कपनमा बाढीको बबन्डर

कपनका वडाध्यक्षकै घर खोलामाथि रहेछ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–६ र बुढानीलकण्ठ नगरपालिका–१०, ११ र १२ भएर बग्ने यज्ञमती र चखुँचाखोला अतिक्रमणमा तत्कालीन स्थानीय निकाय र प्राविधिकहरू पनि संलग्न रहेको पाइएको छ ।

बुढानीलकण्ठ नगरपालिकाका प्रमुख एवं तत्कालीन कपन गाउँ विकास समितिका अध्यक्ष मिठाराम अधिकारीसहितका जनप्रतिनिधिले चखुँचा र यज्ञमतीखोला दोहनमा भूमाफियाको साथ दिएको खुलेको छ । नगर प्रमुख अधिकारीले स्थानीय तह निर्वाचनपछि जिम्मेवारी सम्हालेपछि पनि उक्त क्षेत्रमा खोला मिचेर घर बनाउने गरी नक्सा पासको कार्य रोकिएको छैन । उहाँले खोला मिचेर बनाउँदै गरेका संरचनाको नियमन गर्नुभएको छैन ।

नगर प्रमुख अधिकारीले चखुँचाखोलालाई खहरेका रूपमा लिएर घर निर्माणका लागि स्वीकृति दिइएको बताउनुभयो । उहाँले भन्नुभयो, “चखुँचाखोला खहरेका रूपमा बग्ने भएकाले नक्सा स्वीकृति दिन समस्या नहुने ठानेका हौँ ।”

खोला मिच्ने प्रतिस्पर्धा
यज्ञमती र चखुँचा मिचेर बनाएका पुराना घरहरू यथावत् छन् । बुढानीलकण्ठ नगरपालिका–१० का स्थानीयवासीले पछिल्लो पाँच वर्षयता निर्माण गरेका घर तथा भवन अगाडि खोला र सडकको भाग छोडेको पाइन्छ । तर कतिपय घर खोला बग्ने ठाउँमै निर्माण गरिएको छ । बुढानीलकण्ठ–१० का वडाध्यक्ष नवराज भट्टराईको घर पनि खोला मिचेर निर्माण गरिएको छ । उहाँले बस्ती विकास नभई दुई दशकअघि घर निर्माण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “२०५५/५६ सालदेखि हामी बस्न थालेका हौँ । त्यतिबेला खोलामा कुनै पर्खाल पनि थिएन । बाटो पनि राम्रोसँग निर्माण भएको थिएन । बस्ती विकास तीव्र हुँदै थियो । जग्गाहरूको किनबेच राम्रैसँग हुँदै थियो । खोलाको विषय त्यति धेरै ध्यान पुगेन । घर अहिले खोलामाथि परेको छ ।”

उहाँका अनुसार २०५७/५८ सालतिर खोलाको मागदण्ड अनुसार दुईतर्फ पर्खाल लगाएको थियो । खोलाको दायाँबायाँमध्ये एकतर्फ मात्रै बाटो राखेर घर बनाउने प्रचलन बढेको बताउँदै उहाँले बुढानीलकण्ठ–१० र काठमाडौँ महानगर–७ मा पर्ने साततलेमा अहिले पनि महानगरतर्फ सडक र बुढानीलकण्ठतर्फ बाटो मिचेर घर निर्माण भइरहेको जानकारी दिनुभयो ।

राजनीतिज्ञ एवं सामाजिक अगुवा शेखर आचार्यले तत्कालीन कपन गाविस र बुढानीलकण्ठ नगरपालिकाको लापरबाहीले अहिले यस क्षेत्रका नागरिकले बाढीको समस्या झेल्नुपरेको बताउनुभयो ।

उहाँले घर निर्माण स्वीकृति दिँदा खोला बग्ने भाग छोड्ने विषयमा ध्यान नपु-याइएको बताउनुभयो । उहाँले नगरपालिकाले खोलामाथि नै घर बनाउन नक्सा पास गरेपछि त्यसपछि चिनजानको इन्जिनियर र प्राविधिक ल्याएर निर्माण सुरु गर्ने प्रवृत्ति अहिले पनि रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “खोला छोडेर घर बनाउनेले पनि पार्किङ बनाउने भन्दै खोलाको कुद्ने ठाउँमा पर्खाल लगाउने र भित्र–भित्रैबाट पर्खाल लगाएर स्थायी किसिमका संरचना निर्माण गरेको देखिन्छ । नगरपालिकाले घर बनाउनेहरूको निगरानी गर्दैन । पहिले गाविसले त खुलमखुला मनपरी गर्न दिएकै थियो ।”

सामाजिक अगुवा आचार्यले पछिल्लो एक वर्षमा खोला मिचेर निर्माण भइरहेका संरचना रोक्न नगर प्रमुख अधिकारीको ध्यानाकर्षण गराइएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले खोला मिच्दा हाम्रो क्षेत्रमा पानीको सङ्कट हुन सक्छ, इनार र कल सुक्छन्, अवैध निर्माण रोकौँ भनिरहेका छौँ । तर उहाँले वास्ता गर्नुभएन ।” –गोरखापत्र दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *