मिटर ब्याजमा सुनसरी जिप्रकाको सफलता, ४ करोड बढीको दाबी १ करोडमा सल्टियो !

काठमाडौँ । मिटर ब्याजबिरुद्धको सुनुवाईमा सुनसरी जिल्ला प्रशासनले ठूलो सफलता हात पारेको छ । जिल्ला प्रशासन कार्यालयमा परेको ४ करोड ६० लाख दाबी सहितको मिटरब्याजीबिरुद्धको उजुरी सुनसरी प्रशासनले १ करोड १० लाखमै टुङ्ग्याएको हो ।

आफू पीडित भएको भन्दै प्रशासन पुगेका धरानका इन्द्र मोक्तानको उजुरीमाथिको अनुसन्धान र छानबिनलाई टुङ्ग्याउँदै प्रशासनले पीडित पक्षलाई न्याय दिलाएको हो । पीडित मोक्तानका अनुसार उनले ४ वर्षअघि धरानकै मणिराज राईबाट ५४ लाख रुपैयाँ ब्याजमा लिएका थिए । आफूसँग दोहोरो कागज गराइएको बताउने मोक्तानले चेक बाउन्स समेत गराई ४ करोड ६० लाख दाबी गरेपछि मिटर ब्याजमा उजुरी हालेको बताए । मोक्तानले मिटर ब्याजका कारण तनावपूर्ण अवस्था निम्तेपछि सरकारले ल्याएको अध्यादेश बमोजिम न्यायको मागसहित सुनसरी प्रशासनमा उजुरी हालेको बताए । उजुरी उपर छानबिन पश्चात प्रशासनबाट आफूले न्याय पाएकोमा उनले खुशी व्यक्त गरे ।

यता सुनसरी प्रशासनले उक्त उजुरी छानबिन गरी टुङ्ग्याएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले प्राप्त कागजात र यथेष्ट प्रमाणका आधारमा मिटरब्याजी बिरुद्धको उजुरी उपर छिनोफानो गरी टुङ्ग्याइएको बताए । प्रजिअ पाण्डेले उजुरीसँग सम्बन्धित यथेष्ट प्रमाण जुटाउनसके पीडितले सहजै न्याय पाउने बताए । प्रजिअ पाण्डेले जिल्लामा ५ सय बढी मिटरब्याजका उजुरी परेको र छानबिनको क्रममा रहेको समेत जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयबाट अहिले २ सय भन्दा बढी उजुरीहरुको छानबिन गरिरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *