जब मानसिक स्वास्थ्यको बारेमा नाटक बनाउन मनलाग्यो, उनले आफ्नै कथालाई स्टेजमा उतारे
डान्स स्टुडियो पाँच तल्ला माथि छ । चौथो तल्ला सम्म पुग्दा गीतहरू गुन्जिएको मज्जाले सुनिन्छ । माथि पुग्दा विभिन्न कलाकारहरूको नृत्य हेर्न पाइन्छ ।
म स्टुडियो पुग्दा पौने एक भएको थियो । मैले ‘ब्युँझिएको सिरानी’ को निर्देशक जे डी अर्थात् जगदीश गुरुङसँग ठिक एक बजे नाटक बारे छलफल गर्ने निधो गरेकी थिए । उनलाई कुर्दै गर्दा मैले स्टुडियो बाहिर लबीमा बसेर एकै छिन रिहर्सल हेर्ने मौका पाए । भित्र सबै कलाकारहरू नृत्यमा भिजेका थिए ।
रिहर्सल सकियो । ब्रेक भयो । म निर्देशक जे डी सँग कुरा गर्न स्टुडियो भित्र लागे ।
मलाई नाटकको शीर्षकबारे निकै जिज्ञासा थियो । सोधेँ ‘किन ‘ब्युँझिएको सिरानी’ नै नाम राख्नुभएको ?’
उनले यो विषयमा निकै छलफल भएको जनाए । नाम राख्ने बेला पहिला अङ्ग्रेजीमा सोचेका रहेछन्; ‘अवोकन पिल्लो’ अर्थात् ब्युँझिएको सिरानी । अरू कलाकारहरूको पनि राय सुझाव लिएपछि यो शीर्षकको निश्चय भएको रहेछ ।
‘जसलाई मानसिक रूपमा अलि तनाव भएको हुन्छ, उ अलि सुस्ताएको हुन्छ; यो दुनियाँ भन्दा अलि टाढा पुगेको हुन्छ । त्यहाँ बाट ब्युँझिनु भन्न खोजेका हौ । खासमा जाग्नू अथवा पुन जन्म हुनु भन्ने साङ्केतिक रूपमा भन्न खोजेका हौ ।’ उनले भने ।
रिहर्सल सुरु गरेको लगभग एक महिना भएछ । पहिलाको दुई हप्ता सबै जना बसेर निकै अभ्यासहरू गरेछन्; मनोवैज्ञानिक सल्लाहकारलाई समेत ल्याएर सल्लाह सुझाव लिएका रहेछन् । निकै संवेदनशील विषय भएको भएर सबैले मानसिक रूपमा तैयार हुनु निकै जरुरी थियो । गहिराइमा गएर यसको बारेमा अझै अनुसन्धान गर्दै, अझै अध्ययन गर्दै, नाटक प्रक्रिया सुरु भएको रहेछ ।
बिस देखि पैँतिस वर्षका यी कलाकारहरू कोही कन्टेम्पोररी डान्सर भने कोही पहिलैदेखि नै नाटक गर्दै आएका रहेछन् । कतिले त अझ पहिला देखि नै मानसिक रोगसँग लडिराखेका रहेछन् । यी कलाकार मध्ये जे डी आफै पनि पर्छन् ।
अहिले यति हाँस्दै रमाउँदै गरेका जे डी आफ्नै मानसिक तनावले गर्दा रोगको सिकार हुन पुगेका थिए । अनि अर्को रोचक कुरा: ‘ब्युँझिएको सिरानी’ उनको आफ्नै कथा हो ।
नाटक गर्छु भनेर निकै समय अगाडी सोचेका निर्देशकले निकै कथा, कविताहरूलाई नाटकमा ढाल्ने अनुरोध पाएका रहेछन् । धेरै सोच्दै गर्दा उनलाई आफ्नै कथा सुनाउने अवसर पाएको जस्तो लागेछ ।
केही वर्ष अगाडी जे डी कन्टेम्पोररी आर्ट्स पढ्न मुम्बई गएका थिए । आफ्नो परिवार सँग टाढा भएपछि अलि अलि डराउनु अथवा गाह्रो हुनु त स्वाभाविक विषय नै थियो । यो कुरा उनलाई थाहा थियो । तर उनलाई थाहा थिएन कि उनी एउटा मानसिक रोगको सिकार हुँदै गइराखेका थिए ।
धेरै मानसिक तनाव भइसकेपछि उनलाई शारीरिक रूपमा पनि असर गर्न थाल्यो । प्यानिक अट्याक आइसकेपछि उनी आइ सी यु मा भर्ना हुनुपरेको थियो ।
उनलाई आफूसँग के भइराखेको छ भन्ने चेतना थिएन ।
अलि समयमा उनी नेपाल फर्के । सास फेर्न गारो हुने, मुटु को धड्कन चाँडो चाँडो हुने जस्तो सङ्केत देखेपछि आत्तिँदै उनले एक वर्षभरि सकेसम्म सबै अस्पतालमा जाँच गराए । न्युरो देखी लिएर मुटु सम्बन्धी जँचाउँदा समेत केही पत्ता नलागेपछि उनलाई अझै धेरै तनाव हुँदै गयो ।
‘कुनै डाक्टरले पनि सिधा तरिकाले यो मानसिक रोग हुन सक्छ है भनेर समेत भनेनन् ।’ उनले थपे ।
शारीरिक सङ्केत देखेको भएर मानसिक रोग होला भन्ने उनको दिमागमा आउँदै आएन । उनलाई आफू पनि मानसिक रोगको सिकार हुन्छु जस्तो लागेको थिएन । यो कुरा मान्न जे डी तैयार थिएनन् ।
आफ्नै भोगाइले उनलाई सोच्न बाध्य बनाएछ ।
‘म जस्तो एउटा कलाकारले त यस्तो सोच्छ भने लाखौँ मान्छेले मानसिक स्वास्थ्यलाई हेर्ने तरिका झन् कस्तो होला भन्ने लाग्यो । आफू पनि सचेत भएपछि मैले अरू धेरै जनाले लडेको युद्ध पनि देख्न थाले ।’
उनले त सहरमा बसेर अलि ढिला नै भए पनि उपचार पाए । गाउँघरतिर त झन् ‘पागल’ जस्तो शब्द प्रयोग हुने गर्छन् । गाह्रो भएको अवस्थामा घरमा थुनेर राख्ने गरिन्छ । त्यसैले चेतना अत्यावश्यक भएको उनले बताउँछन् ।
थप रूपमा हाम्रो समाजले मानसिक रोगलाई हेर्ने दृष्टिकोण नकारात्मक भएको उनी भन्छन् । शारीरिक स्वास्थ्य भन्दा एउटा स्वास्थ्य मानिस दिमागमा आउँछ भने मानसिक स्वास्थ्य भन्दा हाम्रो सोच सिधै मानसिक अस्पतालमा पुग्छ । यो विषयमा चेतनाको निकै कमी भएको उनी भन्छन् ।
अलि समय पछि उनको नर्स बहिनीहरूले सुझाव दिएपछि साहस बटुलेर उनी अस्पताल पुगे । उपचारको रूपमा काउन्सिलिङ, थेरापी र ध्यानले उनलाई निकै सहजता पुर्याएछ ।
आफ्नो परिवारको सहायता पाएर पनि निकै सहजता भएको उनले बताए । रातिको दुई बजे समेत झर्को नमानी अस्पताल लग्न तैयार भएको कारण आफू यहाँसम्म पुग्न सकेको जस्तो लाग्छ रे ।
यो नाटकमा उनले समाजमा बस्दा त्यहाँको प्रणालीले कसरी एउटा मान्छेको मानसिकतामा फरक पार्छ भन्ने कुरा दर्साउन खोजेका छन् । एउटा मानसिक बिरामीलाई जब काउन्सिलिङ गरेर ठिक पार्न सकिँदैन, अस्पताल नै पुर्याएर उपचार गर्न पर्ने समेत अवस्था आउन सक्छ । त्यस्तो अवस्थामा उसलाई कसरी मद्दत गर्न सक्छौँ र साधारण जीवनमा कसरी फिर्ता ल्याउन सक्छौ भन्ने कुरामा नि जोड दिएको निर्देशकले बताए ।
यो नाटकको तयारी गर्दै गर्दा मुख्य चुनौती भनेको कलाकारहरूलाई काउन्सिलिङ गरेर ट्रिगर नगरी एउटा बिरामीको मानसिक स्थितिमा लग्नु र अझै गाह्रो भने त्यहाँ बाट फेरी साधारण मानसिक स्थितिमा फिर्ता ल्याउन भएको थियो रे ।
आफूले बच्चैदेखि नृत्यमा रुचि राखेको हुनाले उनले यो नाटक पनि यही माध्यममा गरेका हुन् । नृत्य जस्तो साङ्केतिक सञ्चार पनि उतिकै आवश्यक भएको जे डी बताउँछन् ।
‘कुरा गर्ने पहिलो माध्यम नै शायद साङ्केतिक थियो । हामी अझै पनि सानो सानो तरिकाले साङ्केतिक रूपमा बोलिराखेका हुन्छौ । जस्तै ‘हो’ भन्नु सट्टा टाउको हल्लाउने । केही कुरा शब्दले बोल्दा ढाँट्न सजिलो हुन्छ भने अनुहारमा हेरेर झुटो बोल्न सकिँदैन; शरीरले झुटो बोल्न सक्दैन ।’ उनी भन्छन् ।
नृत्य सँगसँगै उत्तिकै महत्त्वपूर्ण भूमिका सङ्गीतले पनि खेलेको हुन्छ । सङ्गीतकार झुमा लिम्बुले सङ्गीतमा साथ दिनुभएको उनी बताउँछन् ।
‘यो नाटक हेर्न आएमा आफ्नै जिन्दगीमा पनि फेरी समाजको नयाँ पाटो रहेछ भनेर देख्न सक्छौ ।’ निर्देशकले आफ्नो कुरा टुङ्ग्याउँदै भने ।
निकै समय बितिसकेको थियो । मैले उनीसँग बिदा लिए । बाहिर निस्किने बेला कलाकारहरू फेरी रिहर्सल गर्न तम्तयार देखिन्थे । सबैको शरीरमा दुई वटा कुरा मिलेको थियो; एक त सबै जना पसिनाले भिजेका थिए भने दोस्रो कुरा सबैको अनुहारमा उत्ति नै उत्सुकता र ठुलो मुस्कान थियो ।
सबै भित्र एउटा ऊर्जा देखिन्थ्यो।
त्यही ऊर्जा आफैमा बटुलेर म फर्किए।
‘ब्युँझिएको सिरानी’ असोज १६ देखि मण्डला नाटक घरमा मञ्चन हुँदै छ ।
म हेर्न जानेछु ।