काँग्रेसले भन्यो– शिक्षासम्बन्धि विधेयक परिमार्जन हुन्छ
काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसले संसदमा पेश गरिएको शिक्षासम्बन्धि विधेयक परिमार्जन गर्ने प्रतिवद्धता जनाएको छ ।
मंगलवर पार्टी संसदीय दलले सरोकारवाला निकायसँग छलफल गरी शिक्षकहरुले सरकारसँग गरेको ६ बुँदे सहमति र राहत शिक्षकहरुको मागलाई सम्बोधन हुने गरी सो विधेयक परिमार्जन गर्ने प्रतिवद्धता जनाएको हो ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा भएको छलफलमा सरोकारवाला निकायका विभिन्न २० वटा संघ, संस्थाहरुले आफूहरुको माग सम्बोधन हुनेगरी सो विधेयक परिमार्जन गर्न काँग्रेस नेताहरुको ध्यानाकर्षण गराएका थिए ।
सरोकारवाला निकायका मागलाई सम्बोधन हुनेगरी सो विधेयक परिमार्जन गर्न प्रतिवद्धता पार्टीको तर्फबाट प्रतिवद्धता जनाइएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
उनले आफ्नो पार्टीले सो विधेयकलाई समृद्ध बनाउनका लागि बुधवार (भोलि) अपरान्ह १ बजे विज्ञहरुसँग पनि छलफल कार्यक्रम तय गरिएको बताउए ।
प्रमुख सचेतक लेखकले भने, ‘अहिले जुन विद्यालय शिक्षा विधेयक, जो आएको छ । यो महत्वपूर्ण विधेयक मध्यको एउटा विधेयक हो । त्यसमा हामीले आज सरोकारवालाहरुसँग छलफल गरेका छौं । जसमा २३ जना वक्ताहरुले आफ्ना धारणा राख्नुभएको छ । झन्डै शिक्षाको क्षेत्रमा काम गरिराखेका २० वटा संस्थाका धारणाहरु सुन्न अवसर हामीले प्राप्त गरेका छौं । र, भोलि एक बजे हामी विशेषज्ञहरुसँग बसेर यो विधेयक बनाउँदा संलग्न हुनुभएका विज्ञहरुसँग पनि बसेर छलफल गर्छौं । र, यसको मुख्य उद्देश्य के हो त भन्दा सबै सरोकारवालाका कुरा सुनिसकेपछि नेपाली काँग्रेसले यो विधेयकलाई समृद्ध गर्नका लागि, यो विधेयकलाई परिमार्जन गर्नका लागि, के–के गर्दा यो परिमार्जन हुन्छ, समृद्ध हुन्छ ? र, सबैका भावना यसमा समाहित हुन सक्छन भन्ने उद्देश्यका साथ गरिएको हुनाले हामी यसलाई परिमार्जन गर्छौं । शिक्षाको यो विधेयकलाई परिमार्जन गर्ने, समृद्ध बनाउने कुरा नै भएको हुनाले नेपाली काँग्रेसको तर्फबाट संसदमा यो विधेयकलाई परिमार्जन गर्ने गरेर हाम्रो भूमिका निर्धारण हुन्छ । सरकारको विधेयक ल्याउने काम हो । हामी त्यसलाई परिमार्जन गर्छौैं ।’
यता, सरोकारवाला निकायहरुले राहत शिक्षक र बाल विकासका शिक्षकहरुको माग पनि सम्बोधन हुने गरी सो विधेयक संसदबाट पारित गराउन काँग्रेस नेतृत्वलाई सचेत गराएका थिए ।
सबै शिक्षकहरुले फेरि आन्दोलन गर्नु नपर्नेगरी सो विधेयक संशोधन गर्न नेताहरुको ध्यानाकर्षण गराईको नेपाल शिक्षक राष्ट्रिय महासंघकी अध्यक्ष कमला तुलाधरले बताए ।
उनले भने, ‘माईतीघर मण्डलाबाट बाल शिक्षकहरु र राहत शिक्षकहरुलाई विद्यालय पठाउने वातावरण फेरि बनाइ दिनुप¥यो । त्यहाँ हाम्रा साथीहरुलाई सडकमा सुताउने काम गर्नुभएन । हामीले त्यही भनेका छौं ।’
छलफलमा काँग्रेसका प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुको उपस्थिति रहेको थियो ।