जसले आफूजस्तै दृष्टिविहीन साथीहरूलाई प्याराग्लाइडिङ गराइन्
सृष्टि केसी गत अगस्त १ मा दोस्रो पटक प्याराग्लाइडिङ गरिरहेकी थिइन् । उनलाई त्यो बेला जे भइरहेको थियो पहिलोपल्ट गर्दा पनि त्यस्तै भइरहेको थियो ।
पोखराको चिसो हावाले आङ छुँदा उस्तै गरी मन शीतल भइरहेको थियो । खुला आकाशमा उड्न पाउँदा चराजस्तै फुरुङ्ग थिइन । पखेटा लगाएर बादललाई छोएको महसुस गरिरहेकी थिइन् |
उनको बादललाई छुने सपना पूरा भएको थियो | उनलाई उचाइमा समय रोकिएको भान भएको थियो । उनी केवल ती पलहरूमा रमाइरहन चाहन्थिन ।
त्यति बेला जे भइरहेको थियो दैनिक जीवनमा हुँदैन थियो । त्यहाँ भएका अनेक सम्भावनालाई डरले छोपिरहेको हुन्थ्यो । समाजले बनाएको परिधिलाई नाघेर अघि बढ्न सहज कदापि पनि थिएन ।
त्यसरी हरेक दिन एउटा सीमित रेखा भित्र खुम्चिरहेकी उनी त्यसको विरुद्धमा लड्न त जमिनमा पनि लडिरहेकी नै थिइन् तर आकाशमा अझै बढी स्वतन्त्र महसुस गरिरहेकी थिइन् |
र यसपल्ट उनी मात्र एक्लै थिइनन् । उनको साथमा अरू दृष्टिविहीन साथीहरू पनि थिए जो सामूहिक रूपमा प्याराग्लाइडिङ गरिरहेका थिए ।
यो योजना उनले पहिलोपल्ट प्याराग्लाइडिङ गरेकै बेला बनेको थियो ।
त्यो सन् २०१८ को कुरा थियो । उनले पहिलो पटक प्याराग्लाइडिङ गरिन् । उनलाई पर्वतारोही हरि बुढामगरको पहलमा प्याराग्लाइडिङको मौका जुर्यो ।
त्यो अनौठो अनुभव थियो । आँखा अगाडि दृश्य नहुनाले अलिक घबराहट महसुस भएको थियो । उनले त्यो बेलासम्म प्याराग्लाइडिङ गरेका अरूको अनुभव सुनेकी थिइन् । आफूलाई त्यस्तो अवस्थामा पुर्याएर चुनौती नदिएकाले होला मनमा डर थियो ।
प्याराग्लाइडिङ गर्न सक्छु भनेर आत्मविश्वास ल्याउन केही समय लागेको थियो ।
तर पर्वतारोही मगरले बारम्बार हौसला दिइरहे । तिमीले सक्छौ भन्दिइरहे । त्यही हिम्मतले उनलाई काम गर्यो ।
आँट गर्यो भने फरक क्षमताले सफलताको सिढिँ चढ्न कदापि रोक्दैन केबल आफूमा आत्मविश्वास भने बुझाइ अझै बलियो भयो । साना साना प्रयासले नै असीमित अवसरहरूको ढोका खोलिदिनेरहेछ भन्ने थाहा भयो ।
आफूले गरेको त्यही फरक महसुस उनी आफ्ना अरू दृष्टिविहीन साथीहरूले पनि गरुन् भन्ने चाहन्थिन् ।
करिब ५ वर्ष पस्चात त्यो मौका जुर्यो ।
पहिलो पटक साथीहरूलाई योजना सुनाउँदाको क्षण उनको आँखैमा छ । सुरुमा केही साथीहरू अत्तालिएका पनि थिए । केही भने उत्साहित थिए ।
उनले स्थापना गरेको संस्था ब्लाइण्ड रक्स ले आर्ट्स एन्ड एडभेन्चर कार्यक्रम अन्तर्गत रहेर उक्त योजना बनाएको थियो । १२ जना सहभागी भएका थिए । त्यसमा पोखरा, गोरखा, काठमाडौँमा जस्ता ठाउँमा रहेर ब्लाइण्ड रक्समा आबद्ध सदस्यहरूको उपस्थिति थियो भने अस्ट्रिया र अमेरिकाबाट पनि पनि एक एक जना थिए । ब्लाइण्ड रक्सले सन २०१८ देखि आर्ट्स एन्ड एडभेन्चर कार्यक्रम सुरुवात गरेको थियो ।
यसले स्थापना देखि नै साहसिक खेलहरूको आयोजना गर्दै आएको छ । प्याराग्लाइडिङ अगावै उनीहरूले रक ब्लाइम्बिङ, रिभर र्याफ्टिङ जस्ता साहसिक खेलहरूमा पनि सहभागिता जनाइसकेका थिए ।
समावेशी समाजको निर्माण यस्तै अनेक प्रयासहरू मार्फत सम्भव छ भन्ने उनलाई लाग्छ । साहसिक काममा सहभागी हुने इच्छा सबैलाई हुन्छ । त्यो पुरा हुने वातावरण हामीले बनाउनुपर्छ ।
यस पटक भने सृष्टि फरक जिम्मेवारीमा थिइन् । अन्य साथीहरूको सहजता र सुरक्षाको जिम्मेवारी पनि उनको काँधमा थियो । त्यसैले पुनः आकाशमा उड्नुको खुसी सँगै अरूको लागि खुसी हुन पाउनुको खुसीमा पनि उनी रमाएकी थिइन् ।
प्याराग्लाइडिङ सकेर उत्रँदै गर्दा स्थानीयहरू तालीको गडगडाहट साथै स्वागत गरिरहेका थिए । सृष्टिले उत्रिनासाथ स्थानीयसँग पहिलो संवाद गरिन् । उनीहरू सबैले उनको कामको लागि बधाई दिए । पोखराका मेयर धनराज आचार्य पनि हौसला बढाउन उपस्थित थिए ।
मेयरको उपस्थितिले उनीहरूको आत्मविश्वास झन् दोब्बर बढेको थियो |
उत्रिए पश्चात् कोही आफ्नो अनुभव एक अर्कोसँग साटिरहेका थिए भने कोही घरमा फोन गरेर परिवारसँग कुरा गर्न व्यस्त थिए ।
उनीहरू अब जीवनमा आइपर्ने जस्तो कठिनाइ सजिलोसँग पार गर्न सक्नेमा विश्वस्त थिए ।