‘ह्याप्पी डिभोर्स’ निर्माण घोषणा

अभिनेता तथा मोडल विमलेश अधिकारीको निर्देशनमा ‘ह्याप्पी डिभोर्स’ चलचित्र बन्ने भएको छ। केही समय कलाकारिताबाट विश्राम लिएर निर्देशनको तयारी गरेर चलचित्र घोषणा गरेको उनले जानकारी दिए।

उनले भने, “नयाँ सुरुआत, स्वतन्त्रता र राम्रो भविष्यको कथा तयार गरेको छु । एक जोडीको वर्तमान अवस्था र त्यसलाई भविष्यमा अझै राम्रो बनाउन चाल्ने कदमलाई देखाउन प्रयास रहनेछ । यो अहिले देखिएको एउटा समस्या पनि हो”, निर्देशक अधिकारीले निर्देशनसँगै अभिनय गर्नेसमेत जानकारी दिए।

चलचित्रमा केकी अधिकारी र रिमा विश्वकर्मा मुख्य भूमिकामा रहनेछन्। निर्देशक अधिकारीका अनुसार चलचित्रको कथा तीन पात्रसँग बढी जोडिएको छ ।

अभिनेत्री अधिकारीले आफ्नो थुप्रै साङ्गीतिक श्रव्यदृश्यमा मोडल बनिसकेका अभिनेता अधिकारी निर्देशक बन्न लागेको सुन्दा र सहकार्य गर्न पाउँदा खुसी लागेको बताए।

“हामी कलाकारले आफूलाई नयाँ तरिकाले प्रस्तुत गर्न चाहन्छौँ । विमलेश निर्देशक बनेर नयाँ यात्रा सुरू गर्नुभएको छ । उहाँको यात्रा सफल बनाउन हाम्रो कुनै सम्झौता हुने छैन”, अभिनेत्री अधिकारीले भनिन्, “चलचित्रको शीर्षक केही अनौठो लागे तापनि यसले गलत सन्देश प्रवाह गर्दैन । डिभोर्स नै समाधान हो भन्ने हामीले चलचित्रमार्फत देखाउन लागेका छैनौँ तर, अहिले युवापुस्तामा देखिएको केही यथार्थलाई पर्दामा ल्याउने छौँ ।”

चलचित्रमा नवराज उप्रेतीले छायाङ्कन, पुष्करमणि राईले पटकथा लेखन, सोनी सिंजाली मगरले वेशभूषा, विशाल मोक्तानले शृङ्गार गर्नेछन्।

प्रवासीको कथामा ‘परदेशी २’

नारायण रायमाझीले निर्देशन गरेको चलचित्र ‘परदेशी–२’ को प्रदर्शन दसैँलाई लक्षित गर्दै असोज २६ गतेलाई घोषणा गरिएको छ ।

निर्माण पक्षले मितिसँगै चलचित्रमा समावेश ‘हिजो काम’ बोलको गीतसमेत सार्वजनिक गरेको छ । गीतमा परदेशमा बसिरहेका नेपालीको पिडालाई देखाइएको छ ।

चलचित्रमा परदेशीको जीवनमा देखाइएको निर्देशक रायमाझीले जानकारी दिए। उनले भने, “हाम्रो समाजकै कथालाई पर्दामा ल्याएको छु । मेरा अघिल्ला चलचित्रझैँ यो पनि सामाजिक विषयवस्तुमै केन्द्रित छ ।”

चलचित्रमा दिलीप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, रमा थपलिया, सविन बास्तोलालगायतका कलाकारले अभिनय गरेका छन्। यसै चलचित्रबाट गायक प्रकाश सपूतले अभिनयको सुरुआत गरेका छन्।

चलचित्रमा रमेश बिजीले कथा लेखन, मानकृष्ण महर्जनले छायाङ्कन, अष्ट महर्जनले द्वन्द्व निर्देशन, दीर्घ खड्काले सम्पादन, रामजी लामिछाने र गोविन्द राईले नृत्य निर्देशन गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *