देशबाट भाग्नुपर्ने स्थिति आउनुभन्दा अगाडि नै नयाँ सम्झौता गरौँ : लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले संघीयता देशको लागि आवश्यक नभएको बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले संघीयतालाई अब घिसारेर लैजान नसकिने भन्दै रक्तपात बिना र दबाब बिना सल्लाह गरेर राजतन्त्र पुनःस्थापना गर्न राजनीतिक दलहरुसँग आग्रह गरे ।

उनले नयाँ सहमति नगरे र दलहरु नसच्चिए अब जनदबाबको आँधीबेरीको तयारी गर्ने खायित्व राप्रपाको भएको बताए ।

उनले राजनीतिक दलका नेताहरुलाई देशबाट भाग्नुपर्ने स्थिति आउनुभन्दा अगाडि सच्चिन चेतावनी दिए ।
उनले राप्रपा पार्टीले अब देशको नेतृत्व नगरेसम्म देशभित्रै गरिखाने वातावरण सिर्जना नहुने बताए ।

उनले दशैँ तिहार सकिएपछि आन्दोलनको आँधीबेरी सिर्जना गर्नेगरी अघि बढ्न दलका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

उनले भने– ‘यो अभ्यासको डेढ दशक भन्दा बेसी समयले बतायो, संघीयता देशको लागि आवश्यक चिज होइन । अब यही चिजलाई घिसारेर लैजान सकिँदैन भन्नेकुरा तपाईहरुलाई पनि थाहा छ । त्यसकारण रक्तपात बिना, दबाब बिना, तपाईहरुले भाग्नुपर्ने परिस्थिति नआइकनै सल्लाह गरेर मिलाउँ । र बाटो फेराँै । र नयाँ सहमति बनाऔँ । आज पनि भन्न चाहन्छु, यदी यो दलहरुमा अलिकति मात्रै पनि बुद्धि बाँकी छ, देशप्रति प्रेम अलिकति मात्रै पनि छ भने अब नयाँ सम्झौतामा जानुपर्छ । नयाँ व्यवस्थामा जानुपर्छ । देशलाई दुर्घटनामा जान दिनु हुँदैन । होइन, दलहरु सच्चिँदैनन् र उनीहरु नयाँ सम्झौताको लागि तयार हुँदैनन् भने अब जनदबाबको आँधीबेरीको तयारी गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको हुन्छ, तपाई हाम्रो हुन्छ । देशको यो अवस्थामा हामी मुक दर्शक भएर बस्न सक्दैनौँ । राप्रपा अब यो देशको नागरिकको सुरक्षाका लागि देशको पहिचानको रक्षाका लागि सर्वाङ्गिण रुपमा भन्ने हो भने निजी क्षेत्रको सुक्षाको लागि, देशको अर्थतन्त्र सुधारमा होस्, वा हाम्रो जीवनकालमै दशमै गरिखाने वातावरण बनाउन होस् । अब हामी अघि बढ्छौँ । राप्रपा पार्टीले अब नेतृत्व गर्छ । त्यसका लागि सबै साथी तयार र सक्रिय हुन आग्रह गर्छु । संगठन बनाउँदै जाने र दशैँ तिहार सकिएपछि आन्दोलनको आँधीबेरी सिर्जना गर्नेगरी अघि बढ्छौँ । चुप लागेर बस्ने छुट र सुविधा छैन ।’

अध्यक्ष लिङदेनले राप्रपा भ्रष्टाचारका बिरुद्ध सडकमा आउने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *