तीनकुने सामूहिक हत्या प्रकरण : छानबिन गर्न ५ सदस्यीय समिति गठन
काठमाडौं । उपत्यका प्रहरी कार्यालय रानीपोखरी काठमाडौँले तीनकुनेस्थित सामूहिक हत्या प्रकरणमाको छानबिन गर्न एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको छ ।
उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौँका प्रमुख राठौरको नेतृत्वमा जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका प्रहरी कार्यालयका अधिकृतहरू रहेको समिति बनाएका हुन् ।
सो समितिका सदस्यहरूमा जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी हरि खतिवडा, उपत्यका प्रहरी कार्यालयका डीएसपी सुवास खड्का, अपराध अनुसन्धान कार्यालयका डीएसपी सुरक्षा केसी तथा प्रहरी वृत्त, बानेश्वरका निरीक्षक वीरेन्द्र केसी सदस्य रहेको उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीले बताए ।
शुक्रबार राति तिनकुनेस्थित दिव्य सःमिलमा कार्यरत कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, आमा शुभद्रा भुजेल र नवीन राईको हत्या भएको थियो । हत्या गरिएकामध्ये कुमार, अम्बिका र शुभद्रा एकै परिवारका सदस्य हुन् । नवीन भने मिलमा आउने-जाने गरिरहन्थे । उनका बुबा पहिले सोही मिलमा काम गर्थे ।
घटनाको यकिन कारण खुलेको छैन । उक्त घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले अनुसन्धानका लागि चार जनालाई पक्राउ गरेको छ ।