हाम्रो विकास सडक पुर्याउन मात्र केन्द्रित भयो : नविन सुब्बा
नबिन सुब्बा भेडेटारमा थिए । नयाँ फिल्ममेकरहरूलाई ट्रेनिङ दिइरहेका थिए । त्यही बेला फोन आइरहेको रहेछ । उनले उठाएका थिएनन् । म्यासेज आयो । फोन उठाउनु भन्यो । त्यसपछि आएको फोन उनले उठाए ।
‘तिम्रो फिल्म हामीलाई देखाउन मन लाग्यो । के छ बिचार ?’ टोरन्टो फिल्म फेस्टिभलको फोन थियो ।
उनले खबर आफ्नो समूहमा सुनाए । आधिकारिक रूपमा फेस्टिभलबाट घोषणा नहुन्जेल बाहिर नसुनाउनु भनिएको थियो । त्यो बिचमा प्रेस रिलिज तयार भयो । बाहिर जाने कलाकार सहितको टिमको भिसा प्रक्रिया पनि थालियो ।
त्यो नविनको लागि पनि खुशीको क्षण थियो । एक त लामो समयपछि फिल्म बनाइरहेका थिए । अनि नयाँ टिमलाई लिएर काम गरेका थिए । उनको ‘खाङ्ग्री’ फिल्मबाट नै नेपाली सिनेमाले पहिलोपल्ट विदेशी फेस्टिभल पुग्न थालेको थियो । अहिलेसम्म त्यसमा मनग्गे नामहरू थपिइसकेपछि फेरी उनको पालो आएको थियो ।
१० वर्षपछि बनाएको फिल्म ‘गाउँ आएको बाटो’ टोरन्टो फिल्म फेस्टिभलमा छनौट हुनु उनको जिन्दगीकै सबैभन्दा ठुलो सफलता थियो ।
तर यसपल्ट खुशी फरक भयो । उमेर बढेर होला उनी पहिला जसरी धेरै उत्साहित पनि भएनन् । फिल्म फेस्टिभल उनको लागि नौलो थिएनन् । फरक फरक ठाउँमा पुगिसकेका थिए । कुनले के खोज्छ भन्ने कुरा पनि थाहा पाउँदै गएका । फेस्टिभल फेस्टिभल बिचको राजनीति पनि बुझेका ।
‘यो लेबलको फेस्टिभलमा पहिलो पल्ट हो । तर पहिला बुसान पुगेको हुँ । आधारभूत रूपमा फेस्टिभलहरू लगभग उस्तै हुन् । उनीहरूले चिन्यो राम्रो हो तर कहिलेकाहीँ हत्तेरीका यो फेस्टिभलको भ्यालिडेसनतिर पो कुदिराखेका छौँ कि भन्ने पनि लाग्छ ।’ उनी इमानदार सुनिए ।
भने ‘बरु टिमको लागि बढी खुशी भएँ यसपल्ट ।’
‘गाउँ आएको बाटो’ का प्रोड्युसर नयाँ हुन् । लाइन प्रोड्युसर नयाँ । पहिलाका अधिकांश काममा जस्तै धेरैजसो नयाँ टिम लिएर काम गरेका थिए । भेषभुषा, सङ्गीत सबैमा ।
फेस्टिभलमा छानिएको खबर पाएसँगै फिल्मको कथामा काम गर्दाका अनि खिच्दाका अनेकौँ रिलहरू घुम्न थाले ।
यो फिल्म बनाउने कुनै योजना थिएन । संयोगले जुट्यो ।
लगभग आठ दश वर्ष पहिलाको कुरा ।
उनी स्क्रिप्ट राइटिङ वर्कसप गराइरहेका हुन्थे । काठमाण्डौमा पनि त्यस्तै वर्कसप आयोजना भएको थियो । त्यसैक्रममा महेश राईले एउटा कथा लिएर आए । उनको कथा साधारण थियो । आफ्नै बाल्यकालको नोस्टाल्जिया थियो । नविनले मनपराए । त्यसपछि छलफल सुरु भयो । उनले केही आइडियाहरू पनि थपे । महेशले ल्याएको बालक छोराको कथामा बाबुको कोण पनि थपियो । छलफल गर्दै जाँदा समाजका अरू पक्ष पनि जोडिँदै गए ।
नबिनले केही समय आइएलओेले वैदेशिक रोजगारीमा जाने कामदारहरू माथि बनाएको डकुमेन्ट्रीमा काम गरेका थिए । त्यस क्रममा आप्रवासनको बारेमा धेरै बुझेका थिए । त्यसले ल्याउने विस्थापन कसरी हुन्छ ? मान्छेलाई के ले विदेश जान बाध्य पार्छ इत्यादि विषय केलाएका थिए । थाहा पाएका थिए कि स्रोतको वितरण सही नभएको कारण जीविकोपार्जन खोज्दै बाहिर जानेहरू धेरै थिए ।
त्यसैक्रममा एकजना बिस वर्षको युवकसँग जहाजमा यात्रा गरेका थिए । ती कलिला युवक खाडी मुलुकमा गइरहेका थिए । तीनको अनुहारमा उत्साह थिएन । नयाँ ठाउँमा जाँदा अत्तालिएका थिए । उनको अनुहार लामो समयसम्म पनि उनले बिर्सिएका थिएनन् ।
त्यो अनुहारको कुनै अंश पनि यो फिल्ममा थपियो ।
कथा बढ्दै गइरहेको थियो । स्क्रिप्ट राई समुदायभित्रबाट आइरहेको थियो । महेशको नोस्टालजिया पनि भोजपुर पानधारेबाट बनेको थियो । सानोतिनो बच्चाहरूले खेल्ने कुरा वा बदमासी त्यसमा थियो । त्यो आम नेपाली बच्चाहरूकै आवाज थियो ।
उनलाई फिल्म बनाउने फण्ड खोज्न थाल्ने उपाय पनि थियो । तर त्यसो गर्नलाई समय लाग्थ्यो । अनि फरक फरक ठाउँबाट पैसा हाल्नेका सर्तहरू पनि सुन्नुपर्ने । यस्तो विषयमा बन्ने फिल्म कसैलाई प्रोड्युस गर भन्न पनि गाह्रो ।
बरु त्यो भन्दा समुदायलाई लगानी गर्न लगायो भने सजिलो हुन्छ भन्ने सोचे ।
हङकङमा बसिरहेका आमोद राई उनको भाइको साथी थिए । उनीसँग चिनजान उनको पहिलादेखि नै थियो । उनी हङकङ गएको बेला मोद ‘नेपाली सिनेमा यहाँ चिनियाँहरूसँग देखाएर डायलग गर्न पाए पो हामीलाई मजा आउँछ’ भनिरहन्थे । त्यस्तो सिनेमा बन्नुपर्छ, तपाईँहरूले बनाउनुपर्छ भनिरहेका हुन्थे ।
‘फुर्सद हौ भने लु यो सिनेमा गर ।’ एक दिन नबिनले उनलाई भने ।
उनी प्रोड्युसर बनेर आउने भए । समुदायको फण्ड पनि आउने भयो । संसारभर रहेका अनि नेपालमा भएका पनि समुदाय जोडिए । सिनेमा बन्ने भयो ।
उनले टिम तयार पार्न थाले । फिल्म बनाउन फिल्डमा जानुभन्दा पहिलादेखि नै रिसर्चमा काम गरे ।
उनलाई भइराखेको टिम लिन भन्दा आफूले ग्रो गर्न सक्ने टिम बनाउन मन पर्ने । यसपल्ट पनि त्यस्तै नै गरे । युवाहरूको टिमलाई रिसर्चमा खटाए । कथा वरपरको सानो सानो कुराहरू खोज्न भने । डायलग कोच पनि राखे ।
टिममा भएका सबैले फिल्मका चरित्रको जीवनदृष्टि तथा विश्व दृष्टि बुझ्नु जरुरी थियो । उसको विश्वासपद्धतीलाई समात्नु अपरिहार्य भइहाल्यो । त्यो नबुझी उसलाई सतही रूपमा ए वा बि क्यारेक्टर भनेर बुझिँदैन भन्ने कुरामा उनी स्पष्ट थिए ।
‘ म यो चरित्रलाई रातो वा सेतो लगाइदिन्छु भन्ने भेषभुषा हेर्नेलाई सिधै लाग्नु हुँदैन । चरित्रको लुगाको रङको छनौटमा पनि कारण हुन्छ । उसले रातो किन लाउँछ वा सेतो किन लाउँछ भन्ने थाहा भएन भने चरित्रले लुगा लगाउने हैन भेषभुषा हेर्नेले लगाइदिने भयो । लुगामा पनि उसको हुर्काइ, उसको विश्व दृष्टि वा उसको विश्वासपपद्धतीले काम गरेको हुन्छ । उ त्यहाँ पुग्नुपर्यो ।’
सुरुवातको तीन महिना उनले सम्पूर्ण टिमलाई ‘राई’ भनेको के हो मा खोज्न लगाए । टिममा फरक फरक जात जाति वा भूगोलका मान्छे थिए । तीनलाई कथा भइरहेको ठाउँ यो हो अनि चरित्र यी हुन् भन्ने सिकाउन धेरै रिसर्चको काम दिए । राई समुदायका सामाग्रीहरू बुझाए । सङ्गीत हेर्नेलाई मुन्धुमभित्र मुन्धुमले निषेध गरेको सङ्गीत यो हुने रहेछ भन्ने थाहा दिए । सङ्गीतको काम खस आर्य रहेकी एञ्जल मञ्जरीलाई दिएका थिए । उनीहरूले ल्याएका कुराहरूलाई टिममा भएका राई समुदायका सदस्यले प्रतिप्रश्नहरू गरे । त्यसले दोहोरो काम गर्यो । आउटर दृष्टिकोण पनि ल्यायो । भित्री दृष्टिकोण पनि ल्यायो । राईले कसरी हेर्छ पनि आयो । गैर राईले कसरी हेर्छ पनि आयो ।
सबै क्षेत्रले यसरी नै काम गरिसकेपछि बल्ल स्टोरी लाइनमा छिरे ।
यत्रो लामो प्रक्रियाले निर्देशकको रूपमा के फाइदा भयो ?
मलाई पनि कथा बुझ्न सजिलो भयो । चरित्रलाई तथ्यगत रूपमा बुझ्नलाई सहज भयो । त्यो क्रममा धेरै नयाँ कुरा थाहा पाएँ । राईहरूले निलो र हरियो छुट्याउँदैन रहेछन् । त्यसपछि लुगा छान्दा पनि रङलाई ध्यान दिन पाइयो ।
सँगै यसले ‘मलाई लाग्यो’ भन्ने खालको तर्कलाई पनि स्थान नदिने भयो । ‘मेरो विवेचना हो’ भन्न थाल्यो भने त्यसले समस्या सिर्जना गर्छ । अहिले हामीले नेपाली समाजमा यसलाई देखिरहेका छौँ । एकजना वकिलले तामाङहरू माथि गरेको सतही टिप्पणीको असर देख्नुभएकै छ । ‘मेरो बुझाई हो’ भन्ने कुराले समस्या पार्छ किनकि बुझाइहरू त फरक फरक हुन्छन् । ती फरक फरक बुझाइहरूबिचबाट फ्याक्टमा पुग्न सकियो भने हाम्रो दृष्टिकोण पनि परिपक्व हुन्छ होला ।
यो फिल्म बनाउने प्रक्रियालाई कानुन बनाउने प्रक्रियासँग जोडेर हेर्नुभयो भने कस्तो देख्नुहुन्छ ?
हामीले जति जे गरे पनि विविधतापूर्ण नेपाली समाजलाई अस्वीकार गर्नै सक्दैनौँ । संरचनागत लाभांशमा भएका र सीमान्तमा रहेकाको बारेमा हाम्रो समाजमा जस्तो दृष्टिकोण छ त्यो एकलकाँटे देखिन्छ । हामीले बाहिरबाट पनि र भित्रबाट पनि हेर्ने भयो भने र विविधता स्विकारियो भने समाजमा हार्मोनी सिर्जना गर्न सजिलो हुन्छ । हामीले फिल्ममेकिङबाट गर्न खोजेको त्यही होला ।
तर फिल्ममेकिङमार्फत यसरी पो हेर्नुपर्छ भनेर हामी हाबी हुन खोज्यौँ भने त्यो फेरी एडभोकेसितिर जान्छ । हामी फिल्ममेकरले एडभोकेसी गर्ने कि नगर्ने ? हुन त मैले बहुलताको कुरा गरिरहेको छु र यो आफैँमा एडभोकेसी हो । तर फिल्ममेकरले आफू त्यो विषयको कहाँनेरी छु भनेर हेर्ने हैन जस्तो मलाई लाग्छ । यदि मैले म सीमान्तकृत हुँ त्यही भएर मेरो दृष्टिकोण यो हो भन्न थालेँ भने त्यहाँ अर्को समस्या सिर्जना हुन्छ । हो म सीमान्तकृत त हुँ तर अर्को पक्ष पनि छ भन्ने मैले ख्याल गर्नुपर्छ । एक अर्कालाई स्विकार्दै दुवै पक्ष बसेर छलफल गर्यौँ भने तथ्यमा पुग्न सकिन्छ । वा भनौँ त्यसको लागि बाटो छ ।
कानुनकै कुरा गर्ने हो भने पनि जसले कानुन बनाएको छ त्यसले समाजको तह बुझेको छैन । उदाहरणको लागि म लिम्बु भए पनि नेपाली राम्रै बोल्छु । व्याकरण पनि बुझ्छु । तर मधेसमा त्यस्तो छैन । यसको मतलब शिक्षा लिने क्रममा म जति फाइदामा छु एउटा मधेसी व्यक्ति त्यति फाइदामा छैन । तर मलाई के लाग्दोरैछ भने ‘हैन यो त मेरो अधिकार हो नि । उसले त सिक्नुपर्यो नि ।’ तर यदि मैले मधेसी भएर हेरेँ भने बल्ल उसले के भन्न बुझिरहेको छ भन्ने बुझ्न सक्छु । हाम्रोमा त्यसरी अर्को भएर हेर्ने चलन नहुनु समस्या हो । कानुन बनाउने प्रक्रियामा पनि त्यही समस्या छ । हाम्रो कानुन धेरै त हिन्दु बुझाइबाट आएको छ । हाम्रो समाज विविध छ यहाँ फरक फरक बिचार छन् भनेर सबैले बुझ्नुपर्छ ।
अनि अर्को महत्त्वपूर्ण कुरा । मैले सामान्य परिस्थितिमा हिन्दु धर्ममाथि बोल्ने अधिकार राख्दिनँ । मैले तब बोल्न पाउँछु जब कसैले मलाई थिचोमिचो गर्छ । जस्तो कि वर्णव्यवस्थाले मलाई तँ शूद्र होस् भनेर विभेद गर्यो भने मैले प्रतिक्रिया जनाउन पाउँछु किनकि किनकि त्यसले मलाई डोमिनेट गरेको छ । तर म हिन्दु धर्ममा सात दिन वा तेह्र दिनमा गरिने काजक्रियाको समय घटाउनु पर्छ भन्न पाउँदिन । म लिम्बु हुँ मेरो चार दिनमा चोखिन्छ होला । तर त्यसो हुँदैमा ‘यो वैज्ञानिक छ तिमीले पनि चार दिनमा ल्याऊ’ भनेर मैले भन्न मिल्दैन । किनभने त्यो हिन्दु धर्म मान्ने मान्छेको कुरा भयो । त्यो कुरा उसले निर्णय गर्न पाउनुपर्यो । मेरो संस्कृतिमा कुनै अपाच्य कुराहरू छन् भने ती काम नलाग्ने कुरामाथि प्रश्न मैले नै उठाउनुपर्छ । मैले ‘नुमाफुङ’ मा त्यही गरेको हो । यदि त्यो फिल्म अर्को कुनै खसआर्यले बनाएको भए परिस्थिति उल्टो हुन्थ्यो । यो तहमा गएर हामीले हेरेनौँ भने समाजमा हार्मोनी भएको समाज सिर्जना गर्ने ठाउँमा हामी पुग्दैनौँ ।
विविधता भएको समाजमा जन्मिने फिल्ममेकरको सबैभन्दा ठुलो चुनौती के हो ?
यो चुनौती भन्दा पनि अवसर हो जस्तो मलाई लाग्छ । उसले धेरै विषय पाउँछ । तर अप्ठ्यारो चाहिँ बुझाइको समस्या हुन्छ । आफ्नो कुरा बुझाउन सङ्घर्ष हुन्छ । म तीस वर्षदेखि निरन्तर त्यही कुरा भनिरहेको छु । तर यही कुरा भन्दा पनि मलाई साम्प्रदायिक छ भनिरहेको हुन्छ । परम्परागत बुझाइभन्दा अलिक पर जाने बित्तिकै त्यसलाई निषेध गरिन्छ । सिनेमा कस्तो हुनुपर्छ भन्ने जुन धारणा मसँग छ त्यो विश्व सिनेमाको नजिक छ । यो चिज चाहिँ हाम्रो सिनेमामा काम गरिरहेको छैन है भनिरहँदा धेरैलाई त्यसले चित्त दुखाउँदो रैछ । त्यो बुझाउन नसकिरहेको मेरो चुनौती हो । तर म फेरी भन्छु जुन दिन हामीले यो विविधतालाई सेलिब्रेट गर्न सक्दैनौँ, हाम्रोमा समस्या भइरहन्छ ।
थोरै विकासको कुरा गरौँ न । गाडी जाँदा फाइदा पनि छ तर त्यसले ल्याउन सक्ने असरहरू पनि छन् । यो फिल्म बनाउँदै गर्दा तपाईँले नेपालको विकासलाई कसरी देख्नु भयो ?
नेपालको विकासले वातावरणमा पुर्याएको क्षति पनि ठुलो छ । तपाईँले बर्खामा पहिरो लडेको त देखिरहनुभएकै छ । तर यो फिल्ममा हामीले त्यो कुरा चाहिँ ल्याएनौँ । हाम्रो समाजमा धेरै समस्या छ । वर्गीय देखि जातीय देखि क्षेत्रीय सम्म । अनि त्यसमा पनि अर्को चिज के छ भने स्रोतमा पहुँच हुनेहरू सबैतिर छन् । अनि स्रोत कसको हातमा छ भन्ने कुराले धेरै कुरा निर्धारण गर्दो रहेछ । गाउँमा पनि स्रोत हातमा हुनेले आफ्नो फाइदाको लागि त्यो चिजहरूलाई प्रयोग गर्दोरहेछ । त्यही राई गाउँमा पनि स्रोतमा जसको पहुँच हुन्छ त्यसले विकासका सबै नयाँ आयामको उपयोग वा शोषण गर्न सक्दो रैछ । त्यो भित्र पनि स्रोतमा पहुँच नहुने फेरी सीमान्तकृत भएर जाँदो रहेछ ।
हाम्रोमा बेलाबेला चीनबाट रेल ल्याउने कुरा चल्छ । रेल आएपछि के आउँछ ? पक्का पनि उताको सामान । तर त्यो फर्किएर जाँदा यताबाट के जान्छ त ? त्यो फर्किएर जाँदा त्यसलाई भरेर पठाउने तयारी गर्नुपर्यो नि त । हाम्रो विकास रेल आउनुसित मात्र सम्बन्धित भयो । तर त्यो आएर मात्र हुँदैन है विकास त त्यो आएपछि सामान पठाउन सक्यो भने मात्र हुन्छ । त्यसरी यताबाट सामान भरेको कारणले गर्दा खेरी धेरैले लाभ लिन सक्छन् भन्ने बुझाइ मान्छेमा छैन । गाउँमा पनि त्यस्तै छ । सडकको कुरा पनि त्यस्तै हो । त्यहाँको उत्पादनहरूलाई पनि सही तरिकाले उपयोग गर्न सकिरहेको छैन ।
म रिसर्चकै क्रममा इलामको पौवासार्थप गएको थिएँ । पहिला उनीहरू चित्रा बुन्ने काम गर्थे । इलाममा गएर बेच्थे । त्यसपछि टिन आयो । त्यो आउनासाथ उनीहरूको पेशा विस्थापित भयो । उनीहरू टाटीको घर बनाउँथे । त्यो पनि विस्थापित भयो । त्यहाँ चोया बनाउन रोपेको स्थानीय बाँसको त्यस्तो विशाल स्रोत थियो । त्यो काम लागेन । सडक त पुग्यो तर त्यसको उपयोगको बारेमा कसैले पनि सोचेन । विकासले फ्लोरा र फोनामा पार्ने प्रभाव वा त्यसले मान्छेमा पुर्याउने प्रभावलाई भने हाम्रो विकासले ध्यान दिन सकेको छैन । यो केवल सडक पुर्याउनमा मात्र केन्द्रित छ । सडक नपुग्नु भनेको हैन तर त्यसलाई लग्दै गर्दा त्यहाँको सुझ्म पक्षलाई हेर्नुपर्छ अनि स्रोतको पहुँच हुनेहरूको हातमा सबै कुरा नपुगोस् भन्ने कुरा सोच्नुपर्छ । सडकको लाभ सबैमा पुर्याउने हो भने त्यहाँ रहेका स्रोतमा पहुँच नहुनेहरूको क्षमताको उपयोगमा पनि ध्यान दिनुपर्छ । उनीहरूको क्षमतालाई पनि सडकसँग जोडिदिनुपर्यो । सडक निर्जीव चिज भएर मात्र जानु भएन ।
तपाईँले अघि विस्थापनको कुरा गर्नुभएको थियो । यो विश्वभर चलिरहेको छ । अहिले काठमाण्डौमा पनि यो परिस्थिति देखिएको छ । यसमा के भन्नुहुन्छ ?
हामीलाई सफा सुन्दर काठमाडौँ चाहिएको छ । तर त्यो गर्दा ठेला हटाइयो । तर त्यसलाई विस्थापित गर्दा यो जनशक्ति कहाँ जान्छ भन्ने कुरा सोचिएन । हामी गरिब छौँ, स्रोतमा पहुँच छैन भन्दैमा सार्वजनिक क्षेत्र पनि हाम्रो हो भन्नेखाले दाबी गर्नु पनि गलत हो । तर जो निर्णय गर्ने ठाउँमा छ उसले के बुझ्नुपर्छ भने यसले एउटा अस्तव्यस्तता हटाउँदा अर्को अस्तव्यस्तता आउनसक्छ ।
हाम्रो विकासको सबैभन्दा ठुलो समस्या नै यो कुरा नबुझ्नु हो । स्रोतमा पहुँच हुनेहरू भन्दा नहुनेहरू एकदमै कमजोर हुन्छन् । त्यसलाई सही व्यवस्थापन गर्न सक्नुपर्छ । यसको मतलब फेरी सम्पन्न वा उद्योगपतिहरूलाई पेलिरहने अनि गरिबहरूलाई पक्षमा लागिबस्ने पनि हैन । राज्यले त सबैलाई उत्तिकै व्यवहार गर्नुपर्यो । तर सँगै कसैको कमजोरीको कारण चाहिँ बुझ्नुपर्छ । एउटा मान्छे किन अशिक्षित छ, किन अपाङ्गता छ त्यो कुरा भने राज्यले छुटाउनु भएन । त्यसको न्याय पनि त राज्यले दिनुपर्यो । हाम्रो विकासमा त्यो प्रतिबिम्बित भएको छैन ।
तपाईँले तिस वर्षभन्दा पहिलादेखि कथा भनिरहनुभएको छ । यो बिचमा धेरै परिवर्तन भइसके । तपाईँले भन्ने कथामा वा कथा भन्ने शैलीमा के परिवर्तन भयो ?
यसलाई परिपक्कता भन्ने कि के भन्ने तर केही कुरा परिवर्तन भएको छ । पहिला पहिला यस्तो कथा भन्दा हुन्छ होला स्विकार्छन् होला भन्नेजस्तो लाग्थ्यो । अहिले चाहिँ यो मेरो कथा हो मैले यस्तो कथा भन्नुपर्छ भन्ने ठाउँमा आइपुगेँ । मेरो कथा के हुन्छ अनि भन्ने शैली के हुन्छ भनेर खोज्नेठाउँमा आइपुगेको छु । पहिला अरूले चिनिदिउन् भन्ने जस्तो लाग्थ्यो, अहिले ‘हामी यो हौँ हेर’ भन्नुपर्ने ठाउँमा आइपुगेका छौँ ।
चरित्रहरू चाहिँ ?
वर्ल्ड सिनेमामा कुनै देश यस्तो हेर्न चाहेको भन्ने खाले एक्जोटिफिकेसन हुन्छ । नेपालीलाई यस्तो हेर्न चाहन्छ भन्ने खाले कुरा हुन्छ । त्यस्तोबाट चरित्रहरू अलिक बाहिर आएको छ जस्तो मलाई लाग्छ । पहिला पहिला त्यो गहिराइको चरित्रहरू थिएनन् अहिले चरित्रलाई अलिक गहिराइमा पुगेर हेर्न सक्ने ठाउँमा आइपुग्यौँ जस्तो लाग्छ ।
यो पनि पढ्नुहोस्:
कान्सजस्ता फिल्म फेस्टिभलमा पुग्न निर्देशकमात्र बलियो भएर हुँदैन : नविन सुब्बा
‘दि रेड सुटकेस’ साधारण कथाको इमानदार कथावाचन हो : फिडेल देवकोटा
फिल्म पनि सम्पदा हो भन्ने कुरा राज्यले बुझ्नुपर्छ : छिरिङ रितार शेर्पा