महानगर सबैको लागि हुनुपर्छ : मोहन राई
मोहन राईको पहाड घर भोजपुर थियो । तर वि. स. २०३५ सालमा उनी जन्मिँदा बुबाहरू झापाको गौरादह बसाइँ झरिसकेका थिए । उनका बुबा ब्रिटिस लाहुरे थिए ।
गौरादह तराई थियो । सम्म ठाउँ । भोजपुरको भन्दा शुख पनि थियो । बुबाको पेन्सन आउँथ्यो । उनीहरूको सात बिघा जग्गा पनि थियो । तर घर भएको ठाउँ बजारभन्दा टाढा गाउँमा थियो । गौरादहमा गाविस अफिस थियो । कुनै सरकारी काम पर्यो भने मात्र बजार पुगिन्थ्यो ।
बरु दमक नजिक पर्थ्यो । बजार बाहेकको अरू काम दमकमा हुन्थ्यो ।
उनको बुबा आमाको इच्छा उनी प्राइभेट स्कुल पढुन् भन्ने थियो । तर परिवार ठुलो थियो । एकजनाको कमाइले सबैलाई भरथेग गर्न मुस्किल हुने नै भइगयो । त्यसमाथि पनि बुबा सामाजिक राजनैतिक काममा ज्यादा समय दिन्थे । जनमुक्ति पार्टीसँग जोडिएर जनजाति आन्दोलन गर्थे । उनी पल्टनबाट फर्किएपछि भोजपुरको नागीको प्रधानपञ्च पनि भएका थिए ।
आमालाई परिवारको जिम्मेवारी बढी पर्थ्यो । जग्गाको कमाई गर्न ज्याला लगाउँदा पनि खर्च राम्रै निस्किन्थ्यो ।
प्राइभेट स्कुल टाढा थियो । नक्सामा पिच रोड भइसकेको तर यथार्थमा कच्ची नै बाटो थियो ।
त्यसैले उनी दमकमा पढ्ने भए । सानै उमेरदेखि डेरा गरेर पढ्न थाले ।
यसरी उनले घर छोडे । गाउँमा जन्मिए तर गाउँमा बस्न पाएनन् । त्यसले पनि उनलाई आफू जन्मिएको गाउँ आफ्नो जस्तो लागेन । दमक पछि गएको ठाउँ । त्यो पनि आफ्नो लागेन ।
सन् १९९७ मा एसएलसी सकेपछि काठमाडौँ आउने भए । नाइटबसले एकाबिहान काठमाडाैँमा उतारिदियो ।
उनलाई काठमाडौँ पनि सुरुदेखि नै आफ्नो लागेन । एकदमै कठोर लाग्यो ।
दुई वर्ष जति बस्दासम्म पनि उनलाई काठमाडाैँलाई वरपरको पहाडले न्याकिरहेको जस्तो लागिरह्यो । सपनामा जहिल्यै पहाडको फाँटहरू मात्र देखिरहे । निसास्सिएको महसुस भइरह्यो ।
उनी त्यो बेला सिनामंगलमा सानीमाको छोरी अर्थात् दिदीसँग बसे । कोठा साँघुरो थियो ।
उनलाई काठमाडौँ साँघुरो लाग्यो ।
त्यसमा पनि ठाउँ पत्ता लगाउन गाह्रो । कसैलाई केही कुरा सोध्दा पनि मान्छेले सजिलै जवाफ दिएनन् । अलिक पछि सोध्न पनि अप्ठ्यारो लाग्न थाल्यो । बाटो नै सोध्न पनि अप्ठ्यारो मान्नुपर्ने ठाउँ ।
काठमाडौँ उनलाई अप्ठ्यारो लाग्यो ।
उनको स्कुल पढ्दादेखिकै साथी पनि थिए एकजना । उनीहरूले एक दिन सल्लाह गरे । गाडी चढेर जहाँसम्म गाडी पुग्छ त्यहाँसम्म जाने सोचे । रत्नपार्कबाट चढे तर बस पुरानो बसपार्कतिर गयो र रोकियो । चढेको केही बेरमा नै यात्रा सकियो ।
त्यहीबिचमा एकजना दमकको अर्को दाइ काम विशेषले आएका थिए । उनीहरू बागबजारको भक्तपुर बसपार्कमा थिए । दाइको काम गर्नलाई ट्याक्सी चढेर रत्नपार्क जाने भनेछन् । ट्याक्सीले एक चक्कर लगाएर पुर्याइदिएछ । पछि थाहा भयो उसले त्यही पारी हो आकाशे पुलबाट जानु भनिदिएको भए पनि हुने रहेछ ।
यसरी काठमाडाैँले उनलाई अनेक थोक थमाइरह्यो । मानिस मानिस बिचको अन्तरसम्बन्ध पनि फरक बताइरह्यो । एक अर्काले व्यवहार गर्ने कुरामा स्वार्थ रहेको आभास दिइरह्यो ।
उनलाई मजाक गर्न मनपर्ने । यता त त्यसो गर्दा पनि कसले के भन्ने हुन् भन्ने लाग्न थाल्यो । फरक फरक ठाउँबाट आएका मान्छे । तीनको लबज फरक लाग्यो । अनि उनीहरू एक अर्काप्रति कम सहज भएको जस्तो पनि लाग्न थाल्यो ।
यता आउनासाथ पैसाको मूल्य पनि घट्यो । दमकमा हुँदा उनी समोसा र चिया खान्थे । थोरै पैसाले पनि पुग्थ्यो । यहाँ त्यति पैसाले पुग्न छोड्यो ।
यता आएर बस्दै जाँदा उनले अरू पनि फरक फरक कुरा देख्न थाले । उनीभन्दा पहिला आएर बसेका मान्छेहरू पनि उनी जस्तै खाले सङ्घर्ष गरिरहेको उनले देखे । बाहिरको मान्छेलाई यहाँ भएका मान्छेले कहिल्यै स्विकार्दैनन् कि भन्ने भय सधैँ भइरहेको देखे । यहाँका रैथाने वर्गले आफूलाई सामन्ती सोच्ने गरेको देखे । उनीहरूको आफ्नै पाराको संसारले बाहिरबाट आएका मानिसको संसारलाई मन नपराएको देखे ।
उनले महानगरको नयाँ नयाँ अनुहार देखे ।
त्यहीबिचमा एउटा घटना भयो । उनको एकजना साथी थियो । स्कुल हुँदादेखिकै । त्यो बेला काठमाडाैँमा पजेरो गाडी भर्खरै देखिएको थियो । त्यसको चर्चा खुब हुन्थ्यो । एक दिन उनीहरू हिँडिरहेको बेला त्यो कतै पार्क गरिएर राखिएको थियो । साथीले पजेरो रहेछ भनेर छोए । उनले गाडिभित्र कोही होला भनेर सोचेका थिएनन् ।
अचानक गाडीको सिसा खुल्यो । भित्र गाडीको मालिक रहेछन् । उसले सिसा खोले अनि छोएकोमा उनीहरूलाई गाली गरे । उनको साथी पनि हक्की । एकैछिनमा भनाभन भयो । साथीले गाडीको मालिकलाई कुटिहाले । पुलिसकोमा पुग्नुपर्यो । धन्न पुलिसले सहयोग गरे । सम्झाए । उनीहरू छुटे ।
त्यो घटनाको प्रभाव पनि उनको दिमागमा सधैँ रहिरह्यो । उनको लागि त्यो एक बिम्ब भइरह्यो ।
उनलाई सानो हुँदादेखि नै फिल्म बनाउन मन लाग्थ्यो । उनी पाँच छ कक्षामा पढ्दा नै कथा कविता लेख्थे । स्कुलमा हुने प्रतिस्पर्धाहरूमा भाग पनि लिन्थे । त्यो बेला फिल्मको ज्ञान थिएन तर फिल्म हेरेको अनुभव थियो ।
उसको साथी कुलराज भट्टराईका बुबाको दमकको पाथीभरा हल थियो । अरू व्यापारीहरूसँग सेयरमा थियो क्यार । पछि दमक चलचित्र मन्दिरमा पनि उनीहरूले सेयर लिएछन् । साथीको नजिक भएको कारण उनको सिनेमामा पहुँच बढ्यो । भारतीय निर्देशक मणिरत्नमको ‘बम्बे’ फिल्म लागेको थियो । त्यसले उनको दिमागमा प्रभाव बसायो ।
सँगै साथीको बुबाले तुलसी घिमिरेले निर्देशन गरेको एउटा फिल्ममा पनि पैसा हालेका थिए । उनको साथी तुलसी घिमिरे घरमा आएको भनेर सानसँग सुनाउँथे । पछि उनी काठमाडौँ आएपछि साथीको बुबाले दिएको पैसा ल्याएर फिल्म बनाउने क्रममा श्रवण घिमिरेलाई पैसा पनि दिन पाएका थिए ।
फिल्म बनाउने त्यो रहर मनमा कतै जिउँदै थियो । तर काठमाडाैँको नयाँ यथार्थमा कतै दबेको थियो ।
सिनामंगलमा दिदीसँगै बसिरहेको बेला एकपल्ट उनको झापाकै साथीसँग भेट भयो । साथी कमाउन थालिसकेका रहेछन् । उनी प्लस टु नै पढ्दै थिए । साथीले उनलाई दुई जना मिलेर सँगै बसुम भने ।
उनीहरू नयाँ ठाउँ सरे ।
हिँड्नेबेलामा ठुलीआमाको छोरीले भनिन् ‘मैले तँलाई जा भनेको हैन । तँ आफैँ जाँदैछस् । यदि गाह्रो भयो भने तँ जसरी गएको छस् त्यसरी नै आए हुन्छ ।’
साथीको मार्केटिङको काम थियो । सुरुमा त सबै कुरा सजिलै भएको थियो । तर पछि उसको काम ओरालो लाग्यो । उनले एक्लै बस्न छोडेको घरमा भनेका थिएनन् । दिदीसँग बस्ने गरी घरबाट आएको पैसा कम भयो । पैसा त ठ्याक्कै सकियो । चामल पनि छैन । तरकारी पनि छैन । भात कसरी खाने ?
उनीहरूले उपाय लगाए । पालैपालो आफ्नो मान्छेकोमा गएर भात खाने । बेलुका आफ्नो कोठामा आएर सुत्ने ।
यसरी बाह्र कक्षा सकियो ।
काठमाडाैँको रसियन कल्चरल सेन्टरमा आभास (एकेडेमी अफ अडियो भिज्युअल आर्ट्स एन्ड साइन्सेज्) भन्ने फिल्म मेकिङको तालिम खुल्यो । त्यसको इन्ट्रक्टर दीपेन्द्र गौचन थिए । त्यो थाहा पाएसँगै उनको फिल्म बनाउने चाहना ब्युँतियो । उनी पढ्न थाले । अर्का चर्चित नेपाली निर्देशक मनोज पण्डितले त्यहाँ नै पढ्थे ।
उनले त्यतिबेलासम्म फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया पुनेको बारेमा पनि सुनिसकेका थिए । त्यहाँ ब्याचलर सकेपछि मात्र जान पाइन्छ भन्ने थाहा थियो । तर आभासको कक्षा लिन थालेपछि भने बेचैनी बढ्यो । जता भए पनि जान्छु सोचे ।
उनलाई मिलेसम्म विदेश नै जाने रहर थियो । दीपेन्द्रले पनि त्यही सल्लाह दिएका थिए । अस्ट्रेलियाको एउटा इन्स्टिच्युट छानेर फी पनि तिरिसकेका थिए । तर अन्तिम अवस्थामा आभासका अन्य गुरु र साथीभाइले बाहिर पढेर आउनु राम्रो हो तर त्यो नेपालको लागि उपयुक्त हुँदैन भनिदिए । उताको साधन र प्रविधी यता नहुँदा सिकेको अनुसार फिल्म बनाउन गाह्रो हुन्छ भनिदिए ।
बरु भारतकै एसिएन एकेडेमी अफ फिल्म एन्ड टेलिभिजन फेला पर्यो । उनले इमेल पठाए । उनीहरूलाई विद्यार्थी चाहिएको रहेछ । उनीहरूले नै तारन्तार इमेल पठाइरहे । एडिटिङ, राइटिङ डिरेक्सन, सिनेमाटोग्राफी आदि पढाउने भनिएको थियो । उनी एक वर्षको डिप्लोमा पढ्न त्यहाँ जाने भए ।
घरमा कुरा गरे ।
बुबाले पैसा दिँदै भने ‘हेर छोरा म तँलाई फिल्म पढ्ने पैसा त दिँदै छु, फर्किएर फिल्म बनाउने पैसा चाहिँ नमाग है ।’
तर उनी त्यहाँ पुरै अडिएनन् । सम्पादनको काम सिके र तीन महिनामा नै फर्किए ।
नेपाल फर्किएर फेरी अलमल भयो । केही कुरा जानेका थिए तर त्यो पूर्ण सिप बनिसकेको थिएन । बरु नेपाली सिनेमाको इतिहासको बारेमा केही लेख्ने रहर भयो । काम थाले पनि । तर भनेजस्तो जानकारी पाएनन् । बरु त्यसक्रममा भेटेका सिनेमाका मान्छेहरूको अन्तर्वार्ताहरू समेटिएको ‘जुक्टापोजिसन’ नामको भन्ने किताब बनाए । त्यसमा केही छानिएका नेपाली फिल्ममेकरहरूको अन्तर्वार्ता थियो । चेतन कार्की, नवीन सुब्बा, छिरिङ रितार आदिको नाम त्यहाँ थियो ।
फेरी जीवन उनी पुरानै लयमा फर्कियो । सुरुमा क्याम्पियन कलेजमा ब्याचलर पढ्न थाले । एक वर्षपछि पशुपति कलेज चाबहिलमा सारे । बाँकी काम सकाए ।
ब्याचलर सकियो । अझै पनि फिल्म बनाउने रहरले लय समातेन ।
बरु फोटोकपी गर्ने तथा डिबी भर्ने पसल खोले । चलेन ।
विज्ञापन बनाउने कम्पनीमा पाँच हजार तलब लिनेगरि काम गरे । त्यसले पनि आँत भरेन ।
काठमाडौँ पोस्टमा पत्रकारिता गरे । त्यसले पनि रहर पुर्याएन ।
त्यसपछि एउटा डेनिस कम्पनीमा काम गरे । त्यसले पनि बाटो बनाएन ।
तर ती काम गरेको अनुभवले एउटा हिम्मत भने दियो । उनले ‘मिडिलवे फिल्मस्’ नामको कम्पनी खोले । एनजिओको भिडियो बनाउन थाले । कमिसनका काम गरे । बिहे खिचे । सर्ट फिल्महरू बनाए ।
त्यसपछि भने काठमाडौँ आएदेखिको उनको अनुभवले भित्रभित्रैबाट उमारिरहेको एउटा कथाले फिल्म बन्ने रहर गर्यो ।
त्यसपछि ‘महानगर’ले आफ्नो बाटो बनाउन थाल्यो ।
यसको कथा उनको मनमा धेरै पहिलादेखि थियो । कुनै विशेष घटनाले भन्दा पनि उनको समग्र काठमाडौँ बसाइले त्यसलाई कोरेको थियो । बाहिरबाट आएर काठमाडाैँमा आएका मान्छेको कुनै न कुनै कथा उनलाई भन्न मन थियो ।
त्यसलाई उनले केही मान्छेलाई सुनाए ।
उनी रङ्गमञ्च गइरहन्थे । शिल्पी थिएटरसँग केही प्रोजेक्ट पनि गरेका थिए । उनी एक दिन शिल्पीमा पुगेका थिए । रङ्गमञ्चमा प्रोडक्सनको काममा रुचि बढाइरहेका गोविन्द पराजुली पनि त्यतै रहेछन् । उनीहरूको भेट भयो । कुरा भयो । दुवै हौसिए ।
सन् २०१४ तिर उनी त्यसलाई लेख्न बसे । २०१६ तिर यसको बनाउने काम सुरु भयो ।
‘लेख्न थाल्दाको महानगर र लेखिसकेको महानगरमा के फरक थियो ?’ यति कथा सुनिसकेपछि मैले उनलाई प्रश्न सोध्न थालेँ ।
‘म अलिक अनस्ट्रक्चर्ड तरिकाले लेख्छु । यसको कन्टेन्ट यस्तो हुनुपर्छ भनेर सोच्दिनँ । त्यसैले सुरुवातमा मैले के सोचेको थिएँ र के भयो भनेर तुलना गर्न गाह्रो हुन्छ । तर मैले जे आउनुपर्छ भन्ने सोचेको थिएँ, त्यो भने फिल्ममा आयो जस्तो लाग्छ ।’
उनले जवाफ दिए ।
त्यो भनेको कस्तो ?
बाहिरबाट मान्छे सुरुमा काठमाडौँ आउँदा उसको सोल वा आत्मा इनोसेन्ट र अनकरप्टेड हुन्छ । त्यस्तो मान्छेले यहाँ के के कुरा भोग्छ भन्ने नै मैले लेखेको हुँ । चलाख मान्छे हो भने उसले अनेकथोक गर्छ । तर आफ्नो बुझाइसँग कम्प्रोमाइज गर्न नमान्ने मान्छेको भोगाइ कस्तो हुन्छ त भन्ने कुरा यो फिल्ममा छ । महानगरमा ‘सेकेन्ड ग्रेड रेसिडेन्ट’ भएर बाँच्नुपर्दा जसरी आत्मसम्मानमा ठेस पुग्छ त्यो यहाँका चरित्रमा देखिन्छ । यहाँ सङ्घर्ष गरिरहेको मान्छेको वरपर साथीहरू र आफन्त त हुन्छन् तर उनीहरू आफैँ आफ्नो सङ्घर्षमा हुन्छन् । म आफैँ पनि काम परेर पैसा माग्न कसैकोमा जाँदा उसको हालत मेरो भन्दा फरक छैन भन्ने देख्छु । मलाई मेरो कुरा भन्न मन लाग्दा कोही साथी अफिसको काममा दौडिरहेको हुन्छन् । आफ्नै गाउँको नाताहरू वरपर भएर पनि शहरमा त्यो मान्छे एक्लो हुन्छ । शहरमा बस्ने मान्छेमा मोरल डिलेमा छ । तर त्यसको साथसाथै शहर भनेको झुरै चिज हो वा छोडेर जानुपर्छ भन्ने आशय पनि हैन । फिल्मले आशा चाहिँ छोडेको छ ।
सुरुमा आउँदा त गुम्स्याएछ, अहिले तपाईँलाई काठमाडौँ कस्तो लाग्छ ?
अहिले पनि पुरा आफ्नो त लाग्दैन । खासमा मलाई सेन्स अफ बिलङगिङनेस कतै पनि छैन । तर अहिले पहिलाभन्दा सहज भने छ । तर आफ्नो काम गर्ने सवालमा वा आर्थिक जीविकोपार्जनको हिसाबले सहज भए पनि म आउटसाइटर नै छु ।
शहरको के चिजले मान्छेलाई त्यस्तो बनाउँछ ?
शहरको चरित्र नै त्यस्तो होला । मान्छे नचाहँदा नचाहँदै त्यस्तो हुन्छ । उसलाई कहिले त्यस्तो हुन्छ भन्ने थाहा नै हुँदैन । ग्रामीण क्षेत्रमा भएको मूल्यमान्यता वा रहनसहन फरक हुन्छ । हुन त अन्तको इतिहास हेर्दा पनि शहरको एउटा चरित्र हुन्छ । त्यो चरित्र भएर नै शहर सहर भएको हुन्छ । यदि त्यसो नहुँदो थियो भने पनि त्यो गाउँ नै हुन्थ्यो । यसलाई बिम्बको रूपमा मानव सभ्यताको प्रगतिको रूपमा पनि लिन सकिएला । यहाँ शुख हुन्छ वा कल्चर्ड सोसाइटी हुन्छ पनि भनिएला । तर त्यो प्रोसेसमा हामी मान्छेले हाम्रो सोलको प्युरिटीलाई गुमाइरहेका त छैनौँ भन्ने कुरालाई पनि सम्झिनुपर्छ । मैले यो फिल्ममार्फत त्यही कुरा उठाइरहेको हुँ ।
शहरले गुमाउँदै गएको कुरा के हो ?
हुन त यो राजनैतिक स्टेटमेन्ट जस्तो सुनिएला । तर हामीले यो महानगर कसको लागि महानगर हो वा यो देश कसको लागि देश हो भन्ने प्रश्न आफूलाई सोध्नुपर्छ । हुन त म मेयर बालेन शाहको कामको प्रशंसक हो तर सामान्य मकै पोलेर बेच्ने वा सब्जी बेच्ने वा नाङ्लामा पसल थाप्ने मान्छेहरूले उहाँको कारणले गर्दा जुन दुःख भोगिरहनुभएको छ, त्यो एउटा ठुलो बिम्ब हो । उनीहरूको पनि त यो महानगर हो नि त । मैले के भन्न खोजेको भने चाहिँ राज्य र समाजले सबैभन्दा कमजोर वर्गको लागि पनि सोच्नुपर्छ । स्रोत बाँडफाँड गर्दा उनीहरू पनि छन् है भनेर भुल्नुहुँदैन । उनीहरूको मुद्दाले आवाज पाइरहेको हुँदैन । तर यहाँ बस्ने सबैभन्दा कमजोर र गरिब बासिन्दाको लागि पनि यो महानगर त्यति नै हो जति यहाँ हुनेखानेहरूको लागि हो । यो सहरको सुविधा र सम्पन्नता उनीहरूको पहुँचमा पनि हुनुपर्छ । एउटा मान्छे गाडी भित्र छ । अर्को सडकमा लखेटिइरहेको छ । यो पनि एक प्रकारको एलिनेसन हो । यसले के देखाउँछ भने हामी एक मानिसको रूपमा अझै करप्ड भइरहेका छौँ । सभ्यता माथि माथि गइरहेको छ भन्दै गर्दा हामी एकदमै एलिनेटेड भइरहेका छौँ ।
नेपालमा रिलिज हुनुपूर्व यो फिल्म धेरै महोत्सवहरूमा पुगिसकेको छ । यो फिल्ममा भएको कथा वा चरित्रलाई अरूतिरका मान्छेहरूले कसरी हेरे ?
त्यसरी कसैले यसरी हेरेँ नै त भनेका छैनन् । तर कतिपयले चाहिँ मैले त्यो केटी पात्रसँग आफूलाई रिलेट गरेँ भनेका छन् । विदेशी अडियन्सले यसलाई एकदमै राम्रो एप्रिसिएड गरेका छन् ।
तपाईँले माथि सुनाएको आफ्नो कथालाई फिल्ममा कसरी ल्याउनुभयो ?
हामीले बसपार्कको कुनामा रातीको एउटा दृश्य खिचेका छौँ । त्यो खुशी नाम गरेकी चरित्रको सबैभन्दा पेनफूल मोमेन्ट पनि हो । र उसले आफ्नो शहरको बसाई वा भोगाई त्यही दृश्यमा भनेकी छ । उ एकदमै एक्लो महशूस गरिरहेकी छ । उसले ‘म यहाँ बस्दिन गाउँ नै फर्किन्छु’ भनेकी छ । सहरमा मान्छे भ्रष्ट हुन्छ वा उसको सोल करप्ड हुँदै जान्छ । अनि त्यो मान्छे हेल्पलेस हुन्छ । उसले त्यो कुरा त्यहाँ भनेकी छ । सँगै लाइन वा सेपहरूबाट पनि हामीले धेरै कुरा बताउन खोजेका छौँ । सुरुमा धेरै भएका लाइनहरू पछि पछि घट्दै जान्छन् । सुरुमा बारहरू देखाएका थियौँ । ती पनि हराउँदै जान्छन् ।
तपाईँको फिल्मको महानगर वा हामी बसिरहेको वास्तविक महानगरमा एकदमै धेरै असमानता देखिने ठाउँहरू के के हो जस्तो लाग्छ ?
यो मेरो लागि गाह्रो प्रश्न हो । कुनै पनि समाजको सामाजिक आर्थिक अवस्थाहरूबारेमा व्याख्या गर्ने खुबी मसँग छैन । तर बिहान बिहान न्युजपेपर पुर्याउन आउने, सब्जी बेच्न आउने, भर्खरै एस कुमारको गीतमा देखिएको दृश्य जस्तो मकै पोलेर बेच्ने व्यक्तिहरूलाई देख्दा मलाई अहिले पनि भिज्युअलल्ली स्ट्राइक भइरहन्छ । मैले कुनै कामलाई सानो ठुलो बनाउन खोजेको हैन तर त्यो सहरमा भएको असमानताको बिम्ब हो जस्तो मलाई लाग्छ ।
महानगरमा यतिको समय बसेपछि अनि त्यही शीर्षकमा फिल्म बनाइसकेपछि अब तपाईँलाई कस्तो मान्छेको ब्याकस्टोरी मज्जाले भन्न सक्छु जस्तो लागेको छ ?
जब म जवान मान्छेहरू देख्छु, कसैको आँखामा सपना देखिन्छ । जसले बिहान बिहान पत्रिका पुर्याइरहेकोछ, दूध पुर्याइरहेको छ । ऊसँग एउटा सपना छ । हुर्किने चाहना छ । बाउआमाले पढाउन सक्दिनँ भन्दा पनि उ आफैँ दुख गर्छु भनेर आइरहेको होला । राती हेर्ने हो भने डान्स बार वा रेस्टुरेन्टहरूमा काम गर्नेहरू होलान् । हुन त गाउँ पनि आइडियल छ भन्ने पनि हैन । त्यहाँ मात्र माया, प्रेम वा स्नेह हुन्छ भन्ने पनि हैन । तर आर्थिक विपन्नताको साइकोलोजिकल असर हुन्छ । म त्यो अनुमान गर्न सक्छु । त्यो बाट फुत्किनको लागि शहरमा सजिलो छैन तर उसलाई यति थाहा छ कि सहरमा उसलाई फ्रिडम हुन्छ । सुविधा हुन्छ । वा उसको जीवन पहिलाभन्दा वेटर हुन्छ । त्यही भएर नै सायद उ आएको छ । कुनै हिसाबले उसलाई गाह्रो पनि होला । उ कम्प्रोमाइज्ड लाइफ बाँचिरहेको पनि छ होला । त्यो उसलाई पनि थाहा छ । मोर अर लेस उ खुशी छ ।
म बरालिएँ । मैले उत्तर दिएँ कि दिइनँ थाहा छैन ।
विषय मोडौँ न त । शहरको मान्छेको खुसीलाई कसरी हेर्नुहुन्छ ?
हुन त यो अलिक सब्जेक्टिभ कुरा पनि हो । मैले मलाई म खुशी छु भनेर हेरेँ भने खुशी हुँला । वा खुशी वा दुखी हुनु आफैँमा पनि महत्वपूर्ण कुरा हैन । तै पनि एउटा अब्जर्भेसन गर्ने हो भने उनीहरू पनि खुशी छैनन् जस्तो लाग्छ । उनीहरूको पनि आफ्नै पीडा होला ।
एक चरित्रको रूपमा शहर र फिल्मको सेटिङको रूपमा शहरमा के फरक हुन्छ ?
यसको आफ्नो आफ्नै सजिलो र अप्ठ्यारो होला । चरित्रको रूपमा सहरलाई बुझ्ने हो भने यसलाई मानवीय रूपमा बुझ्नुपर्छ । त्यसपछि तपाईँ यसलाई एक मानवको रूपमा बुझ्न वा स्विकार्न थाल्नुहुन्छ । तर यसलाई सेटिङ मात्र बनाउनुहुन्छ भने त्यही चरित्रको विभिन्न डाइमेन्टसनहरू देखाउने ठाउँ पनि हुन्छ होला । शहर भित्र जे हुन्छ वा जस्ता पात्र चरित्र कथा वा आयामहरू हुन्छन्, त्यो कुरालाई एक्सप्रेस गर्न सेटिङ बनाउँदा सहज हुन्छ ।
सरकारले शहरलाई के को रूपमा हेर्नुपर्छ ? चरित्र कि सेटिङ ?
सरकारले त सेटिङको रूपमा नै हेर्नुपर्छ होला ।
महानगर फिल्मको ट्रेलर
यो पनि पढ्नुहोस्:
हाम्रो विकास सडक पुर्याउन मात्र केन्द्रित भयो : नविन सुब्बा
फिल्म पनि सम्पदा हो भन्ने कुरा राज्यले बुझ्नुपर्छ : छिरिङ रितार शेर्पा