पेप्सीकोला दुर्घटनामा युवकको मृत्यु, महिला सशस्त्र र विद्युत् कर्मचारीसहित ९ घाइते (अपडेट)
काठमाडौँ । काठमाडौँको छाप्रोमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । आइतबार बिहान करिब ७ बजेतिर जडीबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरेको बा ३ ख ४८४८ नम्बरको यात्रुवाहक बस र विपरीत दिशाबाट आउँदै गरेको बा ६ च ५३४२ नम्बरको बोलेरो जिप एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
बस पल्टिएर बसले कुल्चिदा बागमती प्रदेश ०२ प ५३११ नम्बरको स्कुटर र बागमती प्रदेश ०२ प ४८३८ नम्बरको मोटरसाइकलमा समेत क्षति पुगेको छ । जसमा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने स्कुटरमा सवार दुई जना महिला घाइते भएका छन् । मृत्यु हुनेमा जिल्ला सर्लाही शान्तिटोल–१ का २१ वर्षीय राज भट्टराई रहेको खुलेको छ ।
स्कुटरमा सवार महिला सशस्त्र प्रहरी कर्मचारी रहेको र स्कुटर चालक सामान्य घाइते भएको र पछाडि सवार एक जना गम्भीर घाइते भएको सहायक निरीक्षक रविचन्द्र पुडासैनीले बताए । बोलेरोमा सवार ५ जना विद्युतका कर्मचारी रहेको प्रहरीले जनाएको छ ।
उनीहरूको पेप्सीकोलास्थित मदरल्याण्ड अस्पतालमा उपचार भइरहेको छ । अन्यको मिनभवनस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । बिहान केही समय अवरुद्ध सडक अहिले सुचारु भइसकेको छ ।