एमाले सुदूरपश्चिमको अध्यक्षमा जैसी निर्विरोध

काठमाडौँ । नेकपा एमाले सुदूरपश्चिम प्रदेशको अध्यक्षमा कृष्णप्रसाद जैशी निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन प्रक्रिया लम्ब्याएर गरिएको सर्वसम्मतिको प्रयासपछि उनी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

अन्य पदाधिकारीहरु पनि सर्वसम्मत भएका छन् । अध्यक्ष पदमा मनोनयन दर्ता गराएका निवर्तमान उपाध्यक्ष कमलप्रसाद तिमिल्सिना, वचनबहादुर सिंह र भरत साउदले उम्मेदवारी फिर्ता लिएपछि जैसी निर्विरोध निर्वाचित भए । निवर्तमान प्रदेश सचिवालय सदस्य रहेका जैसी तत्कालीन अछाम जिल्ला विकास समितिका सभापति हुन् ।

उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही सर्वसम्मत भए । हरिसिंह साउद, बलदेव रेग्मी, रणबहादुर महरा, हजारीसिंह साउद र गजेन्द्र बहादुर शाहीले उम्मेदवारी फिर्ता लिएपछि शाही सर्वसम्मत चुनिएका हुन् । सचिवमा भने कैलालीका रणबहादुर चन्द सर्वसम्मत चयन भएका भए । सचिवका प्रत्याशी राजेश खाती, जीवनबहादुर बम र रतनबहादुर रेग्मीले उम्मेदवारी फिर्ता लिएपछि चन्द पनि सर्वसम्मत भएका हुा् ।

उपसचिव (खुल्ला)मा कञ्चनपुरका नरबहादुर विक र उपसचिव (महिला)मा कैलालीकी भागरथी विष्ट चयन भए । उपसचिव (खुल्ला)मा रामदत्त जोशी, अशोककुमार चन्द, सुरेन्द्रबहादुर पाल, हरदेव जोशी र पल्लभराज भट्टले उम्मेदवारी दर्ता गराए पनि पछि फिर्ता लिएका थिए । उपसचिव (महिला)मा कन्दकला राना र अर्चना गहतराजले उम्मेदवारी फिर्ता लिएका हुन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनपछि निर्वाचन प्रक्रिया लम्ब्याएर मङ्गलवारदेखि नेताहरूले सर्वसम्मतिको प्रयास गरेका थिए । विभिन्न पदमा आकांक्षा राखेका उम्मेदवारहरूलाई अन्यत्र व्यवस्थापन गर्ने आश्वासनसहित उम्मेदवारी फिर्ता गराइएको बताइन्छ । अन्तिम समयमा नेता भीम रावल निकट मानिएका अध्यक्ष पदका उम्मेदवार भरत साउदले उपसचिवमा आफू निकट नरबहादुर विकका नाममा सहमति खोजेका थिए । नेताहरूले विकका नाममा सहमति गरेपछि सबै पदाधिकारी सर्वसम्मत चयन हुने अवस्था आएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *