अमेरिकी संसदीय प्रतिनिधिमण्डलले भेटे राष्ट्रपति पौडेललाई
संयुक्त राज्य अमेरिकाको संसदीय प्रतिनिधिमण्डलले बिहिबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेको छ।
मार्क पोकनको नेतृत्वमा आएको अमेरीकी सांसदहरूको प्रतिनिधिमण्डलले राष्ट्रपति भवन शीतल निवासमा सो भेटवार्ता गरेका हुन्।
भेटमा राष्ट्रपति पौडेलले समाजमा मानवीय मूल्य कायम गर्नका लागि सबैभन्दा पहिले लोकतन्त्र स्थापित हुन जरूरी रहेको बताउँदै पछिल्लो समय लोकतन्त्रको स्थापनासँगै नेपालमा नयाँ संविधानले समावेशी प्रावधानसहितका मानवीय मूल्यहरूलाई स्थापित गरेको धारणा व्यक्त गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
राष्ट्रपति पौडेलले लोकतन्त्रका लागि लामो समय संघर्ष गरेका कारण विभिन्न सीमान्तकृत समुदायका समस्याहरू महसुस गर्न सकेका कारण नै नयाँ संविधानमा मानवीय मूल्यका ती व्यवस्थाहरू समेट्न सकिएको सन्दर्भ उल्लेख गरे।
‘लामो संघर्षपछि नेपालमा राजनीतिक रूपले लोकतन्त्र स्थापित भए पनि त्यहीअनुसारको सामाजिक व्यवस्था र अवस्था परिवर्तन गर्न धेरै काम गर्न बाँंकी रहेको छ’, उनले भने। त्यसमा अमेरिकी प्रतिनिधिमण्डलको भ्रमणका एजेण्डा नेपालका लागि महत्वपूर्ण रहने राष्ट्रपति पौडेलले उल्लेख गरे।
प्रतिनिधिमण्डलमा सांसदहरू मार्क पोकन, डान किल्डी, भेरोनिका एस्कोबार र सुसन वाइल्ड, नेपालस्थित अमेरिकी राजदूत डिन थोम्पसन लगायतको सहभागिता थियो।