श्रम बजार : नेपाली जनशक्ति विदेशमा, विदेशी नेपालमा
आजदेखि विदेशी कामदारको स्वीकृति तथा इजाजत अनलाइनबाटै
काठमाडौं । नेपाली जनशक्ति विदेश गइरहेको बेला नेपालमा रोजगारी गर्ने विदेशी नागरिकको संख्या बढेको छ । पछिल्लो वर्ष श्रम स्वीकृति लिएर काम गर्ने विदेशी नागरिकको संख्या बढेको हो ।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार पछिल्लो दुई आर्थिक वर्षमा विदेशका विभिन्न देशबाट नेपालमा श्रम स्वीकृति लिएर काम गर्ने विदेशी नागरिकको संख्या ३७ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/८० मा विकास साझेदार कम्पनीको लगानीमा नेपालमा सञ्चालित परियोजना तथा विदेशी व्यावसायिक कम्पनीमा काम गर्न नेपालबाट श्रम स्वीकृति लिने विदेशीको संख्या दुई हजार ९९४ रहेको छ । जसमा नयाँ एक हजार ३६९ जना रहेका छन् भने श्रम नवीकरण गर्नेको संख्या एक हजार ६२५ जना रहेको छ । जब कि आव २०७८/७९ मा यो संख्या दुई हजार १८१ जना थियो । जसमा नयाँ ९५० जना थिए भने श्रम नवीकरण गर्ने एक हजार २३१ जना थिए । जुन संख्या आव २०७८/७९ को तुलनामा आव २०७९/८० मा ८१३ जना बढी हो ।
नेपालमा दक्ष श्रमिक नपाएको अवस्थामा विदेशी श्रमिक राख्न पाउने व्यवस्था अनुसार विदेशीलाई नेपालमा काम गर्ने अनुमति प्रदान गरिएको छ । विभागले सार्वजनिक गरेको तथ्यांकमा नेपालमा रोजगारीका लागि करिब ८० देशका नागरिकले श्रम स्वीकृति लिएकामध्ये सबैभन्दा बढी चिनियाँ नागरिक छन् । आव २०७९/८० मा नेपालबाट श्रम स्वीकृति लिएर काम गर्नेमध्ये दुई हजार २१ जना (६७ प्रतिशत) रहेका छन् । अन्य बेलायत, अमेरिका, जापान, दक्षिण कोरिया, अस्टे«लिया, भारत, श्रीलंका, बंगलादेश, जर्मनीलगायतका देशका रहेका छन् ।
श्रम ऐनमा नेपालमा सञ्चालन भएका प्रतिष्ठानले पाँच प्रतिशत मात्र विदेशी कामदार राख्न सकिने प्रावधान छ । नेपालमा रहेका एयरलाइन्स, इलेक्ट्रोनिक कम्पनी, खानेपानी, नहर तथा हाइड्रोपावर कम्पनीमा काम गर्न धेरै विदेशीले विभागबाट श्रम स्वीकृति लिने गरेका छन् । हाल नेपालमा ८९ वटा देशबाट रोजगारीका लागि विदेशी कामदार आउने गरेको विभागको तथ्यांकमा छ ।
स्वीकृति तथा इजाजत अनलाइनबाटै
सरकारले रोजगारीका लागि नेपाल आउने विदेशी कामदारको पनि अनलाइनबाटै श्रम स्वीकृति तथा इजाजत जारी गर्ने भएको छ । रोजगारीका लागि विभिन्न देशबाट आएका विदेशी कामदारको पनि अनलाइनबाटै श्रम स्वीकृति तथा इजाजत जारी गरिने श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ ।
शुक्रबारदेखि एकीकृत श्रम व्यवस्थापन सूचना प्रणाली (आइएलएमआइएस) सञ्चालनको तयारी भइरहेको छ । सेवाग्राहीले ‘आइएलएमआइएस डट डिओएलओएस डट जिओभी डट एनपी’मा गएर आवेदन दिनसक्ने विभागले जानकारी दिएको छ । ‘आइएलएमआइएस डट डिओएलओएस डट जिओभी डट एनपी’ प्रणाली सञ्चालनमा आएसँगै अब गैरनेपाली नागरिकले श्रम स्वीकृति तथा इजाजत अनलाइनबाटै लिनसक्ने विभागका निर्देशक मणिनाथ गोप बताउँछन् ।
श्रम स्वीकृति तथा इजाजत अनलाइनबाटै जारी गर्दा सबै देशबाट आएका कामदारको तथ्यांक रहने र उनीहरूको श्रम अवधि सकिएपछि सूचनामार्फत जानकारी हुने उनले जानकारी गराए । ‘अनलाइनबाट श्रम स्वीकृति जारी गर्न थालेपछि कुन क्षेत्रमा कस्ता विदेशी कामदार आउँछन् भन्ने तथ्यांक सरकारसँग हुनेछ । यसरी तथ्यांक राख्दा नेपाललाई फाइदा हुन्छ ।’ उनले भने, ‘हाल विदेशबाट आएजस्तै कामदार नेपालमा पाइन्छ कि पाइँदैन भन्ने तथ्यांक सरकारसँग हुन्छ । त्यही भएर अनलाइनबाट श्रम स्वीकृति जारी गर्नुपर्छ ।’
रोजगारीका लागि आउने विदेशी कामदारको दक्षताका आधारमा श्रम स्वीकृति जारी गरिने उनको भनाइ छ । साथै ट्रेड युनियन दर्ता÷नवीकरण, श्रमिक आपूर्तिकर्ताको दर्ता/नवीकरण, व्यवसायजन्य दुर्घटना विवरण दर्ता, श्रम अडिट पेस, प्रतिष्ठान दर्तालगायत विभागबाट भइरहेका कामसमेत अब अनलाइनबाट गर्न सकिने भएको छ ।