भाइवरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिने
काठमाडौँ । अनलाइनबाट बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको बससेवा डटकमको टिकट अबदेखि रिकुटेन भाइवरबाट समेत काट्न सकिने भएको छ ।
बससेवा ट्राभल्स र रिकुटेन भाइबरबीच एक कार्यक्रमका बिच अनलाइन बस टिकट काट्न सकिने सेवा दिनेबारे सम्झौता भएको हो । सम्झौता पत्रमा बस सेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनाल र रिकुटेन भाइवरका तर्फबाट निर्देशक तोशिहीको ओत्सुकाले हस्ताक्षर गरिन् ।
सम्झौतासँगै अबदेखि भाइवरको च्याटबक्स् मार्फत नेपालका कुनैपनि गन्तव्यको बस टिकट काट्न सकिनेछ । यात्रुहरूले भाइवरबाटै सहजै टिकट बुकिङ गर्न सक्नेछन् ।
सम्झौता कार्यक्रममा बस सेवाका प्रमुख कार्यकारी पी.आर खनालले भने ‘हामीले जहिले पनि यात्रुहरूलाई सहज हुने गरी सेवा प्रदान गर्दै आएका छौँ । यात्रुहरूलाई भाइवरबाट पनि टिकट काट्न सकिने सेवाले थप सहजता ल्याउनेछ भन्ने हाम्रो विश्वास रहेको छ ।’
बससेवा नेपालको एक मात्र अनलाइन बस टिकट विक्री गर्ने माध्यम हो । बससेवा टुर्स एण्ड ट्राभल्स अन्तर्गत रहेर बससेवा डटकम नेपालभरका
अधिकांश रुटहरूमा सेवा प्रदान गर्दै आएको छ । साथै बस सेवाले भारतका नयाँ दिल्ली, बोधगया लगायतका सहरमा समेत अनलाइन टिकट बुकिङ सेवा प्रदान गर्दै आएको छ ।