बागमतीमा महाजलयात्रा (तस्बिरहरू)
काठमाडौँ । बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउनका लागि ‘नदी महोत्सव तथा महाजलयात्रा’ भएको छ । नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सीज् (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्डस क्लब कुपण्डोलको आयोजनामा शनिबार महाजलयात्रा भएको हो ।
नाराका उपाध्यक्ष शिशिर खनालले बागमती नदी सभ्यताको पहिचान, संरक्षण र संवर्द्धनका साथै र्याफ्टिङ र जल पर्यटनको उजागर गर्नका लागि र नदी महोत्सव तथा महाजलयात्रा गरिएको हो । ललितपुरको कुपण्डोलस्थित बाग्मती पुलबाट बिहान ७ः०० बजेदेखि सुरु भएको महाजलयात्रामा १५ वटा डुङ्गामार्फत जलयात्रा गरिएको छ ।
सामाजिक र धार्मिक इतिहास बोकेको सुन्दर र महत्त्वपूर्ण वाग्मती नदी ढलमा परिणत भएको भन्दै पछिल्लो समय अभियन्ताहरूले विभिन्न अभियान सञ्चालन गर्दै आएका छन् । बाजागाजासहित सुरु भएको महोत्सव तथा महाजलयात्रामा सबैलाई नदीनजिक पुर्याउने, नदीको अवस्था बुझाउने, नदी चिनाउने तथा तिनीहरूको सरोकार राख्ने अवस्था सिर्जना गराउने नाराले जनाएको छ ।