सीआईबीले कहिले बुझाउँदै छ ललिता निवासको अनुसन्धान प्रतिवेदन ?
काठमाडौँ । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ५५ दिनदेखि अनुसन्धान गरिरहेको छ । आइतबार जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउने गरी तयारी गरे पनि प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छैन ।
ब्युरोले जग्गा हिनामिना आरोपमा १८ जनालाई हिरासतमा राखेर ‘सङ्गठित किर्ते’ मुद्दामा अनुसन्धान गरिरहेको छ । ‘सङ्गठित किर्ते’ मुद्दामा आरोपितलाई पक्राउ गरेको ६० दिनभित्र अदालतमा मुद्दा दर्ता गर्नुपर्छ ।
सरकारले अधिग्रहण गरिसकेको १४७ रोपनी जग्गा माफियासँग मिलेर हिनामिना गरेको मुद्दा अदालतमा लैजान अब प्रहरी र सरकारी वकिलसँग ५ दिनको समय छ । आज ललिता निवासको अनुसन्धान प्रतिवेदन नआएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख अच्युतमणि न्यौपानेले जानकारी दिए ।
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा चारपटक कागजात किर्ते भएको केन्द्रीय अनुसन्धान ब्युरोको निष्कर्ष छ । २०४९, ०६२, ०६६ र ०६९ सालमा चारपटक सरकारी कागजात किर्ते गरेर बिचौलियाहरूले सरकारको नाममा रहेको जग्गा व्यक्तिको नाममा दर्ता गराएको सीआईबीको अनुसन्धानबाट थाहा भएको छ ।
शोभाकान्त ढकाल र रामकुमार सुवेदी समेतले योजनाबद्ध रूपमा कागजात किर्ते बनाएर तथा नक्कली मोही खडा गरेर १४७ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराएका हुन् ।
ब्युरोले पूर्व प्रधानमन्त्रीहरू माधवकुमार नेपाल र बाबुराम भट्टराईको ‘बयान कागज’ गरेको छैन ।