शेखर निकट केदार कार्कीलाई कोशीको मुख्यमन्त्री बन्नबाट रोक्न गगनको दौडधुप

काठमाडौं । नेकपा एमालेका हिक्मत कार्कीले विश्वासको मत नलिएर राजीनामा दिएपछि कोशी प्रदेश सरकार गठनको प्रक्रिया थप जटिल बन्दै गएको छ ।

संविधानको धारा १६८ को उपधारा ५ बमोजिमको सरकार गठन गर्न प्रदेश प्रमुखले समय दिए पनि काँग्रेसको आन्तरिक राजनीतिक किचलोका कारण सरकार गठन पेचिलो बन्दै गएको हो ।

कोशीमा काँग्रेस संसदीय दलका नेता उद्धव थापाको विकल्प खोज्न शेखर समूहको दौडधुप जारी छ । शेखर समूहले सांसद केदार कार्कीलाई मुख्यमन्त्रीमा अघि सारेको छ ।

शेखर समूहले केदार कार्कीलाई अघि सार्ने तयारी गरेपछि प्रधानमन्त्री प्रचण्ड, कोइराला र डा मीनेन्द्र रिजालबीच भएको छलफलमा कार्कीलाई मुख्यमन्त्री बनाउने विषयमा छलफल भएको छ ।

स्रोतका अनुसार गठबन्धन जोगाउने कस्टमा प्रचण्ड कार्कीलाई मुख्यमन्त्री मान्न तयार देखिन्छन् । तर, प्रचण्डले मात्रै मानेर कार्की मुख्यमन्त्री हुने स्थिति भने छैन । काँग्रेसको आन्तरिक शक्ति सङ्घर्षको चेपुवामा कार्की परेको बुझिएको छ । कोइरालाको यो निर्णयमा शेखर समूहकै महामन्त्री गगन थापा बाधक बनेको चर्चा छ ।

कांग्रेस स्रोतका अनुसार सभापति शेरबहादुर देउवा, महामन्त्रीद्धय विश्वप्रकाश शर्मा र गगन थापा तथा नेताहरू कृष्ण प्रसाद सिटौला शेखरविरुद्ध एक ठाउँमा उभिएका छन् ।

देउवामाथि कृष्ण सिटौलाको दबाब छ । शेखर पक्षकै महामन्त्री गगन थापाले उद्धव थापाको विकल्प खोज्न नचाहेपछि संस्थापन पक्ष थप बलियो भएको छ ।

उद्धव थापा सिटौला पक्षका हुन् । उनको विकल्पमा देउवा पक्षकै उम्मेदवार खडा गर्न पनि पदाधिकारीहरु सहमत देखिएका छैनन् ।

महामन्त्री थापा यसपटक माओवादीलाई मुख्यमन्त्रीको पद सुम्पन चाहन्छन् । यता काँग्रेस नेता कृष्णप्रसाद सिटौलाको दबावका कारण सभापति देउवा कार्कीलाई मुख्यमन्त्री बनाउन तयार छैनन् ।

कोइराला र देउवाको भेटमा देउवाले कांग्रेसका महामन्त्रीहरू पनि केदारलाई मुख्यमन्त्री मान्न तयार नभएको बताएका थिए ।

स्रोतका अनुसार महामन्त्रीहरू आलोपालोको नाममा पहिले माओवादीलाई मुख्यमन्त्री दिन तयार छन् ।

कोशीमा सरकार गठनका लागि प्रदेश प्रमुखले असोज २६ गतेसम्मको समय दिएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *