जनताको आवाज उठाएबापत ‘आगो’ले कांग्रेसबाट पाए निलम्बन उपहार !

काठमाडौँ । नेपाली कांग्रेस कैलालीले युवा नेता लोकराज पाण्डे ‘आगो’लाई कारबाही गरेको छ । कैलालीको गेटामा निर्माणाधीन स्वास्थ्य विद्यालयको मुद्दा उठाउँदै आएका युवा नेता आगोलाई पार्टीले नेतृत्वविरुद्ध बोलेको भन्दै कारबाही गरेको हो ।

कांग्रेस नेताहरूले जनताको आवाज उठाएबापत ‘आगो’ले पार्टीबाट निलम्बन उपहार पाएको टिप्पणी गरेका छन् । ‘आगो मेडिकल विश्वविद्यालयको मुद्दा उठाइरहेका व्यक्ति हुन्,’ एक नेताले भने, ‘एकतिर विश्वविद्यालयको मुद्दा उठाइरहने, अर्कोतिर नेतृत्वमाथि तथानाम गाली गरेपछि अनुशासन कारबाही गरेको हो ।’

आगो गेटामा ६ सय बेडसहितको मेडिकल विश्वविद्यालयको माग राख्दै आन्दोलनमा होमिएका छन् । उनकै नेतृत्वमा गेटामा मेडिकल विश्वविद्यालय सञ्चालनार्थ दबाब समिति गठन गरिएको थियो । नेता आगोले पनि आफूले गेटा विश्वविद्यालयको मुद्दा उठान गर्दा पार्टीको कारबाही भोग्नु परेको बताएका छन् ।

नेता आगाले स्ट्याटस लेखेकै भरमा कारबाही गरिएको बताए । ‘पार्टी नेतृत्वले गेटामा विश्वविद्यालय चाहँदैन । मेडिकल विश्वविद्यालयको आन्दोलनमा लाग्ने व्यक्ति गलत भनेपछि मैले एक स्ट्याटस लेखेको भरमा कारबाही गरेको हो,’ उनले भने, ‘यसअघि पनि पटक–पटक कारबाही गर्न खोजेको हो । अहिले एक स्ट्याटस हालेकै भरमा पार्टीबाट हटाएको छ ।’

आगो कांग्रेसको जिल्ला सदस्य, क्षेत्रीय सभापति, श्रम विभागलगायत विभिन्न पदमा बसिसकेका व्यक्ति हुन् । अहिले पनि पार्टीको भातृ संगठन तरुण दलको सदस्य रहेका छन् । पार्टीले उनलाई लेखेको पत्रमा जिल्ला कार्यसमितिले महत्त्वपूर्ण पदीय जिम्मेवारीमा बसेर पार्टी हितको बर्खिलाप सार्वजनिक रूपमा अभिव्यक्ति दिएको भन्दै अनुशासनको कारबाही गरिएको जनाएको छ ।पार्टी हि

तको बर्खिलाप, पार्टीको पदीय जिम्मेवारीमा रहेका नेता कार्यकर्ताको मानहानि हुने गरी सार्वजनिक अभिव्यक्ति दिने गरेको र सामाजिक सञ्जालमा तथानाम अभिव्यक्ति दिने गरेको देखिएको जिल्ला कार्यसमितिले जनाएको छ । उनलाई अनुशासनको कारबाही गर्दै पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको छ ।

पार्टीले क्षेत्र नम्बर ४ का क्षेत्रीय प्रतिनिधि सुरतबहादुर कार्कीलाई कारबाही गरेको छ । नेताहरूका अनुसार उनलाई सुदूरपश्चिम कांग्रेस महामन्त्रीसमेत रहेका नेता नरनाराण शाह ‘मुनु’लाई भेट्दा कारबाही गरेको हो । पार्टीले जारी गरेको पत्रमा भने पार्टीको हितविपरीत कार्य गरेको भन्दै साधारण सदस्य नरहने गरी कारबाही गरिएको कांग्रेस जनाएको छ ।

यस विषयमा कांग्रेस कैलालीका उपसभापति भीम बडूवालले असम्मति जनाएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘यो निर्णयमा मेरो सहमति छैन । यो विषयमा मलगायत जिल्ला कार्यसमिति, कार्यसम्पादन समिति र पदाधिकारी कसैसँग पनि सल्लाह भएको छैन । बिना सल्लाह, बिनाआधार, बिनाप्रमाण र बिनातथ्य कसैसँग पूर्वाग्रह राखेर गरिने निर्णय पार्टीको निर्णय मानिने छैन ।’

यसैगरी नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारले पनि कारबाहीका बारेमा आफूलाई कुनै जानकारी नभएको बताए । उनले भने, ‘कारबाही गर्ने भनेर कुनै बैठक पनि बसेको छैन, निर्णय पनि भएको छैन, मलाई यसबारे केही सोधिएको पनि छैन ।’

नेता रवीन पन्तले कारबाहीलाई सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीको अलोकतान्त्रिक कदम भनेका छन् । ‘यो सरासर गलत हो । आलोचनात्मक चेतलाई स्विकार्नै नसक्नु सबैभन्दा ठूलो कमजोरी हो । यो कारबाही एकदमै गलत हो । तत्काल फिर्ता लिनु पर्दछ होइन भने एकदिन क्षमतावान सबै कार्यकर्ताहरू पार्टीबाट यसरीनै रित्तिने छन्,’ उनले अगाडि भनेका छन्, ‘यसतर्फ सम्बन्धित  सबैको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीको सबैभन्दा अलोकतान्त्रिक कदम हो यो तत्काल यसलाई सच्याउनु पर्दछ ।’

उनलाई कारबाही गरिएपछि सामाजिक सञ्चालमा चर्काे विरोध भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *