मिदास टेक्नोलोजीसँगको संयुक्त प्रयासमा कोशी अस्पतालले नयाँ अस्पताल एप मार्फत सेवा सञ्चालनमा
काठमाडौँ । नेपालको प्रतिष्ठित अस्पताल मध्येको कोशी अस्पतालले मिदास टेक्नोलोजीसँगको सहकार्यमा आफ्नो नयाँ मोबाइल अस्पताल एप सञ्चालनमा ल्याएको छ ।
उक्त एप मार्फत बिरामीहरूले अब सजिलै अनलाइन अपोइन्टमेन्ट बुकिङ गर्न सक्ने अस्पतालले बताएको छ । बिरामीहरूले ओपिडी टिकटहरू बुकिङ र खरिद गर्नुका साथै प्रयोगशाला रिपोर्टहरू पनि एप बाटै प्राप्त गर्ने सक्ने बताइएको छ ।
नेपाल सरकार स्वास्थ्य बिमा बोर्डले उपलब्ध गराएको स्वास्थ्य बिमा भएका प्रयोगकर्ताहरूले समेत अस्पतालको निःशुल्क टिकट बुक गर्न र आफ्नो बिमा जानकारी राखेर प्रमाणीकरण गर्न सकिने पनि बताइएको छ ।
यो सेवाले अपोइन्टमेन्ट लिन अस्पतालसम्म पुग्ने समय र अस्पताल पुगेर लाममा पर्खनु पर्ने झन्झटलाई कम गर्ने भनिएको छ । यसले अस्पतालको सेवालाई समेत थप पहुँचयोग्य र सुलभ बनाउन सहयोग पुग्ने छ ।
दशकौँ लामो समयदेखि बिरामीहरूलाई निरन्तर उत्कृष्ट सेवा प्रदान गर्दै आएको कोशी अस्पतालले मोबाइल एप मार्फत समेत सेवा थालेर आफ्नो सेवालाई थप उन्नत बनाएको बताएको छ ।
मिदास टेक्नोलोजी
आइएमई ग्रुप अन्तर्गतको मिदास टेक्नोलोजी स्वास्थ्य सेवालाई सूचना प्रणालीमा आबद्ध गर्ने अग्रणी सेवा प्रदायक संस्था हो । यसले २०० भन्दा बढी अस्पतालहरूलाई सेवा प्रदान गरिरहेको छ।
स्वास्थ्य सेवाको आधुनिकीकरण र सुधार गर्न खोज्ने अस्पतालहरूका लागि मिदास विश्वसनीय साझेदारको रूपमा अघि बढेको छ ।