बझाङमा भूकम्पका १२ धक्का : घर/विद्यालयगायत संरचनामा क्षति, स्थानीय खुला चौरमा
काठमाडौँ । बझाङमा गएराति ४ पटक भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बझाङ केन्द्रविन्दु भएर ४ पटक गएको हो ।
केन्द्रका अनुसार गएराति १२ : १६ बजे ४.१ रेक्टर स्केलको, १२ :५० मा ४.३ रेक्टर स्केलको, बिहान ४:२७ बजे ४.३ रेक्टर स्केलको र ५ :४३ मा बजे ४.३ रेक्टर स्केलको भूकम्प गएको हो । मंगलबार दिउँसो पनि बझाङ केन्द्रविन्दु बनाएर ५.३, ६.३,५.१,४.१, ४.१, ४.३,५ र ५ रेक्टर स्केलका गरि ८ पटक गएको केन्द्रले जनाएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार यहाँ १२ वटा पराकम्पन गएका थिए ।
भूकम्पका कारण खसेको पहिरोमा परी एक महिला बेपत्ता भएकी छन् । भूकम्पका कारण बझाङ र बैतडीमा १८ जना घाइते भएका हुन् । टिमुर टिप्न गाउँनजिकैको जंगलमा गएकी बझाङको जयपृथ्वी नगरपालिका-११ ओखल गाउँकी गुनदेवी धामी पहिरोमा बेपत्ता भएको प्रहरीले जनाएको छ ।
बझाङका प्रहरी प्रवक्ता दीपेश चौधरीका अनुसार जयपृथ्वी नगरपालिकामा, मस्टा, केदारस्युँ, खप्तडछान्ना र बित्थडचिर गाउँपालिकामा गरी १६ जना घाइते छन् । घाइते धेरैजसो विद्यार्थी छन् । भूकम्पपछि गएको सुक्खा पहिरोका कारण अवरुद्ध जयपृथ्वी राजमार्ग मंगलबार रातिसम्म खुल्न सकेको छैन ।
सदरमुकाम चैनपुर आसपास केन्द्रबिन्दु बनाएर मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा गएको ६.३ म्याग्निच्युडको भूकम्पको धक्का भारतको दिल्लीसम्म महसुस गरिएको थियो । पटक-पटक परकम्प गइरहेकाले स्थानीय घरबाहिर खुला चौरमा बसिरहेका छन् । जिल्ला अस्पतालमा भएका बिरामीलाई बाहिर राखेर उपचार भइरहेको छ । ‘सदरमुकाम चैनपुरमा यतिधेरै घरमा क्षति भएको छ । परकम्पले घरभित्र बस्ने अवस्था छैन,’ चैनपुरका सुनील नेपालीले भने, ‘फेरि भूकम्प आउने हो कि भन्ने डरले सबै बाहिरै छौं ।’
चैनपुर र आसपासका गाउँमा थुप्रै घर, विद्यालय र वडा कार्यालयलगायत संरचनामा क्षति भएको जानकारी आइरहेको प्रहरीले जनाएको छ । भूकम्पको धक्का सुदूरपश्चिमका ९ वटै जिल्लामा परेको थियो । प्रदेश राजधानी धनगढी, महेन्द्रनगर, डडेल्धुरा, दीपायललगायतका स्थानमा पनि भूकम्पका कारण मान्छेहरू सडकमा निस्किएका थिए ।