पेप्सीकोला दुर्घटना : प्रहरी जवानसहित दुईको मृत्यु, १२ जना उपचार हुँदै (नामसहित)
काठमाडौँ । काठमाडौँको पेप्सीकोलामा सवारी दुर्घटनामा परी घाइते भएका १४ जनामध्ये दुईजनाको मृत्यु भएको छ । जडीबुटीदेखि पेप्सीकोलातर्फ जाँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसायी सङ्घको बा ३ ख ४८४८ नम्बरको बस र विपरीत दिशाबाट आएको बा ६ च ५३४२ नम्बरको बलेरो गाडी बिहान करिब ७ बजेर ३० मिनेट जाँदा ठोकिँदा दुर्घटना भएको थियो ।
दुई गाडी ठोकिँदा बागमती प्रदेश ०२–०३७ प ५३११ नम्बरको डिओ स्कुटर र बागमती प्रदेश ०२–०४१ प ४८३८ नम्बरको एफजेड मोटरसाइकलसमेत दुर्घटनामा परेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको अस्पतालमा मृत्यु भएको जानकारी दिए ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सर्लाहीका २१ वर्षीय राज भट्टराई र सशस्त्र प्रहरी बल सिनामङ्गलमा कार्यरत २५ वर्षीय उषा थापा रहेका छन् । उषा सशस्त्र प्रहरी बल नम्बर २० विपद् उद्धार उपत्यका गण (सिनामंगल)मा कार्यरत थिइन् ।
दुर्घटनामा घाइतेहरूमध्ये ८ जना पुरूषको मदरल्यान्ड अस्पतालमा उपचार भइरहेको छ । सिभिल अस्पतालमा ४ जनाको उपचार जारी छ ।
दोलखा भिमेश्वर नगरपालिका-१ घर भई ललितपुरको इमाडोल बस्ने ५२ वर्षीय कुमार बहादुर खाती, उदयपुर त्रियुगा नगरपालिका-१० घर भई हाल काँडाघारी बस्ने २२ वर्षीय कल्पना विक, मकवानपुर हेटौडा घर भई हाल पेप्सिकोला बस्ने १७ वर्षीया रमिता प्रजा र स्कुटर चालक काभे कोशीपारी घर भई हाल मुलपानि बस्ने २९ वर्षीया सरस्वती खड्काको सिभिल अस्पतालमा उपचार भइरहेको छ । खड्का सशस्त्र प्रहरीका जवान हुन् । उनी एपिएफ सिनामंगलमा कार्यरत छन् ।
रामेछाप मन्थली नगरपालिका घर भई हाल बौद्ध बस्ने २० वर्षीय सुनिल मगराती, रामेछाप मन्थली नगरपालिका घर भई हाल बौद्ध बस्ने २० वर्षीय सुनिल मगराती, २१ वर्षीय राजकुमार मगराती, सिन्धुपालचोक बाह्रबिसे नगरपालिका-४ घर भई हाल थली बस्ने २३ वर्षीय सुवास बस्नेत घाइते छन् । उनीहरूको सिभिल अस्पतालमा उपचार भइरहेको छ ।
मोरङ उर्लाबारी नगरपालिका- ४ घर भई हाल गोंगबु बस्ने ३३ वर्षीय पुन्यप्रसाद गौतम, ओखल्ढुङगा लिखु गाउँपालिका- ७ घर भई हाल बौद्ध २५ वर्षीय रमेश थापा, रामेछापको मन्थली नगरपालिका-८ घर भई हाल बौद्ध बस्ने वर्ष २२ को अर्जुन रम्तेल घाइते छन्। उनीहरूलाई पनि उपचारका लागि सिभिल अस्पताल लगिएको एसपी ढुंगेलले बताए । बसका चालक रामेछाप लिखुतामाकोशी गाउँपालिका-२ घर भई पेप्सिकोला बस्ने २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।