जापानसँग ८-० ले हार्यो नेपाल
काठमाडौँ । १९ औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत महिला फुटबलमा नेपाल जापानसित पराजित भएको छ । सोमबार साँझ भएको खेलमा नेपाल जापानसित ८-० गोलअन्तरले पराजित भएको हो ।
जापानसित पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ । महिला फुटबलमा नेपालले जापानसित पहिलो पटक खेलेको हो । समूह डी मा रहेको नेपालको यो लगातार दोस्रो पराजय हो । जापानले खेलको तेस्रो मिनेटमै अग्रता लिएको थियो ।
खेलको १३औँ मिनेटमा जापानले दोस्रो गोल गरेको थियो । यस्तै खेलको २७औँ मिनेटमा जापानका लागि मेमी युनोले तेस्रो गोल गरिन् । यस्तै खेलको ३०औँ मिनेटमा जापानकी रेइना वाकिसाकाले चौथो गोल गरिन् । खेलको ३६ औँ मिनेटमा जापानकी हाकुरा ओसावाले गोल गर्दै जापानलाई ५-० गोलको फराकिलो अग्रता दिलाइन् ।
जापानले दोस्रो हाफमा नेपालविरुद्ध थप तीन गोल गरेको थियो । खेलको ५८ औँ मिनेटमा जापानका लागि कोटोनो साकाकीबराले छैटौँँ गोल गरिन् । यस्तै खेलको ७४ औँ मिनेटमा ओसावाले व्यक्तिगत दोस्रो गोल गर्दै जापानलाई ७-० गोलको अवस्थामा पुर्याइन। यसैगरी खेलको इन्जुरी समयमा जापानका लागि हाजिकाताले गोल गर्दै आफ्नो टोलीलाई ८-० गोलअन्तरको जित दिलाइन् । जापानले पहिलो खेलमा बंगलादेशलाई पनि ८-० गोलअन्तरले पराजित गरेको थियो ।
यसअघि समूह चरणको पहिलो खेलमा शुक्रबार नेपाल भियतनामसित पराजित भएको थियो । नेपाल भियतनामसित २-० गोल अन्तरले पराजित भएको थियो । नेपालले पहिलो हाफमा भियतनामलाई गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा भने दुई गोल खान पुगेको थियो ।
समूह डी मा रहेको नेपाल अंक तालिकाको तेस्रो स्थानमा छ । लगातार दोस्रो जितपछि जापान ६ अंक जोडेर समूह डी को शीर्ष स्थानमा छ । यस्तै भियतनाम दोस्रो स्थानमा तथा बंगलादेश अंक तालिकाको पुछारमा रहेको छ । नेपालले समूह चरणको अन्तिम खेल यही असोज ११ गते बंगलादेशसित खेल्ने छ ।