पीडित परिवारले चाहेमा मात्रै कैद मिनाहा गर्न सकिने कानुन बनाऔँ : महामन्त्री शर्मा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले पीडित परिवारले चाहे मात्र कैद मिनाहा गर्न सकिने कानुन बनाउनुपर्ने बताएका छन् ।
शुक्रवार नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले पीडित परिवारका सदस्यहरूले चाहेमा मात्रै पीडकलाई कैद मिनाहा गर्न सकिने कानुनी व्यवस्था गर्नुपर्ने बताएका हुन् ।
उनले पीडित परिवार दोषीलाई माफी दिन तयार भएमा राष्ट्रपति समक्ष पुगेर माफी दिन सकिने बताए । तर परिवार पनि धम्की र लोभका कारण माफी दिन तयार देखिन सक्ने खतरा रहेको औँल्याउँदै उनले नेपाली समाजमा यसो गर्न पनि सजिलो नहुने बताए ।
उनले नेपालगन्जका रिगल डन भनिने योगराज ढकाललाई माफी दिने सरकारको निर्णयलाई अदालतले वैद्यता दिनु नहुने बताए । उनले अदालतले सो निर्णयलाई वैधता दिएमा दण्डहीनता बढेर जाने बताए ।
उनले भने ‘अब हामीले कानुन बनाउँदै गर्दाखेरि सरकार कांग्रेस, एमाले, माओवादी जुनसुकै दलको जहिल्यसुकै बनोस् अबको दशकमा देशले हिँड्दै गर्दाखेरि कसैलाई माफी दिने हो भने त्यो परिवारकै सदस्यलाई बोलाएर सोधौँ । त्यो परिवारको सदस्य के तयार छ त्यसमा माफी दिन रु माफी दिन तयार छ भने राष्ट्रपतिकोमा लिएर माफी दिऊँ । माफी दिन परिवार तयार छैन भने त्यो अवस्थामा हामीले माफी दिने कुरा गलत हुन्छ । यद्यपी परिवार तयार हुने बित्तिकै माफी दिइहाल्नु पर्छ भन्ने कुरापनि फेरि हाम्रोजस्तो समाजमा सजिलो कुरो होइन । परिवारलाई धम्क्याइएको हुनसक्छ । लोभ्याइएको हुनसक्छ । जब दिन दहाडै खुडाले हानेर प्रहार गरेको मान्छे फूलमाला, अबिर लगाएर जुनसुकै राजनीतिक दलको आस्था राखेको मान्छे होस् फुलमाला लगाएर हिँडेको देखिन्छ अनि नागरिकमा वितृष्णा हुँदैन रु नागरिकमा आवेग हुँदैन ? र त्यो आवेग कहिले राजनीतिक रूपमा भड्किन्छ । कहिले धार्मिक रूपमा भड्किन्छ । त्यसकारणले यो अहिले समाजमा भइरहेको वितृष्णा र समाजमा फैलिइरहेका विविध खाले आवेगलाई नियन्त्रण गर्न पहिला हामी नियन्त्रित हुनुपर्छ । सांसद, मन्त्रीदेखि प्रधानमन्त्रीसम्म संयमित बन्नुपर्छ । अदालतमा विषय प्रवेश गरेको छ । अदालतले फैसला गर्दै गर्दाखेरि यसमा सकारात्मक ढंगको आदेश दियो भने त्यसले आगामी दिनमा यो प्रकारको घटनालाई निरुत्साहित गर्ने, नियन्त्रण गर्ने र सरकारलाई बाँध्ने कुरा बन्छ । तर अदालतले यसलाई माफी दिन पाउने कुरालाई वैधता दियो भने यसले दण्डहीनतालाई बढाएर जान्छ । अदालतले यसलाई गम्भीरतापूर्वक केन्द्रमा राख्छ भन्ने कुरालाई आशावादी बनौँ र विश्वस्त बनौँ ।’
महामन्त्री शर्माले समाजमा हरेक क्षेत्रमा आवेश र असन्तुष्टि रहेको भन्दै यसले सामाजिक सद्भाव बिगार्न मद्दत पुगिरहेको बताए । उनले सरकारले जिम्मेवारीपूर्ण भएर काम गरे नागरिकको विश्वास आर्जन हुने र यस्तो घटनाक्रमहरू रोकिने बताए ।
उनले संसदमा हुने सांसदहरूको प्रस्तुति पनि परिपक्व, संयम र जिम्मेवार बनाउनुपर्ने बताए ।
उनले भने ‘सबै क्षेत्रमा आवेग छ । हरेक मान्छेलाई हरेकसँग किन हो किन रिस उठिराखेको छ । हरेक मान्छे हरेक मान्छेसँग असन्तुष्ट छ । हरेकसँग प्रश्न छ । गुनासो छ । तर बडा संयमपूर्वक, आत्मीयतापूर्वक सद्भावलाई कायम राख्नेभन्दा अर्को उपाय छैन । यो एउटा घटनाक्रम भन्दापनि प्रवृत्तिको रूपमा विकास हुनु हुँदैन । यसलाई कसरी हुन्छ समन्वयमा लिनुपर्छ । सरकारले गर्ने गतिविधिहरू जिम्मेवारीपूर्ण ढंगको भएर आयो, सरकारले गर्ने कर्महरूले नागरिकमा विश्वासहरू सिर्जना गर्न थाल्यो । संसदमा हुने हाम्रा प्रस्तुतिहरूले परिपक्वता, संयम र जिम्मेवारी बनाउन थाल्यौँ त्यसको प्रभाव समाजमा पर्छ । रोष्टममा उभिएर विश्वप्रकाश शर्माले अत्यन्तै आवेगको अभिव्यक्ति राख्यो भने विश्वप्रकाशलाई समर्थन गरिरहेको पार्टीको सदस्यले त्यो आवेगलाई बढाएर लान्छ । घटाएर लाँदैन । त्यसकारण सरकारको गतिविधिहरूले, प्रतिपक्षको गतिविधिले यस्तो खालको कुरालाई बढाउने, राजनीतिकर्मीका कारणले बढाउने कुरालाई बल पु¥याएको छ कि रु’
महामन्त्री शर्माले राजनीतिकर्मीहरू आफ्नो अभिव्यक्ति राख्ने कुरामा सजग र सचेत हुनुपर्ने बताए ।