बागमतीको बाढी पस्दा बस्तीमा बेहाल (तस्बिरहरू)
काठमाडौँ । अविरल वर्षाका कारण काठमाडौँका विभिन्न क्षेत्रमा डुबान भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण यहाँका विभिन्न क्षेत्रमा डुबान हुनुका साथै जलमग्न भएको हो ।
भारी वर्षाका कारण काठमाडौँ उपत्यकाका ढुङ्गेधारा क्षेत्र, गौरीघाट, गुह्वेश्वरी, कपन, सामाखुसी, अनामनगरलगायतका क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताए । वर्षाका कारणसडक, घर, विद्यालय क्षेत्र जलमग्न हुँदा जनजीवन प्रभावित भएको छ ।
काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट आसपासमा भारी वर्षा भएका कारण उपत्यका भएर बग्ने खोला तथा नदीमा पानीको बहाव बढेको प्रहरीले जनाएको छ । विष्णुमती, धोबीखोला, मनोहरालगायतमा जलसतह बढेको हो ।
बाढीकै कारण काठमाडौँको सामाखुसीको रेडन कलेज आसपासका बस्ती, कपनको निलो पुल र मुलपानी क्षेत्र डुबानमा परेको छ । बागमतीमा बाढी आउँदा कोरिडोर सडक प्रभावित हुनुका साथै बस्ती वरिपरिका बस्तीहरू नराम्ररी प्रभावित भएका छन् ।
राजधानीको गौरीगाट, युएन पार्क, थापाथली, सानेपालगायतका स्थानमा कतिपय घरहरूमा समेत बाढी पसेका छन् । सुकुम्वासी बस्तीहरूमा पनि बाढीले बेहाल भएको छ ।