सरोजले यो नाटक अनुवाद गर्दा देशमा युद्ध चल्दै थियो, स्टेजमा भने यसपाली बल्ल आयो
थापागाँउ स्थित कुञ्ज थिएटर म पहिलो पटक जाँदै थिएँ । त्यहाँ ‘म पनि मान्छे हुँ’ नाटक मञ्चन भइरहेको थियो । मलाई नाटककै विषयमा निर्देशक सरोज अर्याल सङ्ग कुरा गर्नु थियो ।
उनले भनेअनुसार म नाटक हेर्न करिब ५:२० मा थिएटर पुगेँ । नाटक हेर्न दर्शक एकदम कम थिए । पछि कुरा गर्दा पनि निर्देशक दर्शक कम भएको गुनासो गरिरहेका थिए ।
लगभग ६५ मिनेटको नाटक भारतीय लेखक विष्णु प्रभाकरको नाटक सङ्ग्रह ‘मे भि मानव हुँ’ बाट अनुवाद गरिएको रहेछ । विक्रम संवत् २०५६ सालमा निर्देशक अर्यालले नै नेपालीमा अनुवाद गरेका रहेछन् । उनले २०५७ सालमा नै सो नाटक बनाउन चाहेका रहेछन् । २०५७ मा बनाउन चाहेको नाटक करिब २३, २४ वर्षपछि बल्ल मञ्चन भइरहेको थियो ।
‘यतिका वर्ष पश्चात् ?’ मलाई उनको कुरा अनौठो लाग्यो । सोधेँ ‘दुई दशक अगाडि तपाई यो नाटकसम्म कसरी जोडिनुभएको थियो ?’
‘म किताब पढ्न एकदम रुचाउने मान्छे, नयाँ किताब पाए भने चोरेर पनि पढ्थेँ’ उनले बताए ।
ऐतिहासिक किताब पढ्न रुचाउने उनी सोही क्रममा नाटक सङ्ग्रह ‘मे भि मानव हुँ’ सँग ठोक्किन पुगेका रहेछन् । सङ्ग्रहमा चार वटा नाटक थिए । ती मध्ये ‘मे भि मानव हुँ’ शीर्षकले नै उनलाई तान्यो ।
नाटकको कथावस्तुले पनि एकदमै छोयो ।
नाटकले अशोक सम्राट्को अन्तिम युद्धलाई देखाएको छ | एउटा क्रूर शासकको दम्भ लाई दर्साएको छ । यता अशोकले बन्दी बनाएका कलिँगका राजकुमार भने सम्राट्को दम्भसँग कदापि झुक्दैनन् ।
राजकुमार बारम्बार युद्धको निष्कर्ष केवल हिंस्रक हुने र उनी जिउँदो हुँदासम्म कलिँग कसैको हुन नसक्ने बताइरहन्छन् ।
नाटकले अशोक सम्राट्को बौद्धमार्गी तर्फको यात्राको चित्रण गरेको छ । क्रूर शासक कसरी बौद्धमार्गी भए भनेर देखाएको छ ।
‘त्यतिखेर यो नाटक किन गर्न चाहनुहुन्थ्यो ?’ नाटक हेरिसकेपछि पनि मेरो कौतुहलता अझै सकिएको थिएन ।
‘दुई दशक अघि पनि म नाटकमा व्यस्त थिएँ । ‘रणदुल्लभ’ नाटक सकाएको थिएँ । त्यो बेला कुनै ऐतिहासिक नाटक गर्ने इच्छा जागेको थियो । खोज्दै जाने क्रममा यो नाटक सँग जोडिन पुगेछु ।’ उनी थोरै नोस्टाल्जिक सुनिए ।
ऐतिहासिक कथा सँगै उनी देशको राजनीतिक अवस्थाबाट पनि प्रेरित थिए ।
त्यो बेला देश युद्धको चपेटामा थियो । युद्धले सबैतिर विक्षिप्त बनाएको थियो । त्यही क्रममा उनले नाटक ‘अन्धो युग’मा अभिनय गरेका थिए । त्यसपछि त झन् युद्ध भएको बेला युद्ध समाधान हैन भनेर बुझाउन नाटक गर्न मन लाग्यो । उनी त्यस नाटक गरेर शान्तिको महत्त्व बुझाउन चाहन्थे |
तर समयको उनले चाहेअनुरूप भएन । तत्कालीन माहौल एकदमै अस्तव्यस्त थियो । नाटक गर्न सहज थिएन । त्यसबिच उनको सपनामा पनि ब्रेक लाग्दै गयो ।
बिस्तारै सँगै काम गर्ने साथीहरू छुटिँदै गए । साथीहरू कोही अस्ट्रेलिया, अमेरिका त कोही अन्य देश गए । उनी पनि अमेरिका पुगे । त्यहाँ लिंकन थिएटरमा नाटक पढे । अमेरिकामै नाटक पनि गरे ।
त्यसपछि आठ वर्ष परदेशमा बित्यो । त्यो बिचमा धेरै थोक परिवर्तन भयो । करिब आठ वर्षको अमेरिका बसाई पश्चात् २०७१ मा उनी नेपाल फर्किए ।
अमेरिकाको बसाई सहज नभएको अर्याल बताउँछन् । भाषाको कारणले उनले सङ्घर्ष गर्नुपर्यो ।
त्यस बिच उनी मादक पदार्थको लतमा पनि परे । तर अहिले भने नयाँ जीवन पाएको बताउँछन् ।
‘विगतको २०वर्षमा दर्शकको रोजाइमा फरक आए होलान्, तपाई भने किन पुरानै प्रोजेक्टमा जोडिन चाहनुहुन्छ ?’ मलाई यो बेला नाटक गर्नुको कारण जान्नु थियो ।
‘मेरो लागि यो नाटक परीक्षा हो’ उनी भन्दै गए । ‘यसमा मेरो बिस वर्ष अगाडीको परिकल्पना नै समेटिएका छन् । नाटकमा प्रयोग भएको पहिरन देखि सेट सम्म सबै दुई दशक अगाडि को कल्पना हो । वि.स. २०५६/५७ तिर नाटक गर्दा सोही किसिमको सेटको प्रयोग हुन्थ्यो । यो नाटकलाई मैले उ बेला देखि नै अर्काइभ गरेर राखेका थिए । यसै मार्फत आफ्नो सिकाई र भोगाइलाई परीक्षण गर्दै छु ।’ उनले लामो जवाफ दिए ।
अमेरिकाबाट फर्के पश्चात् उनले धेरै तिर अभिनय गरेछन् । तर निर्देशमा भने भने दोस्रो अध्याय सुरु गरेका रहेछन् ।
धनपति, घामपानी, नालापानी जस्ता चलचित्रमा अभिनय गरिसकेका अर्यालले निर्देशन गर्दा भने अझै बढी दृढ हुने बताए । निर्देशन गर्दाको प्रेसरमा अझ रमाउने बताए ।
उनी आफ्नो नाटक विशेष नभएको स्विकार्छन् । निर्देशन गर्दा पनि केही चुनौती नभएको बताउँछन् । आफ्नो नाटकलाई सरल बताउन रुचाउने उनको लागि भने समग्र नाटक क्षेत्र विशेष छ।
‘नाटक मेरो लागि बाँच्नु सरह हो । नाटक गर्दा ध्यान गरेको महसुस हुन्छ ।’ उनी भन्छन् ।
पहिलोपल्ट कक्षा तीनमा नाटक गरेका अर्यालको लागि जीवनको कठिन परिस्थितिमा पनि नाटक थेरापी बनेको रहेछ । उनी सानैदेखि अभिनयमा रुचि राख्थे । पढाइप्रति खासै ध्यान दिएनन् । स्कुलको पढाइ सके पश्चात् परिवारको करकापमा शंकरदेव क्याम्पसमा भर्ना भएका थिए । कलेज जानुको सट्टा नाटक पढ्न नाचघर जान्थे ।
त्यो बेला उनको बाटोलाई स्पष्ट पार्न पनि नाटकले मद्दत गरेको रहेछ ।
‘म पनि मान्छे हुँ’ नाटकको रिहर्सल दुई महिना अघि सुरु भएको हो । नाटकको निर्माण यात्रामा आफ्नो श्रीमतीको पनि महत्त्वपूर्ण योगदान रहेको उनी बताउँछन् । यो नाटकमा उनको श्रीमतीले नै लगानी गरेकी हुन् । ‘जीवनमा साना कुराको ख्याल श्रीमतीले गरिदिएकोले मैले कुनै चिन्ता बिना काम गरेको छु’ उनी सगर्व भन्छन् ।
नाटकमा कलाकार अङ्कित खड्का, सुस्मा निरौला, बिम्ब अधिकारी, अभिषेक शर्मा राजोपाध्याय, व्याञ्जु मनिष, संस्कृति दवाडी, सन्दिप डङ्गोल, एडेन बात्री र सदिन लुइँटेल लगायतले काम गरेका छन् । उनले सबै कलाकार सङ्ग पहिल्यै काम गरिसकेका छन् ।
‘यो नाटक अहिले किन ?’ मलाई उनको कारण अझै बुझ्न मन लागिरहेको छ ।
‘म नयाँ पुस्तालाई आफ्नो कथावस्तुको साथसाथै २०५६/२०५७ सालमा प्रचलित नाटकका शैली बुझाउन चाहन्छु । यो नाटकले हतियारले युद्ध जित्ने नसकिने बताएको छ । शान्ति नै प्रगतिशील बाटो हो भनेको छ । म यो कुरा आजको समाजलाई पनि बुझाउन चाहन्छु ।’
उनी भन्छन् । अनि कुरा टुङ्ग्याउँदै थप्छन्, ‘बाँकी कुरा त नाटकको शीर्षक आफैँले भनिरहेको छ ।’