मकालु रिभ्यु

‘तपाईँ कति धनी हुनुहुन्छ ?’

नयाँ ऋण दिनेबेलाको बैङ्क । नयाँ खाता खोल्न लगाउने बेलामा सहकारी । नयाँ बीमा गराउने बेलाका बीमा कम्पनी । 

अनि अरू अन्य बैङ्क तथा वित्तीय संस्थाहरू । यी सबैका केही कुरा साझा छन् । यी सबैले सुरुवातमा केही बाचा गरेका हुन्छन् । 

ती बाचा शब्दमा रसिला हुन्छन् । ती मानिसहरूलाई लोभ्याउन पर्याप्त हुन्छन् । 

‘हाम्रो सहकारीमा पैसा राख्नु भयो भने धेरै ब्याज पाइन्छ । भनेकै बेलामा निकाल्न पाइन्छ ।’

‘त्यहाँ भन्दा यहाँको ब्याजदर राम्रो छ । सेवा सुविधा पनि राम्रो छ ।’

‘हाम्रोमा बीमा गर्नेले फलानो फलानो काम गरिसकेका छन् ।’

तीनले सजिलै मान्छे पट्याउँछन् । अनि तीनलाई मद्दत गर्ने अर्को बलियो माध्यम छ मान्छेको डर । अहिलेको समयले मानिसहरूलाई भविष्यलाई लिएर धेरै वटा अनिश्चय दिएको छ । नेपालमा त अझ शिक्षा र स्वास्थ्य जस्ता महत्त्वपूर्ण क्षेत्रको चाबी पनि सरकारले निजी क्षेत्रको खस्रो हातलाई बुझाइदिएर त्यो डर बढ्न झन् सजिलो बनाइदिएको छ । 

मान्छे सोच्छन् समय अप्ठ्यारो छ । यति बेला केही गरिहालेन भने त धेरै थोक बर्बाद हुन्छ । आज केही गरिहालेन भने भोली गाह्रो हुन्छ । 

त्यस्ता कम्पनीहरूलाई यो कुरा थाहा छ । आधुनिक समयको परिस्थितिले तीनलाई बलियो बनाएको छ । आधुनिक समयमा तीनले देखाउन मिल्ने धेरै जोखिमहरू छन् । 

तीनले बचत देखि बीमा सम्म, ऋण देखि बोण्ड सम्म हरेक नाममा अनेक विश्वास बेच्छन् । र पटक पटक भन्छन् ‘तपाईँलाई केही पर्दा हामी छौँ नि । हामी हुन्छौँ नि ।’

तर जब साँच्चै मान्छेलाई पर्छ ती सजिलै गरी सँगै हुनेछन् भन्ने सम्भावना रहन्न । म सबै बैङ्क तथा वित्तीय प्रणाली खराब भनिरहेको छैन । ती भन्दा अलग रहेर कुनै व्यवस्थाको कल्पना गरिरहेको छैन । 

तर एउटा कुरा के छ भने ती संस्थाहरू सुरुवातमा जस्ता हुन्छन् खास मानिसहरूलाई चाहिएको बेला त्यस्ता हुँदैनन् । वा ती आफूलाई मानिस चाहिएको बेलामा जस्ता हुन्छन् मानिसहरूलाई उनीहरू चाहिएको बेला त्यस्ता हुँदैनन् । 

भ्यागुतो र बिच्छीको कथामा जस्तै ।

एउटा भ्यागुतो नदी किनारमा बसिरहेको हुन्छ । कताबाट बिच्छी आइपुग्छ । उ भ्यागुतोलाई नदी तारिदिन भन्छ । भ्यागुतो तिमीले मलाई टोकिहाल्छौ नि भनेर मान्दैन । तर बिच्छी उसलाई सम्झाउँछ । फकाउँछ । 

भ्यागुतो बिचरा सोझो । उसले भनेको विश्वास गर्छ । उसलाई तारिदिन्छ । 

तर हिँड्ने बेला बिच्छी उसलाई टोकिराखेर हिँड्छ ।

‘किन टोकेको ?’ भ्यागुतो सोध्छ ।

जवाफमा भन्छ ‘मेरो बानी नै यही हो म कसरी छोड्छु ?’

अधिकांश बिमा तथा वित्तीय संस्थाहरू पनि त्यस्तै छन् । म फेरी पनि यहाँ सबैलाई गलत भनिरहेको छैन । तर तीनले साधारण मानिसहरूलाई गर्ने व्यवहारमा सुधार ल्याउनुपर्ने पर्याप्त ठाउँ छन् । तीनले कसैलाई अप्ठ्यारो पर्दा कसरी परेको हुन्छ भनेर बुझ्ने कुरामा काम गर्नुपर्ने पर्याप्त ठाउँ छन् । 

ती खासमा त्यस्ता साना साना भ्यागुतोहरूको कारण नदी तरिरहेका छन् । तीनको सबैभन्दा इमान्दार साथी पनि तीनै साना मान्छे हुन् । 

तर मौका पर्नासाथ ती साना साना मान्छेहरूलाई टोकिरहन्छन् । तीनले चिलेका सोझा भ्यागुताहरू यत्रतत्र छन् । 

कहिले ‘बाइकबाट लडेर बिमा दाबी गर्न गयो भने बिमामा पाउने रकमभन्दा धेरै रकम खर्च हुन्छ’ भन्दै छन् । 

कहिले ‘भेरो ब्याज त मलाई थाहा नै नपाई घटबढ हुन्छ’ भन्दै छन् ।

कहिले ‘मेरो बचत फसेको छ सहकारी भाग्यो’ भन्दै छन् । 

उनीहरूले यस्तो भनेको सुनिरहेका बैङ्क, बीमा तथा वित्तीय संस्थाहरू भने झन् झन् शक्तिशाली बन्दैछन् । शक्तिशालीहरूले तलका मान्छेसँग सङ्गत किन गर्नुपर्‍यो ? ती चल्न चाहिँ तलकै मान्छेको इमानदार लगानीमा चल्दैछन् तर बोल्न चाहिँ माथिका मान्छेको बोली बोल्दैछन् । 

स्टभिन सोडरबर्ग निर्देशित फिल्म ‘द लण्ड्रोमार्ट’ ले पनि त्यस्तै एउटा घटना सम्झाउँछ । र यसले त अझ विकसित देशमा मानिसहरू कसरी धेरै कुरामा सीमित पारिँदै छ भन्ने कुरालाई पनि खोतलेको छ । 

एलेन मार्टिन र उनको श्रीमान् सहित न्युयोर्कको एउटा तालमा डुङ्गा यात्रा गर्न गएका हुन्छन् । अकस्मात् डुङ्गा डुब्छ । उनी बाँच्छिन् तर श्रीमान् सहित अरू धेरैको मृत्यु हुन्छ । 

जब उनी त्यो घटनाको बिमा क्षतिपूर्ति माग्दै डुङ्गा कम्पनीमा जान्छिन्, त्यसको बिमा भएको कम्पनी अर्कै कम्पनीलाई बेचिएको हुन्छ । त्यो अर्को कम्पनी पनि देखिनेगरिको हुँदैन । 

खासमा उनीहरूलाई जे कुरा दिइनेछ भनेर बाचा गराइएको हुन्छ त्यो कुरा उनीहरूले भेट्ने ठाउँमा हुँदैन । 

जसरी अप्ठ्यारो परेको बेलामा नेपालमा पनि यस्ता संस्थाहरू अक्सर सरकारी चलाउने मालिकजसरी नभेटिने ठाउँमा पुग्छन् ।  

एउटाबाट अर्को अर्कोबाट अर्को । उनी खोज्दा खोज्दा थाक्छिन् । बिमाको नाममा आफूहरूलाई धोका भएको बुझ्छिन् ।

उनी अरू सबै मान्छे परे जस्तै सुरुमा रनभुल्लमा पर्छिन् । त्यसक्रममा पनि फिल्मले आजको चर्को पुँजीवादी व्यवस्थाले कसरी मध्यम वर्गीय मान्छेहरूलाई चुसिरहेको वा डसिरहेको छ भन्ने कुरा देखाइरहन्छ । 

एउटा दृश्यमा उनी केटाकेटीसँग एउटा अपार्टमेन्टबाट बाहिर हेरिरहेकी छन् । त्यो उनले किन्ने भनेर छानेको अपार्टमेन्ट हुन्छ । तर एकछिनमा थाहा हुन्छ त्यसलाई कम्पनीले अर्कै मान्छेलाई बेचिसकेको हुन्छ । उनले गरेको विरोधमा कम्पनीकी मान्छेले भन्छिन् ‘उनीहरूले तपाईँले तिरेको भन्दा डबल दाममा दिए । त्यो पनि क्यासमा । उनीहरूले यो सँगै अरू पनि किनेका छन् ।’

