एक वर्ष लगाएर भएपनि उल्टो भएको शिक्षा विधेयकलाई सुल्टो बनाउनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यालय शिक्षा विधेयकले संविधान र पाठ्यक्रमले गरेको अपेक्षा पूरा गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधि सभामा शुक्रवार विद्यालय शिक्षा विधेयक, २०८० विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै महामन्त्री थापाले संविधान र पाठ्यक्रमले गरेको अपेक्षा पूरा गरेमात्रै शिक्षा विधेयकले सार्थकता पाउने बताएका हुन् ।

उनले विद्यालयमा पढिरहेको विद्यार्थी पढिसके पछाडि त्रिभुवन विश्वविद्यालयतिर जान्छु भन्ने नभई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतिर जाने गरेको बताए । थापाले विद्यालय शिक्षा विधेयकलाई टुंगोमा पुर्याउनुपर्ने जिम्मा अब सांसदको हातमा रहेको बताए ।

उनले वृहत् छलफल गरेर उल्टो भएको विधेयकलाई सुल्टो बनाउन जरुरी रहेको बताए । शिक्षण पेसालाई आकर्षक, मर्यादित पेसा बनाउनुपर्ने उनको भनाई छ । शिक्षकहरूको तलब सबैभन्दा उच्च हुनुपर्ने भन्दै शिक्षकका सकारात्मक कुरालाई ग्रहण गर्नुपर्ने बताए ।

थापाले एक वर्ष नै लागेपनि यो संसदले विधेयक बनाइसकेपछि अर्को १५–२० वर्ष नेपालको विद्यालय शिक्षालाई यसले मार्ग दर्शन गर्ने बताए ।

थापाले भने ‘यो विधेयकको अन्तिम पृष्ठमा लेखिएको छ, यो विधेयक कानुन बनेर कार्यान्वयन भइसकेपछाडि संविधान र पाठ्यक्रमले गरेको अपेक्षा पूरा हुन्छ । संविधानले गरेको अपेक्षा भन्नासाथ सङ्घीयताको कुरा आउँछ । पाठ्यक्रमको अपेक्षा भनेको ज्ञान प्राप्त गरेपछि उसले विवेचना गर्नसक्छ । २१ औँ शताब्दीको युगमा ए।आई।रोवर्टीक्सको युगमा जानुपर्ने बेलामा विज्ञान, गणितको गहिरो सङ्कट छ । कक्षा १ मा एक सय जना विद्यार्थी भर्ना हुन्छ, १२ कक्षा पुग्दै गर्दा ३० जना विद्यार्थी बाँकी हुन्छ । भन्नुको मतलब विद्यार्थी टिक्दैन । विज्ञान र गणितको सिकाई २८ मात्रै छ । अङ्ग्रेजीको त करिब करिब २५ मात्रै छ । जो विद्यार्थी टिक्छ उसले सिक्दैन । नसिकेको हुनाले बिक्दैन । विद्यालयमा पढिरहेको विद्यार्थीलाई पढिसकेपछाडि त्रिभुवन विश्वविद्यालयतिर जान्छु भन्ने होइन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतिर जान्छु भन्ने रहर हुन्छ । अर्थात् त्यहाँ भित्र प्रेरणा पनि छैन । ५० जना भन्दा कम विद्यार्थी भएको विद्यालय ६ हजार भन्दा बढी छ । विद्यार्थी र शिक्षक सम्पूर्ण रूपमा पुगेको विद्यालय सङ्ख्या ६ सय पनि पुग्दैन । यो खालको व्यवस्थापनको अवस्था छ । अपेक्षा, अवस्था दुईवटै कुरा नहेरीकन खण्ड खण्डमा हेरेर यो विधेयक आएको छ । अब यो संसदको काम हो, हाम्रो काम हो । यो समितिमा जान्छ आज । समितिमा गएपछि हामीले हतार नगरी काम गर्नुपर्नेछ । दुई महिना लागोस् पाँच महिना लागोस्, साथीहरूले जनतामा लैजानुपर्छ भन्नुभएको छ,समितिले पनि त्यो काम गर्नसक्छ । सबै सरोकारवालालाई बोलाउन सक्छ, छलफल गराउन सक्छ । वृहत् छलफल गरेर उल्टो भएको विधेयकलाई सुल्टो बनाउनुपर्नेछ । विद्यार्थीलाई केन्द्रमा राख्नुपर्नेछ । शिक्षण पेसालाई आकर्षक पेसा, मर्यादित पेसा, सबैभन्दा हाईएस्ट पेड बनाउनुपर्नेछ । शिक्षकका सकारात्मक कुरालाई ग्रहण गर्नुपर्नेछ । स्कुलको गभरनेन्सका बारेमा सच्याउनुपर्नेछ । स्थानीय सरकारको कुरा योसँग मिलाउनुपर्नेछ । एक वर्ष नै लागेपनि यो संसदले यो कानुन बनाइसकेपछि अर्को १५–२० वर्ष नेपालको विद्यालय शिक्षालाई यसले मार्ग दर्शन गर्नुपर्नेछ ।’

विद्यालय शिक्षा विधेयकलाई सङ्घीयतासँग जोड्न जरुरी रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *