हामीले खोजेको हिरो ‘१४ पिक्स’को निर्मल पुर्जाजस्तो हैन
मलाई खुब मनपर्ने एउटा डकुमेन्ट्री छ ।
‘द डान वाल’ नामको त्यो डकुमेन्ट्रीमा एक जना फ्री क्लाइम्बर टमि काल्डवेलको कथा छ । विश्वकै सबैभन्दा प्रतिष्ठित अमेरिकास्थित योसेमिटी नेसनल पार्कमा रहेको अल कापिटान चट्टान एकपल्ट चढ्नु नै ठुलो कुरा हो । उनले त्यहाँ पाँच वटा भन्दा धेरै नयाँ रुट बनाइसकेका छन् ।
टमीलाई त्यतिले पुग्दैन । त्यसपछि उनी एउटा यस्तो रुटमा चढ्ने योजना बनाउँछन् जुन कुरा गर्नु असभ्मवप्राय छ । ३०० फिट अग्लो डान वाल चढ्ने । त्यो बाटोको तल र माथि त अन्तजस्तै छ तर बिचमा एउटा तेर्सो भाग छ । जसलाई पार गर्नु फलामको चिउरा चपाउनुजस्तै हो ।
त्यति लामो र अप्ठ्यारो रुटमा एक्लै जानु असम्भव भएकाले उनी एउटा नयाँ साथी खोज्छन् । बोउल्डरर केभिन जोर्गसन टमीलाई इमेल गर्छन् गर्छन् । उनी टमी जति चर्चित मान्छे हुँदैनन् । ठुलो चट्टान चढेको अनुभव पनि उनलाई हुँदैन । तर उनी बाहेक अरू कसैले पनि खबर नगरेकाले उनी केभिनलाई छान्छन् ।
उनीहरूको चढाइ सुरु हुन्छ । एक अर्कालाई साथ दिँदै र हरेक भाग कटेपछि ढुङ्गाको भित्तामा नै बस्दै उनीहरू चढ्न थाल्छन् ।
त्यसपछि बिचको त्यो तेर्सो भाग आउँछ । लामो प्रयासमा टमी त्यसलाई कट्छन् । तर केभिन कट्न सक्दैनन् । कति गरे पनि सक्दैनन् ।
त्यो कट्ने टमी संसारको एक मात्र मान्छे हुनुले पनि त्यो कति गाह्रो काम हो भनिदिने नै भयो । उनले कटेसँगै संसारभर त्यसको समाचार बाहिरिइसकेको हुन्छ । उनीहरू केहि दिन केभिनको लागि त्यसमा नै प्रयास गर्छन् ।
तर केही नलागेपछि सल्लाह गर्छन् । टमी मात्र चढ्ने । केभिन उनको सपनालाई साथ दिने ।
टमी चढ्न थाल्छन् । अगाडि अर्को अप्ठ्यारो आउँछ । त्यसलाई पनि अनेक गरेर पार गर्छन् । उनी एकपछि अर्को गर्दै अफ्यारो अप्ठ्यारो भनिएको सबै रुट कट्न थाल्छन् ।
त्यसपछि बिचको विनो टावर भन्ने ठाउँमा पुग्छन् । त्यहाँ पहिलोपल्ट ढुङ्गामा मात्र अडिने ठाउँ हुन्छ । थोरै उभिन मिल्ने ठाउँ । त्यहाँ पुगेपछि उनलाई लाग्छ उनले एक्लै गएर त्यो कुरा पुरा हुँदैन । उनी रुन्छन् । अनि फर्किने निर्णय गर्दै भन्छन् ‘अब कि त केभिन सँगै आउँछ । कि त मेरो यात्रा यहाँ नै टुङ्गिन्छ ।’
उनीहरू फर्किन्छन् । केभिनको लागि ढुक्कले बसिदिन्छन् । केभिनलाई अब कट्नैपर्ने दबाब हुँदैन । त्यति आत्मविश्वास साथीबाट पाएपछि उनी पनि त्यो ठाउँ कट्छन् । उनले कटेको बेलामा उनी भन्दा धेरै खुसी टमी हुन्छन् ।
उनी कटेको त्यो पल उनीहरूले पछि क्लाइम पुरा गरेको भन्दा महत्त्वपूर्ण भइदिन्छ ।
मैले यो कथा यहाँ भन्नुको कारण छ । यो डकुमेन्ट्री टमीको बारेमा थियो । तर यसमा उनलाई साथ दिन आएको मान्छेको कथा पनि त्यति नै स्थापित छ । यसमा उनी मात्र हिरो हैन केभिन पनि हुन् । डकुमेन्ट्रीले केभिनलाई पर्याप्त स्पेस दिएको छ । केभिनको यात्रालाई पछ्याएको छ ।
यदि त्यसलाई टमीको दृष्टिकोणबाट मात्र खिचिएको भए केभिन टमी जति महत्त्वपूर्ण पात्र नहुन सक्थे । तर त्यसलाई डकुमेन्ट्रीले छोडिन दिएको छैन ।
म यस्तै कुरा निर्मल पुर्जाको ‘१४ पिक्स’ मा पनि खोजिरहेको थिएँ ।
यो पक्का हो कि उनले १४ हिमाल सात महिनामा सक्ने सपना देखेका हुन् । तर उनले सपना देखे पनि उनको सपनालाई साथ दिने अरू पनि नाम थिए । उनको सपना पुरा हुनमा अरूको पनि कथा थियो ।
तर अपसोच ‘द डाउन वाल’ मा जसरी केभिनको कथा जिउँदो छ त्यस्तो यहाँ छैन । डकुमेन्ट्री हेरिसकेर आँखा चिम्लिँदा केही पलबाहेक ती पात्र कतै पनि मजाले स्थापित हुँदैनन् । बरु धेरैतिर निर्मल पुर्जाको बोली आइबस्छ ।
+++++
ती शेर्पाहरू आफ्नो सबैथोक छोडेर निम्ससँग लागेका थिए । निम्सले देखेको सपनालाई तिनले पनि देखेका थिए । जसरी टमीले देखेको सपनालाई केभिनले पछ्याएका थिए ।
तिनले पनि उनीसँगै १४ पिक चढेका थिए ।
तर तिनले त्यो सपना किन देखे भन्ने कुरा कतै पनि खुल्दैन । जबकि केभिनको बारेमा हामीलाई सबैथोक थाहा हुन्छ । उनको हुर्काइको बारेमा थाहा हुन्छ ।
‘१४ पिक’ डकुमेन्ट्रीभर एकोहोरो निम्सकै न्यारेसन आइरहन्छ । अनि त्यसले भन्छ;
‘मैले उनीहरूलाई पश्चिमाले दिनेभन्दा धेरै पैसा दिएँ ।’
‘यो १४ पिक चढ्दा उनीहरूको करियरलाई पनि फाइदा पुग्छ ।’
उनले डकुमेन्ट्रीको सुरुवातमा नै भनेका थिए ‘नेपालको हिमाल चढ्ने समुदाय आठ हजार भन्दा अग्लो हिमालका पर्याय हुन् । तर उनीहरूले पाउनुपर्ने नाम पाएका छैनन् ।’
उनले भनेको कुरा सही हो । नेपालमा आएका धेरै विदेशी पर्वतारोहीहरू छन् जो आफूले हिमाल चढेको कुरा सगौरव सुनाउँछन् तर त्यसमा शेर्पाले कति मद्दत पुर्याएको छ भन्ने बिर्सिन्छन् । उनीहरूले दिने टेड टकदेखि हिमाल चढ्दाका कथाहरूमा कतै पनि शेर्पा आउँदैनन् ।
उनले भनेको यो पनि सही हो कि नेपालमा त्यही काम गर्ने विदेशीभन्दा शेर्पाहरूले कम कमाउँछन् ।
तर यो स्टेटमेन्ट भन्दै गर्दा उनले विश्वभर पुग्ने एउटा ठुलो प्लेटफर्ममा जाँदै गरेको डकुमेन्ट्रीमा भने उनीहरूलाई चिनाउने ठुलो अवसर चुकाएका छन् । अनि माथि भनिएका जस्ता संवादले शेर्पालाई टिपिकल विदेशीले गर्नेभन्दा फरक तर लगभग उस्तै तरिकाले व्यवहार गरेका छन् ।
कुनै पनि कथालाई बलियो बनाउने त्यसको ब्याकस्टोरीले हो ।
शेर्पाहरू किन हिमाल चढ्छन् । कहाँबाट आउँछन् । उनीहरू कसैको सपनालाई साथ किन दिन्छन् । त्यसको मुख्य उद्देश्य पैसा कमाउनुमात्र हो कि अरू नै केही हो ?
उनीहरूको लागि हिमाल के हो ?
उनीहरूको लागि उनी खासमा को हुन् ?
उनीहरूले उनमा के देखे ?
उनीसँग हरेक हिमाल चढ्दै गर्दा उनीहरूले अरूबेला हिमाल चढेको भन्दा फरक के भयो ?
डकुमेन्ट्रीमा आफूसँग गएका शेर्पाहरूको कथामार्फत निम्स यो कुरा देखाउन सक्थे । उनीहरूलाई भिज्युअलमा स्थान दिएर त्यो कुरा भनाउन सक्थे । जस्तो कि उनले १४ पिक गर्ने भन्ने योजनमा उनीहरूले कसरी साथ दिए ? त्यो प्रश्नको जवाफले धेरै कुरा भन्न सक्थ्यो ।
तर उनले शेर्पाको ब्याकस्टोरी कम भनेर आफ्नै स्टोरी ज्यादा भनेका छन् ।
तर भिडियोमा उनीसँग भएका एकाध दृश्य र उनले नै चिनाएका नाम बाहेक कतै पनि कुनै पनि शेर्पाको भिज्युअल बाइट आउँदैन । आउँदा पनि केवल न्यारेसनमा आउँछ जहाँ भनिएका धेरै कुरा प्राविधिक लाग्छन् ।
‘पश्चिमाहरूले हाम्रो शेर्पालाई कहिल्यै क्रेडिट दिएनन् । म यो हुन दिन्न ।’ उनले यो भनेका छन् । तर गर्दा भने आफूले पनि लगभग त्यस्तै नै गरेका छन् । उनले शेर्पालाई चिनाएको पोर्सनमा पनि त्यो कुरा झल्किन्छ । उनी एक शेर्पालाई चिनाउँदै भन्छन् ‘उसले घर नै बोकेर हिँड्न सक्छ ।’
यो संवादले पनि शेर्पाले गर्नसक्ने काम भन्यो । उनीहरूको मित्रता भन्यो । तर शेर्पाको भित्री कथा भनेन ।
१४ पिक उनले एक्लै चढेका हैनन् । केही ठाउँमा उनले टिमलाई क्रेडिट पनि दिएका छन् । तर डकुमेन्ट्रीको धेरै हिस्सा उनलाई कसरी हिरो बनाउने भन्ने कुरामा केन्द्रित भएको छ । उनको मेडिकल जाँच गर्दाको अनावश्यक फुटेजमा खर्च भएको छ । जब उनीसँग अरू सबै चढिसकेका छन् भने हिमाल चढ्न उनको शरीर यस्तो थियो त्यस्तो थियो भन्नुको के तात्पर्य ?
त्यो कुनै बेला ब्रिटिसहरूले हामी अरूभन्दा फरक छौँ भनेर भनेको भन्दा तात्त्विक रूपमा खासै धेरै फरक छैन ।
त्यसको ठाउँमा बरु उनको शेर्पासँगको अरू धेरै प्राइभेट मोमेन्टहरू अटाएको भए कस्तो हुन्थ्यो । हरेक हिमाल चढ्दा उनलाई कस्तो लाग्यो भनेर निम्सले भनेका छन् । तर उनीहरूलाई कस्तो लाग्यो भनेर सोधेको भए त्यसले उनको कथालाई अझै बलियो बनाउने थियो ।
डकुमेन्ट्रीमा उनले शेर्पाको कुरा नगर्ने हैनन् । गरेका छन् । धेरै वटा पोस्टहरूमा पनि उनीहरूलाई क्रेडिट दिएको कुरा गरेका छन् । देखिएको पनि छ । तर उनले हिमाल चढेर रेकर्ड राख्दै जति नाम आफूले कमाए वा जति न्यारेटिभ आफ्नो लागि बनाए त्यति न्यारेटिभ शेर्पाको क्रेडिटमा दिएका छैनन् ।
बरु पहिलो पटक हिमाल चढ्दाको दृश्यमा तेन्जिङ नोर्गे र एडमण्ड हिलारीको कथामा उनीहरू सँगै छन् । पहिलोपल्ट सगरमाथा चढेको यतिका वर्षपछि चढ्दा पनि उनले भिज्युअलमा त्यो प्रभाव पार्न सकेका छैनन् ।
उनले ‘टिमवर्क’ को कुरा गरेका छन् ।
तर ‘टिमवर्क’ लाई पनि भिज्युअलमा न्याय दिन सकेका छैनन् । पोष्टर सम्ममा पनि दिएका छैनन् ।
उनले यो डकुमेन्ट्रीमार्फत अनि अहिले पछि आएको उनको ब्रान्डमार्फत फेरी त्यही न्यारेटिभ बनाएका छन् जो पहिला पश्चिमाहरूले गरेका थिए ।
उनको डकुमेन्ट्रीले उनलाई हिरो बनाएको छ । फेरि पनि शेर्पालाई हिरो बनाएको छैन ।
उनको भिडियोमा आत्मकेन्द्रित प्रवृत्ति हाबी छ । उनी आफूले गरेको कुरालाई आफैँ महान् बनाउँछन् ।
हुन त आफूले गरेको कुरा आफैँले भन्नु महान् हो । तर उनले भनेको जस्तो ‘दिस इज अबाउट इन्पाइरिङ द ह्युमन रेस ।’ भन्ने संवादको लायक उनको काम हैन । उनले गरेको काम लामो समयमा भए पनि पहिला नै गरिसकिएको थियो । एक वर्षपछि नै नर्वेकी क्रिस्टिन हरिलाले भर्खरै उनले गरेको भन्दा तीन महिना कममा गरेर उनले गरेको कुरा कति प्राविधिक थियो भनिइदिइसकेकी छन् ।
डकुमेन्ट्रीमा उनको अधिकांश भाषा ‘म’ मा टुङ्गिएको छ । सगरमाथामा मान्छे धेरै हुने कुरामा पनि उनी त्यसले मलाई पिर त दियो तर म सँग स्पिड छ भन्ने थाहा थियो भन्छन् । यस्तो लाग्छ कि उनी एक्लै चढिरहेका हुन् ।
‘म’ को भाषाले कहिल्यै पनि अरूलाई प्रभावित पार्न सक्दैन । बरु उनी जस्तै मपाईँ भएकाहरूलाई मात्र उत्प्रेरित गर्नेछ ।
यसले सानो सानो काम गरेर माथि पुग्नेभन्दा पनि एकैपल्ट ठुलो सपना देख्ने अनि त्यसको बोझमा थपिनेहरूलाई प्रेरित गर्छ ।
यसले हिरोको खोजी गर्नेहरूलाई प्रेरित गर्छ । तर हिरो बन्ने केही आधारभुत तत्त्वहरूलाई भने छोडिदिन्छ ।
हुन त नेपालीहरूलाई हिरो धेरै मनपर्छ । कसैलाई भगवान् बनाउन मनपर्छ । कसैलाई चाँडै विश्वास गर्न मनपर्छ । उसको काममा आफ्नो गर्व देख्न मनपर्छ ।
तर फेरी पनि केही हिरोहरू यसरी आउँछन् । उनीहरू कसैको लागि केही गर्छु भन्छन् । ठूलोठूलो र सबैलाई चित्त बुझ्ने नारा लगाउँछन् । मान्छेलाई त्यो मनपर्छ । हुन पनि ती नारा राम्रो हुन्छन् । ती नारामा केही सेन्टिमेन्ट हुन्छन् ।
तर अन्तिममा जब ठुलो स्टेजमा त्यसलाई भन्ने बेला हुन्छ त्यसपछि एक्लै उभिन्छन् । आफ्नै न्यारेटिभलाई अगाडि लान्छन् । आफ्नै दुनो सोझ्याउँछन् ।
डकुमेन्ट्रीको एउटा दृश्यमा निम्स पुर्जा भन्छन् ‘मैले यो प्रोजेक्ट गरेको देख्ने हरेक गरिब वा क्लाइम्बरले पनि म यो मान्छे जस्तो बन्न चाहन्छु भन्नेछ ।’
यो मपाईँत्व हो ।
अनि अन्तिममा प्रेससँग कुरा गर्दै उनी भन्छन् ‘यदि यो कुरा कुनै विदेशी क्लाइम्बरले गरेको भए समाचार यो भन्दा १० गुणा हुने थियो ।’
यो लघुताभासको ऐना हो । उनले त्यो बेला शेर्पा समुदायको बारेमा केही बोल्न सक्थे । वा कुनै शेर्पालाई केही बोल्न दिन सक्थे ।
+++++
म फेरी पनि मलाई मनपर्ने डकुमेन्ट्रीमा फर्किन्छु ।
त्यहाँ टमीले अप्ठ्यारो भाग कटेपछि विश्वकै मिडिया आकर्षित हुन्छ । उनीहरूले गरिरहेको काम अचानक चर्चित बन्छ । मानिसहरू उनीहरूलाई प्रत्यक्ष हेर्न दूरबिन लिएर आउन थाल्छन् ।
त्यो कुराले केभिनलाई अझ प्रेसर पर्छ । हरेक न्युजहरूले उनको हातलाई अझै अप्ठ्यारो पार्छ ।
पछि केभिनलाई जसरी पनि लिएर जान्छु भन्ने सोचेपछि टमी मोबाइल फ्याँकिदिन्छन् ताकी बाहिर संसारको समाचारले केभिनलाई डिस्टर्ब नगरोस् । अनि उनले पार नगरुन्जेल ढुक्कले पर्खिदिन्छन् ।
हिरोले आफूलाई अगाडि ल्याउनुभन्दा पहिला अरूलाई लैजान्छ । हिरोले आफूलाई मात्र लग्नुभन्दा पहिला अरूलाई पर्खिन्छ । हिरो एक्लै उभिँदैन अरू सँगै उभिन्छ ।
यति बेला हामीलाई चाहिएको हिरो टमी जस्तो हो, दुखले भन्नुपर्छ निर्मल पुर्जा जस्तो हैन ।