झापा पुगेर ओलीले बाबु भेटे, विशाल भट्टराईलाई सपिङ गरिदिए
बुबाको मुख हेर्ने दिन काठमाडौंमै रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार झापा पुगेर बुबासँग भेटेका छन्।
उनले सामाजिक सञ्जालमार्फत अस्ति बुबाको मुख हेर्ने दिन बुबासँग भेट हुन नसकेको र आज झापा गएको बेला घरमा पुगेर बुबासँग भेट गरेको जानकारी गराएका हुन्।
यस्तै ओलीले व्यवसायी मिनबहादुर गुरुङलाई झापाको बिर्तामोडमा भाटभटेनी खोलेकोमा बधाई पनि दिएका छन्।
ओलीको गृहजिल्ला झापाको बिर्तामोडमा आजैदेखि सञ्चालनमा आएको भाटभटेनीमा सपिङ समेत गरेका छन्।
भाटभटेनी सुपरस्टोरमा ओलीले एमालेका पोलिटब्यूरो सदस्य एवम् झापाका इन्चार्ज विशाल भट्टराईका लागि सर्ट, पाइन्ट र पेटी किनिदिएको उनको सचिवालयले जानकारी दिएको छ।
उनले ५ हजार रुपैयाँको सपिङ गरे।
गुरुङलाई ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले नियन्त्रणमा लिएपछि व्यवसायीहरुलाई सरकारले आतंकित बनाएको भन्दै ओलीले आलोचना गरेका थिए।