रास्वपा बाहेकका दलहरूमा राणा शासन कायम छ : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राजनीतिक दलहरूमा अझैपनि राणा शासन कायम रहेको बताएका छन् ।
बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी र गैरआवासीय नेपाली सङ्घले संयुक्त रूपमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी बाहेकका दलहरूमा राणा शासन कायम रहेको बताएका हुन् ।
उनले अझै पनि दलहरूले आफ्नो मान्छेलाई भर्ती गर्ने गरेको बताएका हुन् । उनले राणा शासनमा जस्तै चाकडी र चाप्लुसीको आधारमा मानिसहरू छानिने परम्परा कायम रहेको बताए । उनले काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग चिनजान भएपछि चिट्ठा पर्ने गरेको टिप्पणी गरे ।
उनले आफ्नो पार्टीमा राणा शासनको अन्त्य भएको भन्दै आफूलाई चिनेर केही नहुने बताए । त्यस्तै सभापति लामिछानेले इजरायलस्थित नेपाली दूतावासले गैर आवासीय नेपालीहरूले जति पनि काम गर्न नसकेको बताए ।
उनले भने ‘हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेका छौँ । समावेशी लोकतन्त्रभित्र आइपुगेका छौँ । तर रास्वपा बाहेकका दलहरूमा अझैपनि राणा शासन कायम रह्यो । जसले गर्दाखेरि मुलुकले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गर्दाखेरि पनि आफ्ना मान्छेहरूले भर्ती पाउने, चाकडी र चाप्लुसीको आधारमा मानिसहरू छानिने परम्परा कायमै रह्यो । हिजो राणा शासनमा पनि त हुक्के, बैठके, चाकडी गर्ने, तेल लगाउने मान्छेहरूलाई तिमीलाई यति जग्गा बिर्ता, तिमीलाई यहाँको सम्पत्ति, तिमीलाई यो भनेर दिइन्थ्यो । के आज राजनीतिक दलहरूमा त्यही चिज कायम भएको होइन त ? के शेरबहादुर देउवाजीलाई चिनेपछि काँग्रेसमा चिट्ठा लाग्दैन र ? ओलीजीलाई चिनेपछि एमालेमा चिट्ठा पर्दैन र ? प्रचण्डजीको नजिक हुन पाइयो भने त्यहाँ चिट्ठा लाग्दैन र ? तर रवि लामिछानेलाई चिनेर चाहिँ केही पनि हुँदैन । विधि बनाइदिएका छौँ हामीले । त्यो राणा शासनलाई पार्टीको डकुमेण्टमा अन्त्य गरेका छौँ हामीले । चुनावमा उम्मेदवार हुनको लागि मलाई चिनेर केही हुँदैन । बरु घाटा हुन्छ । प्राइमरीबाट चुनिएर आउनुस् कसैलाई चिन्नै पर्दैन । इजरायलमा जति सक्रियतापूर्वक गैर आवासीय नेपाली साथीहरू खट्नु भएको छ । त्यो ढंगमा सरकारले पहुँच पुर्याएको छैन । सरकारसँग स्रोत छ, साधन छ, बजेट छ, कर्मचारीहरू छन् । अफिस छ । तर एउटा अभियन्ताले सिङ्गो दूतावासले गर्नसक्ने भन्दाबढी काम गरिरहेको छ ।’
सभापति लामिछानेले गैर आवासीय नेपाली सङ्घको निर्वाचनमा आफ्नो पार्टीको तर्फबाट कसैलाई समर्थन नहुने स्पष्ट पारे । पार्टीका नेताहरू कुनै उम्मेदवारको पक्षमा लागेको पाइएमा कारबाही हुने उनले बताए ।
उनले भने ‘कुनैपनि उम्मेदवारको पक्षमा पार्टीका कुनैपनि साथीहरूले लुकेर गर्नुभयो तर त्यो खुल्न आयो, गलत तरिकाले गर्नुभयो, कसैलाई पक्षपात गर्नुभयो भने, हाम्रो पार्टीसँग सम्बद्ध कोही हुनुहुन्छ भने हामी उहाँहरूलाई कारबाही गर्छौ । हामी चाहन्छौँ, नेतृत्वको विकास तपाईँहरू आफैँले गर्न सक्नुहोस् ।’
सभापति लामिछानेले विदेशमा भएका नेपालीहरूको मताधिकार सुनिश्चित गर्न सरकार उदासीन देखिएको बताए । उनले सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीहरूको मताधिकार सुनिश्चित गर्न आदेश दिएको एक दशक बित्दा समेत कार्यान्वयन हुन नसकेको बताए ।
उनले विदेशमा रहेका नेपालीको मताधिकारका लागि आफूहरू जोडतोडका साथ लाग्ने बताए ।
उनले भने ‘विदेशमा भएमा नेपालीहरूको मताधिकार सुनिश्चित हुनुपर्छ । सरकार उदासीन भएको लगभग देखिएको छ । ०८४ को चुनाव सम्ममा त सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीहरूको मताधिकार सुनिश्चित गर्नु भनेको एक दशक पूरा हुन्छ । अदालतको आदेश एक दशकसम्म नमान्ने भन्नेकुरा हुनै सक्दैन । कानुन नबनाइदिएका कारणले गर्दा विदेशमा रहेका नेपालीहरू मताधिकारबाट वञ्चित हुनुपरेको छ । यसलाई जोडतोडका साथ अगाडी बढाउनका लागि हामीलाई यहाँहरूको साथ चाहिन्छ ।’
सभापति लामिछानेले गैर आवासीय नेपालीहरूले नेपालमा सहज रूपमा लगानी गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले लगानीका लागि गर्नुपर्ने झन्झटिलो प्रक्रियाको अन्त्य गरिनुपर्ने बताए । त्यस्तै लगानीको मुनाफा सहजै देश बाहिर लान पनि पाउनुपर्ने उनको भनाई छ ।