शिक्षकको हकहितमा नभएको भन्दै शिक्षा विधेयक जलाइयो (तस्बिरहरू)

काठमाडौँ । सरकारले प्रतिनिधि सभामा दर्ता गराएको विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० शिक्षकको हकहितमा नभएको भन्दै माइतीघरमा शिक्षकहरूले विधेयकको ड्राफ्ट जलाएका छन् ।

आज (शुक्रवार) राहत शिक्षकहरूले संसदमा दर्ता भएको शिक्षा विधेयकले शिक्षकहरूको अधिकार कुण्ठित गर्नेगरी आएको भन्दै विधेयक जलाएर साङ्केतिक विरोध जनाएका हुन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले सामुदायिक विद्यालयमा कार्यरत देशैभर ४० हजार राहत शिक्षकको हक अधिकार कुण्ठित गर्नेगरी सरकारले विधेयक ल्याएको बताए ।

उनले विगतमा गरेका सम्झौता विपरीत मस्यौदा ल्याइएको भन्दै आफूहरूलाई मान्य नहुने बताए । अधिकारीले भदौ २७ गते विधेयक संसदमा दर्ता भएको भन्दै सो दिन आफूहरूको लागि कालो दिन भएको बताए ।

अधिकारीले भने ‘हामी सामुदायिक विद्यालयमा कार्यरत देशैभर ४० हजार राहत शिक्षक छौँ । विगत लामो समयदेखि सामुदायिक विद्यालयमा १८ वर्षदेखि कार्यरत राहत शिक्षकलाई ५२ वर्षपछि नेपाल सरकारले शिक्षा ऐनको ड्राफ्ट संसद्मा प्रस्तुत गरेको छ । विगतमा गरेका सम्झौता विपरीत ड्राफ्ट आएको छ । सरकारले २० हजार शिक्षकलाई विस्थापित गर्ने गरी विधेयक ल्याएको छ । विधेयक २७ गते आएको हो । र, त्यो दीन कालो दिन हो । त्यसैले विधेयकको विरोधमा हामीले यो ड्राफ्ट जलाउदैछौँ । सामुदायिक विद्यालयमा कार्यरत राहत शिक्षकहरूलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी व्यवस्थापन गर्नुपर्छ भन्ने हाम्रो माग हो ।’

उनले राहत शिक्षकहरूलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी व्यवस्थापन गर्नुपर्ने आफूहरूको माग रहेको बताए ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *