कोशीको भंगालो छुटेर बनेको ‘टापु’मा भेटियो १० दिनदेखि बेपत्ता डाक्टर कोइरालाको शव
काठमाडौँ । झापाको दमक-१ निवासी डाक्टर प्रज्वल कोइराला बेपत्ता भएको १० दिनपछि मृत फेला परेका छन् । सुनसरीको बराहक्षेत्र नगरपालिका-२ कोशीको भंगालो छुटेर टापु बनेको क्षेत्रमा उनको शव भेटिएको हो ।
माछा मार्ने स्थानीयले शव देखेर प्रहरीलाई खबर गरेका थिए । डाक्टर कोइरालाको फोटोसँग मिल्दो जुल्दो रहेको सुरक्षा वेश चतराका इन्चार्ज शसस्त्र प्रहरी निरीक्षक देवेन्द्र रोक्काले जानकारी दिए । रोक्काका अनुसार साढे ४ बजेतिर खबर आएपछि रोक्कासहितको टोलीले शवलाई धरानको बीपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका लागि पठाइएको थियो ।
मृतक डाक्टरका बुबा दिवाकर कोइरालासहित वडाअध्यक्ष हरिप्रसाद न्यौपानेको टोली धरान पुगेर पहिचान गर्दा डाक्टरकै शव भएको अध्यक्ष न्यौपानेले जानकारी दिए । डाक्टर कोइराला १० भदौदेखि बेपत्ता भएका थिए । उनको गाडी, जुत्ता र मोबाइल कोशी व्यारेज छेऊमा ११ गते फेला परेको थियो । ३२ वर्षीय कोइराला मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा जनरल सर्जनको रूपमा कार्यरत थिए ।