एमाले नेतृत्वको सरकारले नै नेपालको सञ्चार क्षेत्रमा सुधार ल्याएको हो : केपी ओली
सुदूरपश्चिम क्षेत्रले नै नेपालको राणा शासन अन्त्यका लागि बिगुल फुकेको हो
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको सञ्चार क्षेत्रमा सुधार ल्याउन आफू नेतृत्वको सरकारको योगदान रहेको दाबी गरेका छन् ।
आफूले प्रधानमन्त्री भएका बेला अप्टिकल फाइबर र केबल कार बिछ्याउने कामदेखि सबै जिल्लाहरूमा फोरजी सेवा उपलब्ध गराउने अभियानलाई सफलतापूर्वक अगाडि सारेको हुनाले अहिले सञ्चार क्षेत्रमा नेपाल अलिक बलियो भएको ओलीको भनाई थियो ।
सांस्कृतिक समाज, नेपालले सोमबार काठमाडौँमा आयोजना गरेको सांस्कृतिक कार्यक्रममा बोल्दै ओलीले नेपालको सञ्चार क्षेत्रलाई अझै सुदृढ बनाउन जरुरी रहेको समेत बताए । उनले नेपालको सुदूरपश्चिम क्षेत्रलाई इतिहास, राजनीतिक, सांस्कृतिक क्षेत्रको जागरणको उद्गम क्षेत्रको रूपमा चित्रण गर्दै अब यो क्षेत्र पछाडि परिरहन नसक्ने बताए । दुर्गम सुदूरपश्चिम क्षेत्रको कमजोरी भए पनि अब त्यसलाई कनेक्टिभिटीको माध्यमबाट हटाउने कामले तीव्रता पाएको उल्लेख गर्दै अध्यक्ष ओलीले सो ठाउँ अब सहज ढंगले अघि बढ्ने बताए । उनले त्यहाँको देउडा संस्कृति हरेक नेपालीको आफ्नै संस्कृति भएको पनि बताए ।
ओली भन्छन्, ‘सुदूरपश्चिम प्रदेश सधैँ पछाडि परिरहन सक्दैन । आज सुदूरपश्चिम पनि कर्णाली, काली कर्णाली, यो प्रदेश, यो भेग पनि पछाडि परेको छ । तर यो सधैँ पछाडि पर्न सक्दैन । किनभने स्रोतहरूको हिसाबले, अनेक हिसाबले यसको कमजोरी भनेको एउटा दुर्गमता मात्रै हो । अब त्यस दुर्गमतालाई हामीले अनेक प्रकारका कनेन्टिभिटीहरु बाटाको कनेक्टिभिटी, हवाई यातायातको कनेक्टिभिटी, अब बिस्तारै हामीले केवल कारका कनेक्टिभिटी, अहिले सञ्चारका कनेक्टिभिटी आदिबाट हामी जोडिईसकेका छौँ । र, अरू कनेक्टिभिटी पनि हामीले जोड्नु छ । म प्रधानमन्त्री भएकै समयमा अप्टिकल फाइबर र केवल कार बिछ्याउने कामहरूदेखि लिएर सबै सबै जिल्लाहरूमा फोरजी सेवा उपलब्ध गराउने त्यो अभियानलाई सफलतापूर्वक अगाडि सारेको हुनाले अहिले सञ्चार क्षेत्रमा हामी अलिक बलिया भएका छौँ । अझै यसलाई सुदृढ गर्न जरुरी छ । सुदूरपश्चिम एउटा इतिहास बोकेको ठाउँ हो । संस्कृति बोकेको ठाउँ हो । कला बोकेको ठाउँ हो । राजनीतिक जागरणको हिसाबले अन्यत्र कहीँ भन्दा दशरथ चन्दका हजुरबुबाहरू जंगबहादुर राणाले १९०३ मा कोतपर्वबाट कब्जा गरेपछि नै दशरथ चन्दका हजुरबुबाहरूले नै विद्रोहको आगो सल्काउनु भएको थियो । त्यसै बेला । राणा शासनको विरोध गर्दै केही निर्वासनमा जानु भएको थियो । पहिलो सहिदको हिसाबमा सुदूरपश्चिम, राजनीतिक जाँगरको हिसाबमा पहिलो सुदूरपश्चिम । अहिले पनि त्यहाँको देउडा गीत । हर नेपालीको गीत हो ।’
त्यस अवसरमा अध्यक्ष ओलीले सुदूरपश्चिम क्षेत्रले नै नेपालको राणा शासन अन्त्यका लागि बिगुल फुकेको पनि स्मरण गराएका थिए । कार्यक्रममा देउडा संस्कृति झल्कने खालको सांस्कृतिक कार्यक्रम प्रदर्शन गरिएको थियो ।