यो संवादले मध्यम वर्गीय मान्छेहरूको सानो सानो प्रगति वा खुसीमा कसरी एकैपल्ट ठुलो भाग सोहोर्न सक्नेहरूले अवरोध पुर्‍याइरहेका छन् भन्ने देखाउँछ ।  

नेपालमा प्लटिङ गर्नेले सारा जग्गा एकैपल्ट उठाइदिएको जस्तो । 

हाम्रो समाज पनि यसरी नै धनी वा हुनेखानेको वरिपरि घुमिरहेको छ । शक्ति उनीहरूको हातमा छ । चुनावमा गर्ने खर्च उनीहरू गर्छन् । नीति उनीहरूको हातमा छ । उनीहरूले चाहेको अनुसार कर यताउता हुन्छ । कर बढ्ने सूचना पहिला नै कानमा पुग्छ । 

त्यही भएर पनि राज्यव्यवस्था नै हुनेखानेको आँखाबाट सोच्ने बन्दै गएको छ । काठमाडौँ महानगरले पछिल्लो समयमा सडकमा व्यवसाय गर्ने व्यवसायीहरूलाई हटाउने तरिका होस् या सहकारीहरू सजिलै भाग्न सक्ने अवस्था सिर्जना गर्ने व्यवस्था होस् । 

अदालतमा शक्तिशालीलाई हेर्ने दृष्टिकोण होस् । 

जो भ्रष्ट्राचारी छन् उनको पक्षमा मुद्दा लड्ने अनेकौँ छन् । जो साधारण मान्छे छन् उसलाई मुद्दा लड्नु अर्को गलपासो छ । 

जो शक्तिशाली छन् तीनलाई सरकारले खुलेआम नियुक्ति दिएको छ । तीनको विवादास्पद छवि भए पनि कसैलाई फरक पर्दैन । 

फिल्मको एउटा संवादमा वकिलहरू भन्छन् ‘तपाईँहरू कति धनी हुनुहुन्छ ?’ 

यो अहिलेको समयलाई गरिएको सबैभन्दा ठुलो व्यङ्ग हो । मतलब यदि तपाईँ धनी हुनुहुन्छ भने धेरै थोक हुन्छ । तपाईँको लागि पशुपतिको लाइन छोटो हुन्छ । अस्पतालको कोठा अलग हुन्छ । तपाईँलाई दिइने ध्यान अर्कै हुन्छ । 

धनी हुनुहुन्छ भने तपाईँले अरूको भाग पनि सजिलै ओगट्न पाउनुहुन्छ । अरूलाई दिएको कोटा पनि छलेर लिन पाउनुहुन्छ । धनी हुनुहुन्छ भने तपाईँ अपराधी भए नै पनि खुलेआम पुलिससँग दोस्ती गर्न सक्नुहुन्छ । 

धनी हुनुहुन्छ भने तपाईँको बोली बिक्छ । कानुन पनि तपाईँ भागुन्जेल पर्खिन्छ ।

फिल्मले यो चक्रमा पिल्सिएकी एक महिलाको कथा मार्फत स्टेटमेन्टहरूमा सीमित हुँदै गरेको वा मान्छेलाई कसरी चल्छ थाहा नै नहुने गरी चल्न थालेको प्रणालीलाई व्यङ्ग गरेको छ सँगै त्यसको विरुद्धमा उठेको आवाजलाई पनि प्रतिबिम्बित गरेको छ । 

किनकि व्यवस्थाले जति नै धनीलाई पोसोस्,  त्यसको विरुद्ध आवाज थाक्दैनन् । 

जसरी यो फिल्ममा एलेन बिमा ठगी गर्ने ती कम्पनीहरूलाई पछ्याउन छाड्दिनन् । ‘कसैले त आर्लम लगाउनुपर्छ’ भन्दै उनी सबैसँग लड्छिन् । जो जो छद्म भेष बनाएर मानिसहरूलाई डर बेच्न लागेका छन् अनि बदलामा केही पनि नदिई कन भागेका छन् तीनलाई उनले कठघरामा ल्याउँछिन् । 

फिल्मले अमेरिकामा वित्तीय सुधार चाहिएको कुरा देखाएको छ जुन हाम्रो जस्तो देशको लागि दुई हिसाबले महत्त्वपूर्ण छ । 

एक विकास भन्दा भन्दै हामी त्यो तहको वित्तीय जन्जालमा नपुग्ने । 

दुई त्यस्ता मान्छे यहाँ पनि छन्, तीनलाई पनि नछोड्ने ।

ट्रेलर हेर्ने लिंक

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *