‘दमिनी भिर’ले उठाएको सवाल आज पनि उत्तिकै सान्दर्भिक छ : निर्देशक इँगी होपो कोइँच सुनुवार
‘यहाँ दमिनी भीर नाटकको रिहर्सल कता हुँदैछ ।’
काठमाडौँ थापागाउँस्थित मण्डला थिएटर पुग्ने बित्तिकै एक जना दिदीलाई सोधेँ ।
‘रिहर्सल हुँदै छ एक छिन बस्दै गर्नु है ।’ दिदीले भन्नुभयो । म अलिक ढिलो पुगेछु । रिहर्सल हेर्न नपाइने भो भन्ने लाग्यो ।
तर यदि निर्देशकलाई भन्यो भने केही हुन्छ कि भन्ने पनि भयो । आखिर म उनीसँगै कुरा गर्न भनेर जाँदै थिएँ ।
नाटकका निर्देशक इँगी होपो कोइँच सुनुवारलाई फोन लगाएँ ।
‘रिहर्सल हुँदै छ भित्रै आउनुन’ उनले बोलाएपछि म भित्र जान पाउने भएँ ।
बिस्तारै ब्ल्याक बक्स भित्र पसेँ । चारैतिर अँध्यारोमा थियो । लड्छु कि भन्ने डर पो भयो ।
भित्र छिर्नासाथ अगाडी हेर्दा स्टेजमा बडेमानको भिरको स्वरूप बनाइएको देखियो ।
दमिनी भिर ।
कलाकारहरू धमाधम अभ्यास गरिरहेका थिए ।
राजन मुकारुङद्वारा लिखित ‘दमिनी भिर’ उपन्यास पढ्दै गर्दा भिरको प्रसङ्ग कयौंपटक जोडिएको याद आयो ।
यस पटक भने सोही उपन्यासको नाट्यरुपान्तरण हुँदै थियो । निर्देशक सुनुवारसँग त्यसैको बारेमा मलाई कुरा गर्नु थियो । यो नाटक यो समयमा गर्नुको महत्त्व के हुन्छ बुझ्नु थियो । त्यसले के गर्न सोध्नु थियो ।
एकैछिनमा रिहर्सलको ब्रेक समय सुरुभयो । निर्देशक सुनुवार र म थिएटर बाहिर निस्केर कुरा गर्न थाल्यौँ ।
‘तयारी कस्तो हुँदै छ ?’
मैले थिएटरमा एकदमै व्यस्त माहोल देखे पश्चात् पहिलो प्रश्न यही सोधेँ ।
‘समय एकदमै कम छ । यसपालि नाटक गर्दा अलि हतार हतार नै भयो ।’ इँगी अलि हतारमै देखिन्थे । इमानदार सुनिए ।
‘भदौ २२ गते शुक्रवार देखि मञ्चन भइरहेको छ । आइसक्यो ।’
राजन मुकारुङले लेखेको दमिनी भिर २०६९ सालको मदन पुरस्कार विजेता किताब हो । त्यो किताब धेरै हिसाबले विशेष भएको थियो ।
‘यो नाटकले के काम गरेको छ ?’ मैले सोधेँ ।
‘नाटकले जात व्यवस्थाले ग्रसित नेपाली समाजको चित्रण गरेको छ। एउटै समाजमा रहेर केवल वर्गको आधारमा भोग्नुपर्ने सङ्घर्षलाई देखाएको छ । विरासतमा बोकेर आएको सामाजिक संरचनात्मक लाभांशको दुरुपयोग र कथित उपल्लो जातले आफू भन्दा निरीहलाई गर्ने दमनलाई दर्साएको छ ।’
उनले बताए ।
निर्देशक सुनुवारले लेखक मुकारुङसँग विगतमा पनि काम गरिसकेका छन् । ‘जोखना’, ‘खुवालुङ’ जस्ता नाटकमा उनीहरूको सहकार्य भइसकेको छ । तर त्यो लेखक र निर्देशकको रूपमा भने थिएन ।
यो उपन्यास उनीसँग करिब दुई महिना अघि आइपुगेको हो । आफूले एक्लै निर्देशन गरेको पहिलो नाटक उनले बनाउनु थियो । सुरुवातमा त्यसैले पनि गर्ने कि नगर्ने भन्ने दोधारमा थिए ।
सफल भइसकेको कृतिलाई फेरि दर्शकसामु पस्कनु चुनौतीको विषय थियो ।
‘त्यसो भए किन दमिनी भिर नै गर्दै हुनुहुन्छ ?’
मैले उनलाई बिचमै रोकेर सोधेँ ।
‘उपन्यासले बोकेको सवाल र विभेद आज पनि उत्तिकै सान्दर्भिक छ । बाह्र वर्ष पछाडि आइपुग्दासम्म पनि वर्गसंघर्ष कायम छन् । कतै तरिका बदलिएका होलान् । समाज शिक्षित भइसक्दा पनि विभेद प्रतिको चेत भने न्यून देखिन्छ ।’
अनि उनले पछिल्लो समयमा भएका सामाजिक र धार्मिक सहिष्णुता बिग्रिने खाले घटनाहरू सम्झिँदै भने ‘आजभोलि हेर्ने हो भने त समाज झनै धूर्वीकृत हुँदै छ। जात धर्म बिचको सहिष्णुता झनै भड्केको देखिन्छ । यस्ता समयमा नाटकले समाजलाई ऐना देखाउन सक्छ ।’
सुनुवार नेपाली थिएटर जगतको लागि मात्र हैन सिनेमा क्षेत्रमा पनि अगाडि बढिरहेका छन् । तर आफूले गर्ने ती काममा पनि उनले कतै न कतै देशको वर्तमान परिवेशलाई नै समात्ने गरेका छन् ।
उनले ‘सेनाको चेली’ नामक चलचित्र पनि निर्देशन गरेका छन् । द्वन्द्वको कारण बिछोडिएका दिदी र भाइको सम्बन्धलाई देखाएका छन् ।
‘तपाईँले रोजेका कामहरूमा द्वन्दकै परिवेशलाई अटाएका हुँदारहेछन् । किन ?’ मैले सोधेँ ।
उनी जीवन भोगाइले पनि यस्तै कथाहरूमा आफूलाई तानेको बताउँछन् । भन्छन् ‘हुर्कने क्रममा आँखा अगाडि देखेका दृश्यहरू म आफ्नो कामबाट देखाउन चाहन्छु । परिवर्तनका लागि गरेका लडाइँले साँच्चेँ परिवर्तन ल्यायो कि ल्याएन भन्ने प्रश्न जायज छ । तर आन्दोलनको डाेभ र बाछिटा भने अझै हराएका छैनन् भन्ने बुझाउन चाहन्छु ।’
‘फिल्म र नाटक निर्देशनमा के फरक रहेको पाउनुभयो ?’
कथावस्तु मेल खान गए पनि नाटक र चलचित्र निर्देशन भने नितान्त फरक रहेको उनी पाउँछन् । फिल्म बन्ने दौरानमा केही गल्ती भइहाल्दा पछि सच्याउने छट हुन्छ भने नाटकमा त्यसो गर्न मिल्दैन । तयार पारेको नाटक मञ्चन गर्दै गर्दा यदि गल्ती भइहाले त्यसलाई सच्याउने छुट हुँदैन ।
तथापि दुवैले दिने सन्देश पनि प्रस्ट हुनुपर्छ ।
उनको यो पहिलो निर्देशन रहेकोले नाटकले उठाएको विषय दर्शक सामु सही ढङ्गले पुगोस् भन्ने चाहन्छन् । ‘कलाको सौन्दर्य विषय उठान मात्र भएर त्यसले दिने सन्देश, मनोरञ्जन र त्यहाँभित्र भएका पात्रहरूको अवस्थाको सम्मिश्रणबाट पनि गर्नुपर्ने हुन्छ । नाटकको चरित्रहरू, उसको पहिरन हिँडाइ, बोलाइले पनि नाटकलाई बलियो बनाउँछ । नाटक बनाउँदै गर्दा नाटक कस्तो हुन्छ र नाटकले भन्न खोजेको के हो दुवैमा ध्यान दिनुपर्ने हुन्छ ।’
‘यो नाटक के हो ?’
‘यो नाटक विषय एकदमै मौलिक छ । यसको कथावस्तु अधिकांशको भोगाइ हो । आफ्नो वरपर वर्षौँ देखि उत्पीडनमा परेकाहरूको आवाज हो । नाटकले कथावस्तु मार्फत आफ्नो इतिहास देखाएको छ । सो कथावस्तुमा कहिँकतै आफूलाई भेट्न सक्छौँ ।’
उनको अनुसार आफ्नो अगाडि हुर्केको समस्यालाई नाटकमार्फत सम्प्रेषण गर्दा त्यसको गहिराइ बुझ्न अझै मद्दत गर्छ । नाटकलाई पर्दामा हेर्दै गर्दा चरित्रहरूमा आफ्नो कथा भेट्न सकिन्छ ।
उनी भन्दै जान्छन् ।
‘नाटकका पात्रहरू लच्छि, कान्छा हाम्रो कथा हुन् । चेतनको चरित्र निमुखा माथि गरिने प्रवृत्ति हो । आफूलाई सर्वोपरि ठान्नेहरू केवल जात के नाममा दमन गरिरहेका हुन्छन् । सोही प्रवृत्तिको चित्रण चेतनले गरिरहेको हुन्छ । प्रेम जस्तो सुन्दर अनुभूति पनि समाजको परिधिले नाघेर अघि बढ्न सक्दैन । प्रेम परिबन्दमा बाँधिन्छ । एकल महिलाले समाजमा गर्नुपर्ने सङ्घर्ष, आफ्नो अस्तित्वको लडाइँ र विशेषगरी परिवारभित्रै रहेर गर्नुपर्ने क्रान्तिलाई नाटकले समेट्छ ।’
‘तपाईँ नाटक किन गर्नुहुन्छ ?’ म उनलाई व्यक्तिगत प्रश्न सोध्छु ।
‘मेरो लागि नाटक सन्तुष्टि हो ।’
उनी भन्दै जान्छन् ।
‘आफूलाई नाटकमा भिजाउँदै गर्दा आनन्द महसुस हुन्छ । संयोगले भेट भएको सम्बन्धसँग आत्मीयता गाँसिएको छ ।’
उनी २०६६/६७ सालतिर साथीसँग पहिलो पल्ट नाटक हेर्न गएका थिए ।
त्यतिबेलासम्म नाटकको विषयको ज्ञान नै थिएन । रसियन कल्चर मा हेरेको ‘सरकारी निरीक्षक’ नाटकले उनलाई तान्यो । त्यसपछि सधैंजसो गुरुकुलमा गएर नाटक हेर्न थाले । बिस्तारै लगाव बढ्दै गयो ।
२०७०/७१देखि भने नाटकमै काम गर्दै आएका छन् ।
जीवनमा नाटक बनाउँछु भनेर नसोचेका उनले सुरुका दिनहरुमा धेरैखाले कामहरू गरे । फाइनान्स कम्पनीमा काम गरे । पोतेपसलमा काम गरे ।
नाटकप्रतिको लगाव चिन्न समय लाग्यो । तर चिनेपछि भने विगत एक दशकदेखि कलाक्षेत्रमा नै व्यस्त छन् ।
समाजमा महत्त्व राख्ने कामहरू गर्न पाएकोमा खुसी छन् ।
यो नाटकले विशेषगरी नाटकले नयाँ पुस्तालाई समेट्न खोजेको उनी बताउँछन् ।
‘त्यस्तो किन गर्नुपर्छ ?’ म सोध्छु ।
उनी भन्दै जान्छन् ।
‘आजको पुस्ताले केही हदसम्म नाटकको परिवेशलाई स्वयमले नभोगेको हुनसक्छ । आन्दोलनपश्चात् को पुस्तालाई आफ्नो इतिहास बुझाउने एकदमै जरुरी हुन्छ उनीहरूले केवल किताबमा पढेको इतिहासलाई दमिनी ले पर्दामा देखिरहेको छ ।’
नाटकमा लगभग १५-२० कलाकारहरू समावेश छन् । पुनम थापा, रियर राई, आकाश नेपाली, सूजाता गुरुङ, सुजु सुनुवार किराती, प्रतिना राई, सोनाम लामा, किरण चाम्लिङ राई र अन्य केही कलाकारहरूको अभिनय रहेको छ । प्राय सबै कलाकारहरूसँग उनले अगाडि नै काम गरिसकेका थिए ।
सबैको कामलाई नजिकबाट नियाली सकेको हुँदा कलाकार छान्ने प्रक्रियामा भने अप्ठ्यारो नपरेको सुनाउँछन् ।
नाटक समावेश गरिएको गीतहरूले पनि नाटकलाई अझ जीवन्त बनाएको छ ।
नाटक मञ्चन हुँदै गर्दा भने उत्साहित देखिन्छन् । दुई महिना काँधमा बोकेको जिम्मेवारी अब दर्शकसामु बिसाउने दिन आउनलागेको छ ।
यो लेख तयार भइसक्दा संभबत त्यो दिन पनि आइसक्ने छ ।