तीन हजारले घट्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य एक महिनाको अवधिमा तीन हजारले घटेको छ । गत साउनको पहिलो साता प्रतितोला एक लाख १३ हजार एक सय रुपियाँ पुगेको सुनको मूल्य अहिले तोलामा तीन हजार घटेर एक लाख १० हजार तीन सय रुपियाँमा कारोबार भएको हो ।

साउनको पहिलो साता प्रतितोला साता एक लाख १३ हजार रुपियाँ पुगेको सुनको मूल्य त्यसपछि क्रमिक रूपमा घट्दै गएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उतारचढाव आउँदा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो ।

महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यले अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबारमा गिरावट हुँदा मूल्य क्रमिक रूपमा घट्दै गएको बताए । उनकाअनुसार लामो समयदेखि बढ्दै गएको सुनको मूल्यमा पछिल्लो उतारचढाव आएकाले बजार अस्थिर रहेको छ । गत जेठ महिनादेखि बढ्दै गएको सुनको मूल्य साउन दोस्रो सातादेखि क्रमिक रूपमा ओरालो लाग्दै आएको उनको भनाई छ ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार प्रतिऔँस सुनको मूल्य एक हजार ८८९ डलरमा कारोबार भइरहेको छ । अघिल्लो सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस एक हजार ९१२ डलरमा कारोबार भएको थियो । गत शुक्रबारसम्म घटेर प्रतिऔँस एक हजार ८९२.२६ डलरमा झरेको थियो । लगानीकर्ता सुनमा आकर्षित हुन छाडेपछि मूल्यमा क्रमिक रूपमा गिरावट हुँदै आएको बताएको छ ।

मूल्यमा सामान्य गिरावट हुँदै आए पनि स्थानीय बजारमा सुनको कारोबार न्यून अवस्थामा रहेको छ । सिजन नभएको मलमासका कारण नयाँ गहना नकिन्ने हुँदा पनि कारोबार नभएको व्यवसायीको भनाई छ । तिज लागेसँगै सुनको कारोबार बढ्ने व्यवसायीले अनुमान गरेका छन् ।

भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० मा ४३ अर्ब ८९ करोड ९८ लाख ९१ हजार रुपियाँको सुन आयात भएको छ । आव २०७८/७९ मा ४२ अर्ब ७० करोड ३८ लाख १३ हजार रुपियाँको सुन आयात भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *