प्रदीप गिरी कांग्रेसमा ‘कदमजम’ को पनि विचारक हुन् : शेरबहादुर देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले स्वर्गीय प्रदीप गिरी पार्टीमा कदमजम (कर्णाली, दलित, महिला, जनजाति, मधेसी) भित्र्याउने नेता भएको बताएका छन् ।
स्कुल अफ डेमोक्रेसीले स्वर्गीय नेता गिरीको स्मृतिमा सोमवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेता गिरी साँचो अर्थमा नेपालको पछाडि परेका समुदाय र क्षेत्रको नेता भएको दाबी समेत गरे । गिरीलाई बिपी पछिको समाजवादको व्याख्या गर्न सक्ने नेताको रूपमा चित्रण गर्दै सभापति देउवाले उनका विचारहरूलाई सबै राजनीतिक पार्टीहरूले अनुसरण गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । समाजवाद भनेको प्रजातन्त्रसहितको हुने कुरामा विश्वमा कहीँ पनि विमति नरहेको जिकिर गर्दै उनले त्यस विचारको पनि नेता गिरी पक्षपाती रहेको बताए ।
देउवा भन्छन्, ‘समाजवादबारे भन्ने हो भने उहाँ धेरैनै बुझेको मानिस हुनुहुन्थ्यो । वास्तवमा भन्ने हो भने बिपी पछाडिको समाजवाद बुझेको नेता, समाजको व्याख्या गर्न सक्ने, भन्न सक्ने नेता प्रदीप जी हुनुहुन्थ्यो । उहाँ पनि हाम्रो बीचमा हुनुहुन्न । त्यसैले उहाँले लेखेका कुराहरू छन् । उहाँका विचारहरू छन् । ती कुराहरूलाई हामीले, राजनीतिक पार्टीहरूले कम्पायल गरेर लैजानुपर्छ । प्रदीप गिरीजी बारे धेरै नेताहरूले भनिसक्नु भयो । मलाई केही भन्नु छैन । एउटा कुरा के छ भने प्रदीप गिरीजी समाजवादबारे धेरै ठुलो ज्ञान भएको व्यक्ति हो । उहाँ प्रजातन्त्रको पक्षमा हुनुहुन्थ्यो । प्रजातन्त्रसहितको समाजवाद उहाँले भन्नुभएको हो । संसारभरमा डेमोक्रेसीसहितको समाजवादलाई विश्वास गरिएको छ । त्यसैले डेमोक्रेटिक सोसलिज्म भने पनि हुन्छ । त्यसको पक्षपाती पनि हुनुहुन्थ्यो उहाँ । उहाँ चाहिँ धेरै ठुलो व्यक्तित्व हो नेपालको । काँग्रेसलाई कदमजम (कर्णाली, दलित, महिला, जनजाति, मधेसी) दिने व्यक्ति पहिलो व्यक्ति हुनुहुन्थ्यो प्रदीप गिरीजी ।’
सभापति देउवाले समाजवादबारे गिरीले धेरै कुरा बुझेकाले सोही मान्यताको आधारमा अघि बढ्न आवश्यक रहेको समेत बताए ।