झ्याप्प झ्याप्प बिजुली किन गइरहेको छ ?

काठमाडौँ । कहिले खाना पकाउँदा पकाउँदै झ्याप्प त कहिले लुगामा आइरन लगाउँदा लगाउँदै झ्याप्प -अचेल यस्ता अनुभव धेरैले गर्दैछन् ।

अहिले मध्य बर्खाको समय । खोलानाला सबै बढेका छन् । खोलामा जलप्रवाहमा आधारित बिजुलीमा अत्यधिक निर्भर नेपालमा उत्पादन उच्च विन्दुमा पुग्ने समय पनि यही । अनि फेरि यही समयमा किन बत्ती बेलाबेला गइरहेको छ ?

कस्तो गडबडी ?
अहिले देखिएका बिजुली जाने प्रवृत्तिलाई प्राधिकरणका प्रवक्ता एवं प्रणाली सञ्चालन विभागका निर्देशक सुरेशबहादुर भट्टराईले बर्खाको मौसमले निम्त्याउने जटिलतासँग जोडेका छन् । ‘हाम्रो देशभरिको प्रसारण लाइनको जालो धेरैवटा जङ्गल हुँदै फैलिएको छ । पूर्वदेखि पश्चिमसम्मका विद्युत केन्द्रहरूबाट निस्कने बिजुली प्रसारण गर्दा कहीँ न कहीँ जङ्गलको क्षेत्र पर्छ,’ उनले कारण खुलाउँदै भने ।

‘बर्खाका बेला जङ्गलका केही ठाउँमा जमिन पानीले भिजेर कमजोर हुने गर्छ । त्यसपछि वरपरका रुखहरू अलि बाङ्गिएर तार छोइदिने वा हावाहुरीले हाँगा लत्रिएर छोइदिने अवस्था हुन्छ । त्यस्तो अवस्थाका कारण अहिले देशभरि बिजुली प्रसारणमा अवरोध पैदा हुने गरेको छ ।’

बिजुलीको स्वाभाविक प्रसारणमा अवरोध भएर उत्पन्न भएका ‘अर्थ फल्ट’ अनि बाह्य तत्वले प्रसारण लाइनमा छुने जस्ता घटनाले अहिले बेलाबखत समस्या पार्ने गरेको उनले सुनाए । ‘यसकै कारण चाहे काठमाण्डूमा होस् वा देशका अन्य भागमा बिजुलीको निर्वाध प्रवाहमा समस्या परेको हो,’ भट्टराईले भने ।

ती बाहेक कतै कतै स्थानीय आगलागीजस्ता दुर्घटना, पोल सार्ने कार्य, ट्रान्सफर्मरमा गडबडी वा नियमित मर्मतसम्भारका कारण पनि बिजुली गएको हुनसक्ने उनले बताए ।

कमजोर पूर्वाधारको चुनौती
प्रणालीमा देखा परेका यस्ता जटिलताको जड पूर्वाधार तथा इन्जिनियरिङमा विद्यमान समस्या रहेको जानकारहरूले बताउने गरेका छन् ।

प्राधिकरणका पूर्व प्रमुख कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार उत्पादन र उपभोगमा भएका व्यापक परिवर्तनसँग मेल खानेगरी पूर्वाधारमा विकास हुन नसक्दा यस्ता गडबडी देखा परिरहन्छन् । ‘बर्खाका बेला जमिन भासिने वा बोटबिरुवा लत्रिएर हुने समस्या नौला होइनन् । तर अचेल किन यो बढिरहेको छ भने हाम्रो प्रसारण लाइनको पूर्वाधार तथा मिडियम भोल्टेजको पूर्वाधारमा ओभरलोड (अधिक चाप) भएको छ,’ शाक्यले भने ।

‘हामी अहिले दैनिक ४३ देखि ४४ हजार मेगावाट घण्टा बराबर (मेगावाट आवर) ऊर्जा खपत गर्ने भइसकेका छौँ तर हाम्रो पूर्वाधार एकदम विस्तारै विकसित भइरहेका छन् । त्यसैले यो चार-पाँच वर्ष यता पूर्वाधारहरूमा अत्यधिक चाप परिरहेको छ,’ शाक्यले भने ।

यस्तो अवस्थामा कतै सानो समस्या उत्पन्न हुनासाथ त्यसले अन्य लाइनमा प्रभावित पार्ने गरेको उनले बताए । ‘अनि फेरि ती पूर्वाधारमा स्वीचिङ गियरलगायतका इन्जिनियरिङका सुरक्षा प्रणाली अद्यावधिक हुनु पनि जरुरी छ,’ उनले भने ।

समाधान के त ?
यसका लागि पूर्वाधार सुधार अनि इन्जिनियरिङ प्रविधिको अपग्रेड वा स्तरोन्नति आवश्यक पर्ने शाक्यले बताए । पूर्वाधार विकासको कुरा गर्दा प्रसारण लाइनहरू निर्माणमा जग्गा प्राप्तिका झन्झट अनि मानिसहरू कसैले पनि आफ्ना जग्गामा तिनको निर्माण गर्न नदिने प्रवृत्ति चुनौती बनेको उनको भनाइ छ ।

अनि नियन्त्रण तथा सुरक्षाका विभिन्न प्रणालीहरू पनि पुरानै उपयोग भइरहेका हुनाले प्रविधिको विकासमा पनि ध्यान दिन जरुरी भइसकेको उनी बताउँछन् । पूर्वाधार अझ खासगरी प्रसारण लाइन निर्माणमा धेरै ढिलाइ भइरहेका देखिन्छन् । –बीबीसीबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *