समाजवादी मोर्चाले भन्यो- संशय चिर्दै सातै प्रदेशमा घोषणासभा गर्छौँ

काठमाडौँ । समाजवादी मोर्चाले प्रदेश स्तरमा घोषणा सभाको आयोजना गर्ने भएको छ । सोमबार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा बसेको मोर्चाको बैठकले भदौ ८ गतेबाट प्रदेश स्तरमा घोषणा सभा गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपाका महासचिव नेत्रविक्रम चन्दले मोर्चाको बैठकमा समाजवादी मोर्चाको कामलाई प्रभावकारी बनाएर लैजाने बारेमा छलफल भएको बताए । उनले  भ्रष्टाचार विरोधी आन्दोलनलाई समर्थन गर्ने निर्णय भएको पनि बताए । ‘छलफल राम्रो भयो, तरङ्गमय वातावरणमा मोर्चा घोषणा भएको थियो । समय लम्बिँदा बाहिर के हो ? के हो ? भन्ने थियो । हामीले ८ गतेदेखि प्रदेशस्तरको घोषणा सभा गर्ने निर्णय गरेका छाैँ । भ्रष्टाचार विरोधी आन्दोलनलाई समर्थन गर्ने निर्णय भएको छ,’ उनले भने ।

बैठकपछि बोल्दै नेकपा (एकीकृत समाजवादी) का नेता प्रमेश हमालले घोषणा सभा ८ गते मधेस प्रदेशको वीरगन्जमा, १२ गते लुम्बिनीको बुटवल, १३ गते सुदूरपश्चिमको धनगढी, १४ गते कर्णालीको सुर्खेत, १५ गते गण्डकीको पोखरा, २३ गते बागमतीको हेटौँडा र २५ गते कोशीको विराटनगरमा घोषणा सभा गर्ने जानकारी दिए । बैठकमा समसामयिक राजनीति र समाजवादी मोर्चाको भूमिकाको बारेमा छलफल भएको उनको भनाई छ ।

उनले प्रदेश घोषणा सभामा प्रदेशका लागि समाजवादी मोर्चाको संयोजक तोक्ने निर्णय भएको पनि बताए । उनले भने, ‘समाजवादी मोर्चा नेपालका तेस्रो बैठक बस्यो । समसामयिक राजनीति र समाजवादी मोर्चाको भूमिकाको बारेमा छलफल भयो । सचिवालयमा गरेका निर्णयहरूको अनुमोदन गर्ने निर्णय भएको छ । समाजवादी मोर्चालाई प्रभावकारी बनाउने, समाजवादी मोर्चालाई शक्तिको रूपमा विकास गर्नुपर्छ र समाजवादी आन्दोलन अघि बढाउनुपर्छ भन्नेकुरामा छलफल भयो । हामीले ८ गते मधेसमा वीरगन्ज, १२ गते लुम्बिनीको बुटवलमा, १३ गते सुदूरपश्चिमको धनगढीमा, १४ गते कर्णालीको सुर्खेतमा, १५ गते गण्डकीको पोखरामा, २३ गते बागमतीको हेटौँडामा, २५ गते कोशीको विराटनगरमा कार्यक्रम गर्नेछौँ ।’

बैठकमा समाजवादी मोर्चालाई प्रभावकारी बनाउने, समाजवादी मोर्चालाई शक्तिको रूपमा विकास गर्नुपर्छ र समाजवादी आन्दोलन अघि बढाउनुपर्छ भन्नेकुरामा छलफल भएको छ । मोर्चामा सत्तारूढ नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल, नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सहभागी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *