मकालु फिचर

छिमेकीले विष खुवाएर कुकुर मारिदिए, उनले घर बेचेर कुकुरको लागि ठाउँ बनाइन्

त्यो स्नेहा श्रेष्ठ जनावर प्रेमी थिइनन् । कुकुर प्रेमी पनि थिइनन् । 

तर एक दिन उनको घरमा संयोगवश दुई कुकुर आइपुगे । उनी पहिले त ती कुकुरलाई स्विकार्न हिचकिचाइन् । तर ती सडकका कुकुर झैँ फोहोर भएको पनि मनपराइनन् । त्यसैले हिचकिचाहटको बाबजुद पनि उनी कुकुरहरू लिन राजी भइन् । 

ती दुईमध्ये एकको नाम जारा थियो । 

जारा आनन्दकी थिई । प्रेमले भरिपूर्ण थिई । उसको हँसिलो मुहार र मिजासिलो स्वभावले सबैको मन जित्यो । उ हरेक दिन गेटमा स्नेहाको बाटो हेर्दै बसिरहन्थी । उनी कामबाट घर फर्किन साथ आफ्नो पुच्छर हल्लाउँदै खुसीले बुरुकबुरुक उनकै वरिपरि उफ्रन्थी । 

जाराको निष्ठा, उदारता र कोमलताले तुरुन्तै स्नेहाको मन जित्न सफल भयो । हरेक दिन कामबाट फर्किदा जारालाई गेटमा पर्खिरहेको देख्ने उनलाई बानी पर्न थाल्यो । बिस्तारै जारा उनको लागि परिवारको सदस्य भन्दा बढी हदै गई । उनी उसलाई आफ्नै सन्तान झैँ माया गर्न थालिन् । थाहै नपाइ जारा उनको जीवनको महत्त्वपूर्ण हिस्सा बनिसकेकी थिई । 

उनीहरू आएपछि स्नेहाको जीवनशैली फेरियो । ती कुकुरहरू लाई  हिँडाउन र तिनीहरूसँग समय बिताउनको लागि मात्र पनि उनी सामान्य भन्दा चाँडो उठ्न थालिन् । तिनीहरूलाई आफ्नै हातले खाना खुवाउन थालिन् । घण्टौँ सम्म तिनीहरूसँग खेलिरहिन् ।  

यस्तैमा जीवन चलिरहेको थियो । सबै थोक ठिकै भइरहेको थियो । 

तर एक दिन उनी काम बाट घर फर्कँदा जारालाई गेटमा पर्खिरहेको भेट्टाइनन् । स्नेहाका लागि यो अनौठो दृश्य थियो । उनले घर भरि खोजिन् । तर जारा कतै थिइन । उनी आत्तिँदै बाहिर खोज्न गइन् । धेरै भौँतारिए पछि एक कुनामा अचेत अवस्थामा जारा भेटिई । 

उ रगत बान्ता गरिरहेको थिई । 

आफ्नै छिमेकीले आफ्नो कुकुरलाई विष दिएर मार्न प्रयास गरेको थाहा पाएपछि उनी स्तब्ध भइन् । जाराको ज्यान बचाउन धेरै प्रयास गर्दा पनि उ बाँच्न भने सकिन । चार दिनको दिन उसको मृत्यु भयो । स्नेहाको छिमेकीहरूका लागि त्यो केवल एउटा कुकुर मात्र थियो जसले भुक्दा उनीहरूलाई डिस्टर्ब हुन्थ्यो । त्यो बाहेक उसको जीवनको उनीहरूलाई कुनै महत्त्व थिएन । 

तर स्नेहाका लागि त्यो उनको परिवार, साथी, संसार ,सबै थोक थियो ।  

जसरी परिवारको कुनै सदस्यको मृत्यु हुँदा हिन्दु संस्कृतिका मानिसहरूले १३ दिनसम्म नुन र अन्य मिठासहरू नखाएर शोक मनाउँछन् । त्यसरी नै सोही संस्कार उनले जाराको मृत्युको शोक मनाउन पालना गरिन् ।

जाराले यस्तो अन्याय भोग्नुपरेको थाहा पाएर उनले कुकुरहरूप्रतिको आफ्नो गहिरो स्नेह महसुस गरिन् । उनको कुकुर आफ्नै घरको परिसरमा सुरक्षित नभएको तथ्यले समुदायमा स्वतन्त्र रूपमा घुम्ने कुकुरहरूको स्थिति माथि प्रश्न उठायो । तिनीहरूप्रतिको बद्लिँदै गरेको परिप्रेक्ष्यको परिणामस्वरूप उनले जहाँ गए पनि कुकुरहरू देख्न थालिन् ।

जारा बितेपछि उनको नयाँ बानी थपियो ।  

कुकुरहरू कतै भेट्टिहाले खुवाउन भनी उनी सधैँ बिस्कुटका प्याकेटहरू साथमा बोक्थिन् । तर त्यसपछि भने बिस्तारै उनले हरेक कुकुरका शरीरमा घाउहरू देख्न थालिन । यसरी असीम मात्रामा कुकुर माथिको अन्याय पाउँदा उनलाई कुकुरको लागि चिकित्सक चाहिन्छ भन्ने महसुस भयो । 

तर विडम्बना त्यो बेला सडकका कुकुरहरूको हेरविचारका र आश्रयका लागी न नै कुनै अस्पताल थिए न नै कुनै संस्था ।

उनले तिनीहरूको दुःख देख्न सकिनन् । त्यसैले सामुदायिक कुकुरहरूको लागि आश्रय, हेरचाह, र नियमित खाना उपलब्ध गराउन स्थानीय केनेलमा ठाउँ लिइन् । पैसा तिरिन् । यद्यपि, केनेलमा लिएको ठाउँ एक महिना नपुग्दै भरियो । यसरी कुकुरको सङ्ख्या बढिरहेको तर राख्न भने ठाउँ नभएपछि उनलाई आफ्नै आश्रय र हेरचाह गर्ने टोली भए, अझ प्रभावकारी र कुशलतापूर्वक काम गर्न सक्षम हुन्छु कि भन्ने लाग्यो । 

तर आफूले आश्रय दिन पनि कहाँ सहज थियो र । राख्न जग्गा, खुवाउनका लागि नगद र टोलीको लागि आयस्रोत यी तिन आयामहरूले उनलाई चाहेर पनि केही गर्न रोकिरहेको थियो । तर उनी भित्रको ती कुकुरहरूको लागि केही गर्ने हुटहुटीले उनलाई पिरोली रह्यो । अन्तमा केही सिप नलागे पछि उनले आफू बस्ने घर नै बेचिदिइन् । 

र २०१५ मा आफ्नै आश्रय खोलिन् । ‘स्नेहाज केयर’ नामकरण गरिन् । जसको अर्थ प्रेम वा स्नेह थियो । 

समुदायका कुकुरलाई हेरचाहका लागि लड्दै गर्दा उनले धेरै पछि मात्र आफू समुदायका कुकुरहरूप्रति मात्र दयालु भएकी रहेछु भन्ने महसुस गरिन् । त्यस्ता अन्य धेरै जनावरहरूलाई पनि चिकित्सकको ध्यान र हेरचाहको खाँचो रहेको बिस्तारै थाहा पाइन् । 

मानिसहरूलाई बेच्ने दूध सबै बाछोहरूले खाने भएकाले त्यस्ता बाछाहरूलाई जन्मिने बित्तिकै त्यागिदिने चलन व्यापक रहेको थाहा पाइन् । बाख्रा, सुँगुर र भैँसी जस्ता अन्य खेतीपाती जनावरहरूलाई खानाको उद्देश्यका लागि क्रूर व्यवहार गरिने र मारिने गरेको पनि पत्तो लगाइन् । त्यस्ता पशु माथिको दुर्व्यवहार थाहा पाए पछि तीनको लागि पनि केही गर्ने उनले सोचिन् ।  

आश्रयमा कुकुर मात्र नभई पशु फार्म पनि थपिन् । 

आफूले आश्रय दिए पछि त सब ठिक हुन्छ भन्ने सोचेकी थिइन् तर उनले चयन गरेको यात्रा सहज भने रहेन ।

यस संस्थाले बिना शुल्क उपचार गर्दिन्छ भन्ने थाहा भए पछि अरूअरूले आफ्नो कुकुर वा पशु घाइते वा अशक्त हुन साथ राति आएर स्नेहा केयर को वरिपरि छोड्दिन लागे । हरेक अस्पतालले स्नेहा केयरमा मानिसहरूलाई सिफारिस गर्न थाले ।

मानिसहरू बिस्तारै आफ्नो स‌ंस्थामा भर पर्न थालेको देखेर उनी अचम्मित थिइन् । व्यावसायिक दृष्टिकोणले फाइदा भएता पनि उनको मनसाय जनावरको जीवनबाट व्यापार गर्ने भने थिएन । जति सक्दो उनीहरूको ज्यान बचाउनु थियो । तर मानिसहरूको जनवार प्रतिको यस्तो तुच्छ बेबहार देख्दै गर्दा उनले मानव पशु झैँ चेतनाहीन भएको र मानवताले बिस्तारै धरातल छोड्दै गरेको महसुस गरिन् । 

दैनिक हुने घटनाहरूले त्यसलाई प्रमाणित गरिरहेका नै थिए ।

संस्थामा एकै दिन ५ देखि ६ वटा सम्म ठक्कर दिएर भाग्ने (हिट एन्ड रन)को केसहरू आउन लागे । दुरीका कारण एउटै एम्बुलेन्सबाट हरेक केसलाई उद्धार गर्न नसक्दा मानिसहरूले  संस्थाको नैतिकतामाथि प्रश्न उठाउन थाले । फन्डमा आउने त्यत्रो पैसा खाएको भन्दै आलोचना गर्न थाले । त्यो आलोचनाले उनलाई मात्र हैन उनको टिममा भएकाहरूलाई पनि असर गर्थ्यो । ‘त्यस्ता आलोचनाले नमिठो गरी घोच्यो’ उनीसँगै काम गर्ने सिनीयर भेटनरि टेक्निसीयन कमला बताउँछिन् । 

जब कि परिस्थिति उल्टो छ । पैसाकै अभावका कारण पर्याप्त सुविधा दिन नसक्दा उनीहरूले कति जनावरहरूलाई फरक-फरक अस्पताल पठाउनुपर्छ । ‘यस्तो परिस्थितिमा पैसा खाने त परको कुरा सुविधा दिने सामाग्री किन्न सम्मते सोच्न सकिन्न’ उनले थपिन् । 

आश्रयमा पक्षाघात भएर आउने कुकुरहरूमध्ये धेरै हिट एन्ड रन घटनाहरूमा घाइते भएर आएका हुन्छन् । त्यस्ता कुकुरहरूलाई अरू बेला मृत जसरी नै सोच्ने र मानवीय तरिकाले मृत गराइदिने (ईथनाइज गर्ने) चलन रहेछ । जुन स्नेहालाई स्वीकार्य थिएन । तर नेपालमा किन्नको लागि कुकुरको ह्वीलचेयर नपाइने रहेछ । आयात गर्न पनि निकै खर्च हुने र यिनीहरूको हेरचाह गर्नु आफैमा धेरै गाह्रो र महँगो भएता पनि तिनलाई जानिजानी मार्न उनको मनले भने दिएन । धेरै मानिसहरूले उनलाई यी पक्षाघात कुकुरहरूलाई नमारेर किन दुख बिसाएको? भनेर पनि भनिरहेका हुन्छन् । तर उनी त्यो प्रश्न सुन्न पनि मान्दिनन् । 

‘मेरो बुबा १७ वर्षदेखि पक्षाघात हुनुहुन्थ्यो तर  हामीले उहाँलाई ईथनाइज गर्ने बारे कहिल्यै सोचेनौँ ।’

उनको लागि उनका बुबा र आफूले हेरचाह गर्ने कुकुरहरूमा एउटै मात्र फरक छ । उनले आफ्नो बुबाले आफू बाँच्न चाहन्छु भनेको भाषा बुझ्थिन् । तर ती कुकुरहरूले के भनेका छन् उनी बुझ्न सक्दैनन् ।

उनी भन्छिन्, ‘उनीहरूको भाषा नबुझेकाले मलाई उनीहरूलाई इथनाइज गर्ने कुनै अधिकार छैन । 

उनीहरू अहिले एनिमल एम्बुलेन्स चलाउँछन् । 

एनिमल एम्बुलेन्सलाई हर्ने मान्छे को दृष्टिकोण फरक रहेको एम्बुलेन्स चलाक राजीव राई बताउँछन् । मानिसले ‘ए जनवार त रहेछ नि’ भन्दै भरसक बाटो छोड्दैनन् । मानिस र जनावर दुवैको जीवन बराबर हो र आपत्कालीन अवस्था मानवलाई  मात्र नभएर जनवारहरूलाई पनि लागू हुन्छ भन्ने कुराको पर्याप्त ज्ञान मानवमा नभएको उनी प्रस्टै देख्छन् । 

यस्तै घटनाको कारण नेपालमा ‘पशु कल्याण ऐन’ सम्म नभएकोले पशु अधिकारको बारेमा कुरा गर्न गाह्रो हुने स्नेहाले बुझिन् । पहिले पशु कल्याणबाट काम सुरु गर्नुपर्छ भन्ने महसुस गरिन् ।

त्यसैले मानिसहरूलाई जनावरहरूको कल्याणबारे जानकारी दिन शिक्षा परियोजना सुचारु गर्न लागिन् । मद्दत गर्न चाहने तर कसरी सुरु गर्ने भन्ने बारे अनिश्चित व्यक्तिहरूका लागि उनले आफ्नो टोली सहित कार्यक्रमहरू आयोजना गरिन् । जहाँ उनीहरूले मानिसहरूलाई परेको बेलामा सही छनौट गर्न र आवश्यक कदमहरू चाल्न आवश्यक जानकारी र उपकरणहरूबारे सिकाए । 

उद्धारको खाँचोमा परेका जनावरहरू र घाइते भएकाहरूलाई पशु चिकित्सक, प्राविधिक र स्वयंसेवकहरूको योग्य टोलीद्वारा सेवा गर्न मिल्छ भन्ने जानकारी दिँदै उनीहरू ठाउँ ठाउँमा गए । जब उनीहरू विभिन्न ठाउँमा यस्ता सचेतना कार्यक्रम लिएर जान्थे तब मानिसहरूले उनीहरूलाई यस्ता कुराहरू जानकारी गराएकोमा फर्की फर्की कृतज्ञता व्यक्त गर्न आउँथे । यसले आधा नेपालीहरू पशु कल्याणका बारेमा अनभिज्ञ रहेको स्नेहाको अनुमान सत्य भएको उनलाई लाग्यो।

यो सम्पूर्ण प्रक्रियामा उनमा अर्को कुरा फेरियो । 

उनी शाकाहारी भेगन बनिन् । अनि आफ्नो आश्रयस्थानमा पनि सबैलाई साहाकारी नै खुवाउने व्यवस्था मिलाइन् । अहिले आश्रयमा रहेका कुकुरलगायत सबै जनावरहरूले तरकारी मात्र खान्छन् । सुरु सुरुमा त पटक्कै मान्दैन थिए तर बिस्तारै उनीहरूलाई  बानी बस्यो। ‘एउटा जनावरलाई बचाएर अर्को जनावरलाई खुवाउनको लागि मार्नु अविवेकी कुरा हो।’ उनी बताउँछिन् । 

उनीहरूले घटना र उद्धार गर्ने व्यक्तिको आधारमा आफ्ना जनावरहरूको नाम राख्ने गर्छन् । यदि कुकुरलाई अभिषेकले बचायो भने त्यसको नाम अभि, ज्योतिकाले ल्यायो भने नाम ज्योति । त्यसतै कबिना, डेभिड, कबीर, लडाकु, हिउँ, प्रयास, बाबु, निरु स्नेहा केयरमा रहेका केही जनावरका नाम हुन् । स्नेहाको केयर आश्रयमा हाल घाइते र पक्षाघात भएका  १८ वटा गाई, ८ बाख्रा, ४ भैँसी, ६ सुँगुर,  १ भेडा र १६० कुकुर छन् ।

चेतना र शिक्षाको अभावले नेपालमा मानिसहरू पशुहरूलाई वस्तु मान्छन् । आफ्नै उदाहरण दिँदै उनी भन्छिन्, ‘जब मानिसहरूले मेरो कुकुरलाई विष खुवाएर मारे, तब बल्ल मलाई थाहा भयो कि जनावरलाई पनि समान व्यवहार गर्नुपर्छ, उनीहरूलाई पनि हामीलाई झैँ दुख्छ । यसको ज्ञान सानै देखि भएको भए म बाल्यकालदेखि नै पशु अधिकारको अभियन्ता हुने थिएँ । त्यसैले, बाल्यकालदेखि नै व्यक्तिलाई पशु कल्याणको बारेमा सचेत गराउन जरुरी छ ।’

श्रेष्ठको कथा कुकुर पाल्ने हिचकिचाहटबाट सुरु भएर एक पशु अधिकारको पक्षमा अभियन्ता सम्म आइपुगेको छ । यसको पुरा श्रेय उनी जारालाई दिन्छिन् । आफ्नो ज्यान गुमाए पनि जाराले लाखौँको ज्यान बचाउन सफल भएकी छन् जस्तो उनलाई लाग्छ । जारा यो संसारमा नभए पनि स्नेहालाई उत्प्रेरित गरिरहन्छे । स्नेहाको बेडको छेउमा जाराको फोटो अझै यथास्थानमै छ । उनी त्यो फोटोलाई हरेक दिन नियाल्छिन् र समाजबाट समुदायका जनावरहरूको लागि अझ कडा काम गर्न उत्प्रेरित हुन्छिन् ।

प्रतिक्रिया

One thought on “छिमेकीले विष खुवाएर कुकुर मारिदिए, उनले घर बेचेर कुकुरको लागि ठाउँ बनाइन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *