बि.बि.ए पढ्न गएका सुमन राई नामका दाइ पनि फर्किए ।
सुमन काठमाडौँमा बस्थे । उनले काठमाडौँको गुणगान गाइदिए । त्यसले उनलाई पनि जाऊँ बनायो ।
उनी सुमन दाइसँगै काठमाडौँ आए ।
बुढानीलकण्ठमा दाइको कोठामा बसे । कोठा सानो थियो । ढोका अगाडी नाली बग्ने । उनीहरूले कोठामा सिधै गन्ध आउँथ्यो । उनीहरू कोठामा पर्फ्युम छर्किन्थे ।
सुमन दाइ बि.बि.ए पढ्थे । उनले पनि बि.एच.एम विषयमा ब्याचलर ज्वाइन गरे । बुबाले गाउँबाट पैसा पठाइदिइरहेका थिए ।
पढाइ खासै जमेन । ब्रिटिस नभए पनि इन्डियन आर्मी हुन्छु भन्ने उनलाई भइरहेको थियो । यसपटक पनि पहिले जस्तै अन्तिममा गएर फालिए ।
आफूले सोचेका दुवै कुरा नभएपछि उनले योजना बनाउनै छाडे । के गर्ने टुङ्गो थिएन । घरबाट पठाएको पैसामा बाँचिरहन पनि मन थिएन ।
एक दिन पसलमा रिचार्ज कार्ड किन्न जाँदा उनले भित्तामा सूचना देखे ।
उनले त्यसको बारेमा पसलेलाई सोधे ।
पसलेले कामसम्म पुर्याए ।
पत्रिका बाँड्ने काम थियो । मकालु गृह प्रकाशन बाट प्रकाशित भएका पत्रिकाहरू उनी हरेक अफिसको टेबल टेबलमा पुर्याउँथे । सिंहदरबारमा पनि छिर्थे ।
त्यसरी पत्रिका बाँड्दै जाँदा एक दिन संयोग पर्यो ।
उनी मण्डला नाटक घरको ठिक अगाडि पुगे । त्यहाँबाट केही मानिसहरू रङ्गीचङ्गी लुगा लगाएर बाहिर निस्केको देखे ।
कुनै दोहोरी घर होला सोचे ।
एक दिन अनामनगर स्थित मामाको चिया पसलमा उनी चिसो खान पसेका थिए । त्यहाँ उनले टेलिभिजनमा देखिने अनुहारहरू चिया पिइरहेको देखे ।
उनलाई उनीहरूको कुरा सुन्न मज्जा लाग्यो । उनीहरू सिनेमाको कुरा गर्थे । अभिनयको कुरा गर्थे ।
त्यसपछि उनी हरेक दिन त्यहाँ चिसो खाने बहानामा उनीहरूको कुरा सुन्न जान थाले ।
त्यसरी केहीदिन बित्यो ।
त्यसपछि अर्को संयोग पर्यो ।
उनको अफिसको सबैभन्दा माथिल्लो तल्लामा प्रिज्मा एडभर्टाइजिङ नामको बिज्ञापन एजेन्सी थियो । त्यसले उनलाई लेनोभो मोबाइलको विज्ञापनमा मोडलिङ गरिदिन भने । आर्मीको तयारी गरेकाले उनको ज्यान राम्रो थियो । उनले पनि गरिदिऊँ न भनेर स्वीकारे ।
त्यसबाट राम्रै पारिश्रमिक पनि पाए ।
त्यो दुई संयोगले उनलाई नसोचेको आनन्द दियो । उनले त्यसलाई अझै पछ्याउँदै गए । एउटा कामले अर्को काम ल्याउँदै गयो ।
त्यसपछि म्युजिक भिडियो पनि खेले ।
अनि अर्को संयोग भेटियो ।
उनले मण्डलामा अभिनय कार्यशाला हुन लागिरहेको थाहा पाए । अडिसनको फारम भरे । छ महिनासम्म नाटक सिके ।
‘द एज अफ डार्कनेस’ नाटक मार्फत पहिलो पटक रङ्गमञ्चमा पाइला टेके ।
त्यसबेलासम्म उनले जम्मा पारेका पैसा सक्किसकेको थियो । तर विज्ञापनले बचायो ।
बेलाबेला फिल्मको अफर आउँथ्यो । सानो रोल हुन्थ्यो । उनलाई पर्दामा अनुहार देखाउन मात्र मन थिएन । तर कुनै काम नहुँदाको फ्रस्टेसन पनि हुन्थ्यो । तर नाटक छोड्न सकेनन् । त्यस क्रममा केही यात्रा पनि गरे । उनले विजय बरालको ठाउँमा अभिनय गरेको नाटक ‘एन्टिगोनी’ गुवाहाटी हुँदै दिल्लीसम्म पुग्यो ।
त्यस्तैमा एक दिन उनलाई प्रेम गीत ३ को नायिकाको अडिसनको लागी डमी प्रेम बन्ने अफर आयो । उनले त्यो काम गरे । डमीको लागि गरेको भएपनि उनको काम सबैले मनपराए ।
त्यसरी प्रेम गीत ३ को नायिका छनोट गर्दा उनको पनि सेलेक्सन भयो ।
यसरी केही पुरा नभएका रहर त केही संयोगहरूको आड लाग्दै उनको यात्रा अगाडि बढिरहेको छ । यो बिचमा उनले धेरै म्युजिक भिडियोमा काम गरेका छन् । अनेक विज्ञापन खेलेका छन् । नाटकहरू पनि निक्कै खेले ।
भर्खरै उनले गणेश देव पाण्डेले लेखन तथा निर्देशन गरेको चलचित्र ‘जुलेबी’मा काम गरेका छन् । यस चलचित्रमा सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी, सुशील सिटौला लगाएका कलाकारहरूले पनि अभिनय गरेका छन् ।
कुनै बेला उनी हलमा छिर्न सङ्घर्ष गर्थे । अब अर्को फिल्म हल जाने दिन पर्खिरहेका छन् ।
संयोगले यहाँ आइपुगेका थिए । अब यसलाई लामो यात्रा बनाइरहेका छन् ।