मकालु रिभ्यु

बार्बी सोध्छिन्- ‘यहाँ कुनै महिला सिइओ छैनन् ?’

केही दिन पहिला एउटा भिडियो खुब भाइरल भएको थियो । 

पाटनको दरबार स्क्वायरमा एक जोडी अँगालो मारेर बसेका रहेछन् । उनीहरुलाई स्थानीयले भेट्टाए । यो हाम्रो पूजा गर्ने ठाउँमा के गर्नुभएको भनेर गाली गरे । हप्काए । धपाए । 

हुन त उनले पूजा गर्ने भनेका धेरै मन्दिरमाथि यसै पनि अनेक आशनमा यौन सम्पर्क गरिरहेका भगवानहरू छन् । उनले त्यसलाई देखेनन् । देखे पनि काठका आकृति मात्र देखे । ती आकृति आजभन्दा सयौँ वर्ष पहिला बनेका भनेर देखेनन् । 

‘त्यहाँ भगवान् नाङ्गै छन् अब हामी पनि नाङ्गै हिँड्नु ?’ उनीसँग यो तर्क पनि त छ ।

जे होस् प्रेमीहरूलाई धपाउनेहरू शक्तिशाली हुने बेला हो यो । मलाई यसमा धेरै जानु छैन । ‘बार्बी’ फिल्म हेरेर त्यसको रिभ्यु लेख्न बसेको मान्छे यताउता भड्किन पनि भएन ।

तर उनले ती प्रेमीहरूलाई धपाउँदै गर्दा बोलेको एउटा वाक्य भने मनमा गढिरह्यो । उनले भने ‘हाम्रो छोरीचेलीहरू वरपर छन् । उनीहरूले देख्छन् ।’

उनले भनेको त्यो संवाद पनि सामान्य नै हो । कतिपल्ट सुनिइरहेको नै हो । तर पनि मलाई किन बिझायो ? ‘के उनी आफ्ना छोरीचेलीको इज्जतलाई जगेर्ना गरिरहेका छन् कि उनीहरूलाई आफ्नो अधिकार बनाइरहेका छन् ?’ 

उनले त्यहाँ ‘हाम्रो’ छोराचेला किन भनेनन् ? 

‘आफ्ना छोरीहरूलाई मात्र उनले आफ्नो इज्जत किन ठाने ?’

फिल्मको बारेमा लेख्न थालेको बेला बरालिएको हेर त । 

म सम्हालिएँ । हेरिसकेको फिल्म तिरै फर्किएँ । 

बार्बीको पिंक संसार सुन्दर छ । त्यहाँ उनको सबैथोक चल्छ । त्यहाँ उनले सपना देखे जति कुरा पाउँछिन् । त्यहाँ उनको अधिकार चल्छ । त्यहाँको संविधानले उनलाई चिन्छ । 

त्यहाँ उनलाई कसैले जोगाइदिनु पर्दैन । त्यहाँ उनको इज्जतलाई केही खतरा छैन । 

त्यहाँको स्टेजमा महिलाहरू पनि हुन्छन् । त्यहाँको पुरस्कारमा महिलाहरूको नाम पनि आउँछ । त्यहाँ देखिने ठाउँमा महिला छन् । त्यहाँ महिला सुनिन्छन् । 

उनी जब त्यस्तो संसारबाट एक दिन ‘रियल’ संसारमा आउँछिन्, उनले उता देखेका धेरैथोक भत्किन्छ । 

उनी यता आउनेबित्तिकै एउटा ठुलो होर्डिङ बोर्ड देख्छिन् । जहाँ अनेकौँ सुन्दरीहरू लामबद्ध उभिएका छन् । त्यो कुनै सुन्दरी प्रतियोगिताको विज्ञापन लाग्छ । 

उनले त्यसलाई देखेको बेला फेरी अर्को घटना सम्झिन्छु । 

मिस युनिभर्स इन्डोनेसियाबाट एउटा समाचार आएको थियो । त्यहाँ सहभागी युवतीहरूले आफूहरूमाथि यौन हिंसा भएको भनेर प्रहरीमा जाहेरी दिएका थिए । 

कसले गराइरहेको छ यो सुन्दरी प्रतियोगिता ? 

अनि कसले गरिरहेको छ शोषण ? 

हुन त सुन्दरी प्रतियोगिताले त्यसमा सहभागीहरूलाई दिएका अनेकौँ अवसरहरू होलान् । त्यहाँ शोषण मात्रै त भएको छैन होला । 

तर त्यहाँ पनि महिलामाथि नै शोषण गर्ने हिम्मत कसले दिइरहेको छ ?

फिल्मको सुरुवातमा बार्बीको संसारको बारेमा बताइँदै भनिन्छ ‘बार्बी क्यान बि एनिथिङ, विमन क्यान बि एनिथिङ ।’

तर यो कुरा उनले रियल वर्ल्डमा पाउन सक्दिनन् । रियल वर्ल्डमा त उनले आफूलाई बक्समा राख्न खोज्नेहरूलाई मात्र देख्न पाउँछिन् । 

अफिसमा सबका सब पुरुषहरू मात्र भएको पाउँछिन् । 

फिल्मको सुरुवातको एउटा दृश्यमा ‘यो बार्बीको घर हो केनको हैन’ भनिएको थियो । केन अर्थात् पुरुष । 

तर यहाँ त सबै घर केन नै केनको छ । केन नै बाहिर निस्किएर भन्दैछन् ‘’छोरी यति बेला जसरी पनि घर आऊ है ।

केन नै भनिरहेका छन् ‘तिमी एक्लै घुम्न नजाऊ है ।’

‘सन्तानको नागरिकता लिन आउनु छ भने श्रीमानलाई लिएर मात्र आऊ है ।’

‘हाम्रो इज्जत तिम्रो योनीमा छ है ।’

उनले रियल वर्ल्डमा भेटेका धेरै मान्छेहरू हाम्रै वरपरका मान्छे छन् । 

उनीहरू त्यही उमेरको पुरुषले बिहे गर्दा प्रशंसा गर्छन् तर त्यही उमेरकी महिलाले बिहे गर्दा जिब्रो टोक्छन् । 

जसरी बार्बी रियल वर्ल्डमा आउनासाथ र उनको क्षमता बढेको देख्नासाथ उनलाई बाकसमा हाल्न पुरुषहरू लागिपर्छन् । त्यसरी नै यहाँका केनहरू कुनै स्वलम्ब र बलियो युवतीसँग डराउँछन् । 

उनीहरूलाई घरमा नै थन्क्याउनुमा आफ्नो पुरुषार्थ ठान्छन् । 

‘मैले काम गरिरहेको छु तिमीले किन गर्नुपर्‍यो ?’ 

अनि बार्बीलाई रियल वर्ल्डको पुँजीवादले एउटा यौन वस्तुमा सीमित गर्न खोजेजस्तै महिलाहरूलाई उनीहरूको यौनिकतामा सीमित राख्न खोज्छन् । 

फिल्ममा एउटा बलियो दृश्य छ । 

बार्बीसँगै केन रियल वर्ल्डमा आएको हुन्छ । उता हुन्जेल उ महिलाको अधिकार स्विकार्ने मान्छे हुन्छ । तर यता आउनासाथ सबैतिर पुरुष नै पुरुष देखेपछि उसको पुरुषार्थ पनि जाग उठ्छ ।

उ पितृसत्ता सिकाउने किताब पढ्छ ।

मतलब यो रियल वर्ल्डमा पितृसत्ता जताततै सिकाइन्छ । जताततै पढ्न पाइन्छ ।

केही समय पहिला ‘म दामी छु’ गीतको भिडियो बनाउँदाको प्रसङ्ग सुनाउँदै गायिका समृद्धि राईले आफू निर्देशक भएर यस्तो गर्नु त्यस्तो गर्नु भनेको कुरामा पुरुष क्यामेराम्यानले ल ल गरिदिउँलाको भावमा हेपेर बोलेको सुनाएकी थिइन् । उनको अनुसार आज पनि पुरुषलाई कुनै महिलाबाट सञ्चालित हुनुपर्दा हीनताबोध हुन्छ । 

आफूभन्दा शक्तिशाली महिला देख्दा रिस उठ्छ । 

यताको सङ्गतले केन पनि त्यस्तै भएर निस्किन्छ । अनि किताबहरू पढेर पितृसत्ता बुझिसकेपछि भन्छ ‘तिमीहरू पितृसत्ताको पर्याप्त अभ्यास गरिरहेका छैनौ ।’

उसलाई जवाफ दिने मान्छे भन्छ ‘गरिरहेका छौँ ।’

यो मान्छे पनि हाम्रो समाजकै एउटा अनुहार हो । उ भनिरहेको हुनसक्छ;

‘मैले मन्त्रिमण्डलमा एकदमै न्यून महिला राखेको छु । मैले पितृसत्ता अभ्यास गरिरहेको छु ।’

‘मैले त प्यानलमा एउटा पनि महिला राखेको छैन । म पितृसत्ता अभ्यास गरिरहेको छु ।’

‘मैले मेरो अफिसमा एउटा पनि महिला राखेको छैन । महिलासँग काम गर्न गाह्रो हुन्छ ।’

‘मैले मेरो पार्टीको कोर कमिटीमा एउटा पनि महिला राखेको छैन ।’

‘मैले मेरो कोर टिममा एउटा पनि महिला राखेको छैन ।’ 

‘त्यस्ता कोही महिला छन् र टिममा राख्नलाई ?’

बार्बीलाई बक्समा हाल्न खोज्ने कर्पोरेट हाउसको प्रमुखलाई उनी ‘केनलाई पनि हाल्नुपर्छ’ भन्छिन् । उ जवाफ फर्काउँछ ‘हामीले पिर गरेको मान्छे केन हैन ।’

मतलब उसलाई केनको फैलावटसँग डर छैन । डर त केवल महिला शक्तिशाली भएकोमा मात्र छ । 

उनी बक्सबाट भाग्छिन् । भाग्दै जाँदा एक महिलालाई भेट्छिन् । पहिला उनले कर्पोरेटको प्रमुखलाई ‘यहाँ कुनै महिला सिइयो छैनन् ?’ भनेर सोधेकी थिइन् । तर महिलालाई भेटेपछि सोध्छिन् ‘भनेपछि यहाँ महिला पनि काम गर्छन् ।’ 

महिला जवाफ दिन्छिन् ‘वि डु मोर द्यान वर्क हियर ।’ अर्थात् हामी यहाँ कामभन्दा ज्यादा काम गर्छौँ । 

उनले भनेको कुराले फेरी पनि महिलाहरूले धेरै काम गरेको त नदेखिएको कुरा सम्झाउँछ । बुढा बुढी सँगै काम गर्ने भए पनि घरमा गएर खाना बनाउने काम बुढीले गर्नुपरेको भन्ने खाले धेरै लेख यसअघि नै आइसकेका छन् । 

यहाँ महिलाहरूले काम गर्छन् तर त्यो कामलाई गरेको ठानिँदैन । 

उनी पछि बार्बी वर्ल्डमा फर्किँदा केनले त्यसलाई केन वर्ल्ड बनाइसकेको हुन्छ । अर्थात् भएको एउटा महिलाको राज्य पनि पुरुषले हात लिइसकेको हुन्छ ।

त्यहाँ रियल वर्ल्डमा जस्तै सबैतिर पुरुष नै पुरुष भइसकेका हुन्छन् । त्यहाँ पहिला नोबेल पुरस्कार जित्ने महिलाहरूले आफूले जितेको कुरा बिर्सिसकेका हुन्छन् । अर्थात् पितृसत्ताले महिलाहरूलाई उनीहरू को हुन् भन्ने नै बिर्साइसकेको छ । 

त्यसपछि उनीहरू लडाइ लड्छन् । आफ्नो शक्ति फिर्ता ल्याउन डटेर लाग्छन् । र अन्तिममा फिर्ता पनि पाउँछन् । 

फिल्म सकिन्छ । 

तर यसले देखाएजस्तो सजिलो महिलाहरूलाई आफ्नो शक्ति फिर्ता ल्याउन छैन । त्यसमा फेरी पनि उनीहरूको इज्जतको पहरेदार गरिहरेकाहरूसँग लड्नु छ । उनीहरूलाई थोरै सफल हुनासाथ बक्समा हाल्न चाहनेहरूसँग लड्नु छ । पितृसत्ताको पाठ्यक्रम पढेर त्यसलाई नै पढाइरहेका हस्तिहरूसँग लड्नु छ । 

सामाजिक सञ्जालमा गाली गरिरहने कायरहरूसँग लड्नु छ ।

एउटा दृश्यमा बार्बी र केन रियल रियल वर्ल्डमा आएपछि सबै जना उनीहरूलाई घुरेर हेर्छन् । त्यति बेला बार्बी भन्छिन् ‘मेरो योनी छैन, उसको लिङ्ग छैन ।’

तर रियल वर्ल्डले उनीहरूलाई भनिरहन्छ ‘हैन हैन, हामीलाई त्यो कुरासँग मतलब छैन । हामीलाई त विभेद गर्नु छ । त्यसको लागि तिमी केटी जस्तो देखिएकै पर्याप्त छ ।’

ट्रेलर हेर्ने लिंक

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *