२७ औं वर्षमा बुध्द एयर, २६ वर्षसम्म २ करोडभन्दा बढी यात्रुले सेवा लिए
काठमाडौँ । नेपाली आकाशमा सानो १८ सिटे जहाजबाट उडान भरेको बुध्द एयर आज २६ वर्ष पूरा गरी २७ औं वर्षमा प्रवेश गरेको छ ।
यस अवधिमा बुध्द एयरबाट २ करोडभन्दा बढी स्वदेशी तथा विदेशी यात्रुले सेवा प्राप्त गरिसकेका छन् ।
बुध्द एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले वातावरणमैत्री जहाजका साथै हवाई कम्पनीमा कार्यरत टेक्निकल, पाइलट तथा ग्राउन्ड अपरेसन टिमका आफ्ना जनशक्तिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नियमनकारी निकायको आवश्यकता अनुसार निरन्तर क्षमता अभिवृद्धि गरिरहेको बताएका छन् ।
उनले भने ‘बुध्द एयरको उडान सेवालाई प्रभावकारी बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट नियमित अडिट एवम् मूल्याङ्कन गराउँदै आएका छौं ।’
बुध्द एयरले ‘यात्रुको समय हाम्रो उडान’ भन्ने मन्त्रका साथ विभिन्न गन्तव्यमा उडान सङ्ख्या अभिवृद्धि गरिरहेको छ । पोखराका लागि दैनिक १७, विराटनगर तथा भैरहवाका लागि क्रमशः ९ र १० उडान भरिरहेको छ ।
यसबाहेकका गन्तव्यहरुमा पनि आधा दर्जनभन्दा बढी उडान रहेको छ ।
सुर्खेत, तुम्लिङटार तथा धनगढीमा पनि विस्तारै उडान सङ्ख्या थप्ने उनले. बताए ।
उनले बुध्द एयरको २६ औं वार्षिकोत्सवको उपलक्ष्यमा सबै यात्रु, पर्यटन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण, नेपाल आयल निगम, विभिन्न वित्तीय निकाय, ट्राभल एजेन्सी÷पोर्टल तथा आफ्ना सम्पूर्ण शुभचिन्तकहरूमा हार्दिक कृतज्ञता प्रकट गरे ।
बुध्द एयर निजीतर्फकै अगुवा एयरलाइन्स कम्पनी हो । हाल बुध्द एयरसँग ३ वटा एटीआर–४२ तथा १३ वटा एटीआर–७२ जहाज रहेका छन् । एटीआर जहाज यात्रुमैत्री हुनुका साथै वातावरणमैत्री जहाज हुन् ।
बुध्द एयरले अक्टोबर महिनाभित्रै थप अर्को एटीआर जहाज भित्र्याउन लागेको छ । योसँगै बुध्द एयरको जहाज सङ्ख्या १७ पुग्नेछ ।
जहाज मर्मतसम्भारका लागि बुध्द एयरसँग अत्याधुनिक ह्याङ्गर रहेको छ, जुन दक्षिणपूर्वी एसियाकै उत्कृष्टमध्ये एक हो । यो ह्याङ्गर विदेशबाट पनि पुरस्कृत भइसकेको छ ।
बुध्द एयरले आफ्ना जहाज मात्रै मर्मतसम्भार नगरी स्वदेशी तथा विदेशी कम्पनीहरुलाई पनि सेवा दिइरहेको छ ।
तस्बिरहरू :