प्रतिनिधि सभा विघटन नगरेको भए वामपन्थी आन्दोलन ध्वस्त हुन्थ्यो : अध्यक्ष ओली
काठमाडौँ । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनालाई रोक्न आफूले प्रतिनिधि सभा विघटन गरेको बताएका छन् ।
मंगलबार नेकपा(एमाले) बागमती प्रदेश कमिटीको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनालाई रोक्न आफूले प्रतिनिधि सभा विघटन गरेको बताए । उनले प्रतिनिधि सभा विघटन नगरेको भए देशको वामपन्थी आन्दोलन ध्वस्त हुने बताए । उनले तत्कालीन समयमा आफूलाई झुण्ड्याएर मार्ने डोरी बनाइएको भन्दै आफूले संसद विघटन गरिदिएर सो डोरी छिनाल्दिएको बताए । उनले प्रतिनिधि सभा विघटनपछि पार्टीको सदस्यबाटै निकालिएका आफूहरुले संगठन बिस्तार र सुदृढ गरेर मजबुत र प्रमुख पार्टीको रुपमा पुनःस्थापित गरी प्रतिनिधि सभामा प्रवेश गरेको बताए । प्रतिनिधि सभा विघटन त्यस बेलाको अपरिहार्यता भएको उल्लेख गर्दै सो कदम राजनीतिक, संवैधानिक र संसदीय भएको जिकिर गरे ।
अध्यक्ष ओलीले माधवकुमार नेपाल वामपन्थी आन्दोलन समाप्त पार्नका लागि हदैसम्म गिरेको बताए । नेपालले दुई तिहाइको कम्युनिस्ट सरकार ढालेर प्रतिक्रियावादी र दक्षिणपन्थी सरकार बनाउन भोट दिएका बताए । उनले पार्टीका नेता,कार्यकर्ताहरु कहिलेकाहीँ राजनीतिक अलमलमा पर्ने गरेको भन्दै त्यसरी अलमलमा नपर्न आग्रह पनि गरे ।
यस्तो छ अध्यक्ष ओलीको भाषण संक्षेपमा
उनले भने, ‘हामीले पुष ५ गते प्रतिनिधि सभा विघटनको सिफारिस गर्यौँ । विघटन गर्यौँ । हामीले ठिक ठानेर गर्यौँ । ठिक भनेर गर्यौँ । ठिक थियो र ग¥यौँ । नगरी नहुने थियो र गर्यौँ । बिल्कुलै समसामयिक कदम चाल्यौँ । होइन भने हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो । ध्वस्त पार्ने षड्यन्त्र थियो । त्यस षड्यन्त्रलाई, हामीलाई झुण्ड्याउन जुन डोरी उनीहरुले तयार गरेका थिए, त्यो डोरी हामीले छिनाल्दियौँ । पुस ५ गतेको कदम भनेको त्यही हो । हामीलाई झुण्ड्याएर मार्ने जुन डोरी उनीहरुले बनाएका थिए त्यो डोरी हामीले काटिदियौँ । षड्यन्त्र छिन्यो । षड्यन्त्र छिनेपछि उनीहरु असाध्यै आत्तिए । उनीहरुले जे योजना गरेका थिए वर्षौंदेखि, उनीहरुलाई त्यही डर थियो प्रतिनिधि सभा भंग गरेर अर्को बाटो लिने हुन् कि भन्ने थियो । प्रतिनिधि सभा पुनःस्थापना भयो तर प्रतिनिधि सभा पुनःस्थापना भएर पनि केही पनि बिग्रिएन किनभने हामी माथि त्यतिबेलाको सबभन्दा ठूलो प्रहार के थियो भने संगठनात्मक प्रहार थियो । हाम्रो संगठन ध्वस्त पार्ने, चकनाचुर पार्ने र नेपालमा वामपन्थी आन्दोलन, परिवर्तनकारी आन्दोलन समाप्त पार्ने जुन योजना थियो त्यस योजनालाई हामीले, त्यसको फेरि प्रत्यक्ष सम्बन्ध छैन । त्यो संसद आफू केही होइन । संसदको आफैँमा त्यसको अस्तित्व त्यस्तो थियो ? होइन । त्यसका क्रियाशिल पात्रहरु जो थिए उनीहरुको षड्यन्त्र र त्यसको पृष्ठभागमा बसेका पुतली नचाउने कुसुलेहरु थिए । उनीहरुको हिसावले प्रतिनिधि सभा भंग गर्नै नहुने कुरा थियो । गर्नै नहुने काम थियो । किनभने त्यो गरिसकेपछि हामी जे गथ्र्यौं त्यसबाट हामीलाई समाप्त पार्ने उनीहरुको योजना खत्तम हुन्थ्यो । हाम्रो लागि त्यो नगरी नहुने अपरिहार्य थियो । त्यो राजनीतिक, संवैधानिक, संसदीय कदम थियो । मुख्य रुपमा त्यो प्रतिक्रियावादी षड्यन्त्रको विरोधमा जाने एउटा सचेत कदम थियो । त्यो चाल्नैपथ्र्यो । त्यसपछि हामी फागुन ११ मा फेरि प्रतिनिधि सभा पुनःस्थापना हुँदासम्म हामी प्रतिनिधि सभामा मजबुत रुपमा, फेरिपनि प्रमुख पार्टीको रुपमा प्रतिनिधि सभा पुनःस्थापना हुँदासम्म पुग्यौँ । विचरा माधव नेपाल । नाम त नलिए हुने हो । तर यो आन्दोलन समाप्त पार्नका निम्ति उनी यति तल गिरे । अदालत गए । कहाँ गएनन् ? के गरेनन् उनले ? र प्रतिक्रियावादी, दक्षिणपन्थी सरकार बनाए । दुई तिहाइ कम्युनिस्ट पार्टीको सरकार ढालेर यो पार्टीमा बस्दाबस्दै, यसको वरिष्ठ नेता हुँदाहुँदै पछाडीको सिटमा बसेर, पछाडीको ढोकाबाट घोसे मुन्टो लगाएर लुसुक्क गएर हाम्रो सरकार गिराउन भोट दिए । दक्षिणपन्थी सरकार बनाउन भोट दिए । कहाँसम्म गिरेका होलान् ।’